‘टिस्युकल्चर बेर्नाले’ केरा उत्पादनमा वृद्धि

‘टिस्युकल्चर बेर्नाले’ केरा उत्पादनमा वृद्धि
सुन्नुहोस्

टीकापुर : नेपालमै केरा उत्पादनको हबका रूपमा विकसित हुँदै आएको कैलालीका किसानले टिस्युकल्चर प्रविधिबाट उत्पादित केराको बेर्ना लगाउन थालेपछि केरा उत्पादनमा वृद्धि भएको छ। अत्याधुनिक ल्याबमा झन्डै एक वर्षसम्म हुर्किएको रोग प्रतिरोधी क्षमता बढी भएका टिस्युकल्चर केराका बेर्ना लगाउन थालेपछि उत्पादनमा उल्लेख्य वृद्धि भएको हो। 

केराको सकर (बोटको जराबाट निकालिने बेर्ना) बेर्नाबाट लगाएको बोटभन्दा टिस्युकल्चर बेर्नाको बोटबाट उत्पादन बढी हुन थालेपछि पछिल्लो समय किसानहरू टिस्युकल्चर बेर्नातर्फ आकर्षित भएका हुन्। विगत पाँच वर्षदेखि साढे चार बिघा जमिनमा केराखेती गर्दै आएका टीकापुर– ५ नुक्लीपुरका किसान हेमराज घर्तीमगरले टिस्युकल्चर बिरुवाबाट केराको उत्पादन वृद्धि भएपछि थप तीन बिघामा केराखेती विस्तार गरेका छन्। 

‘सुरुमा सकर बिरुवा नै रोपेको हुँ, एउटै समयमा उत्पादन नहुने, रोग किरा धेरै लाग्ने र उत्पादनसमेत कम हुन थालेपछि सकर हटाएर टिस्युकल्चर बेर्ना लगाइरहेको छु,’ किसान घर्तीमगरले भने, ‘सकरबाट एउटा घारीमा १२ देखि १५ दर्जनसम्म केरा फल्थ्यो भने टिस्युकल्चर बेर्नाबाट २२ देखि २८ दर्जनसम्म फल्ने रहेछ।’ 

नुक्लीपुरकै अर्का किसान दीपकबहादुर रावलले सकर बिरुवाबाट उत्पादन समान नहुने भएपछि किसानले सकर बेर्ना हटाएर टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्ना लगाउँदै आएको बताए। ‘सकर बोटहरू समान रूपले हुर्किंदैनन्, बेर्ना रोप्दा नै कुनै सानो कुनै ठूलो हुन्छ, कोही चाँडो फल्छ, कोही ढिलो फल्छ,’ किसान रावलले भने, ‘थोरै क्षेत्रफलमा केराखेती गरिरहेका किसानले पनि आफ्नै बारीबाट एकै समयमा गाडी भरेर बजार पठाउन सक्छौं, सबै बोटमा एउटै समयमा केरा फल्ने हुनाले टिस्युकल्चर नै लगाइरहेका छौं।’

सकरबाट लगाइएका केराको फल फरकफरक समयमा लाग्छ। बिक्री गर्न समेत समस्या हुन्छ। स्वस्थ केराको बिरुवाबाट निकालिएको कोष (सेल) लाई टिस्युकल्चर ल्याबमा झन्डै ९ महिना हुर्काएपछि थप तीन महिना नर्सरीमा हुर्काइन्छ। यसरी हुर्काइएका बिरुवामा रोग प्रतिरोधी क्षमता बढी हुन्छ। बिरुवाको उत्पादन क्षमतासमेत बढी हुँदा यहाँका किसान टिस्युकल्चर बिरुवातर्फ आकर्षित भइरहेका छन्। 

केरा उत्पादनमा किसानका लागि महŒवपूर्ण मानिने टिस्युकल्चर बेर्ना टीकापुरमै उपलब्ध भइरहेको छ। २०७४ सालदेखि टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले शुभम एग्रो फर्ममार्फत हाइटेक नर्सरीमा टिस्युकल्चर केराको बेर्ना उत्पादन गर्दै आइरहेका छन्। हाल धामीको नर्सरीमा एएफआरसी नवलपरासीबाट ल्याइएको जिनाइन जातको टिस्युकल्चर बेर्ना हुर्किरहेका छन्। 

किसान धामीले टिस्युकल्चर बेर्ना ४० रुपैयाँ प्रतिगोटाका दरले किसानको बारीसम्मै पुर्‍याएर बिक्री गर्दै आइरहेका छन्। ‘अत्याधुनिक ल्याबमा उपचारसँगै हुर्किएको रोग प्रतिरोधी क्षमता बढी भएको र सबै रोगहरूको परीक्षण भएको बिरुवा हुनाले एकैनासको उत्पादन हुन्छ, साइज एउटै हुन्छ, फल पोटिलो हुने, रोगको संक्रमण कम लाग्ने हुन्छ,’ धामीले भने, ‘सकर बिरुवाको तुलनामा टिस्युकल्चर बेर्नाको केराबाट उत्पादन स्वतः वृद्धि हुने नै भयो।’

बिउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि धामीले पहिलो पटक २०७४ सालमा भारतको गुजरात राज्यस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर बेर्ना ल्याएर नर्सरीमा हुर्काएका थिए। त्यसयता उनले हरेक वर्ष कैलाली, कञ्चनपुर, दाङ, बाँके, सुर्खेत र केही पहाडी जिल्लामा समेत बेर्ना बिक्री गर्दै आइरहेका छन्। 

के हो टिस्युकल्चर बेर्ना ?

एउटा स्वस्थ बिरुवाको निकै सानो कोष (सेल) बाट हजारौं बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधिबाट उत्पादित बेर्ना नै टिस्युकल्चर बेर्ना हो। स्वस्थ बिरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इन्जिनियर (प्राविधिक) ले बिरुवा उत्पादन गर्दछन्। यो प्रविधिमा एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलको प्रयोग गरी हुर्काएर साना कोषहरूमा विभाजन गरेर हजारौं बिरुवा उत्पादन गर्न सकिन्छ।

बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्दछ। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै ३ महिनासम्म बिरुवा हुर्काइन्छ। यसरी हुर्किएको बिरुवालाई जुन ठाउँको माटोका लागि तयार गरिने हो, त्यही ठाउँमा हाइटेक ग्रिन हाउस नर्सरीमा राखिन्छ।

तीन महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि वैज्ञानिक डा. रामबहादुर खड्काका अनुसार एउटा टिस्युकल्चर केराको बिरुवा रोप्नका लागि तयार हुन झन्डै एक वर्ष समय लाग्छ।गत वर्ष कैलालीमा पहिलो पटक देखा परेको पानामा टीआर फोर नामक घातक रोगबाट बच्न टिस्युकल्चर बेर्ना लगाउन नार्कले किसानलाई आग्रह गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.