ओरालो आयातको अन्तर्य
नेपालले विदेशबाट सामान किन्दा सबैभन्दा धेरै अंकको खर्च पेट्रोलियम पदार्थमा गरेको हुन्छ । सय रुपैयाँका किन्दा २१ रुपैयाँ १८ पैसा पेट्रोलियम पदार्थमा हुन्छ । २०८०÷०८१ को १० महिनासम्ममा १३ खर्बको आयात गर्दा पेट्रोलियम पदार्थमा मात्रै २ खर्ब ७६ अर्ब रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै जे चिज किनिन्छ, त्यो नेपालमा पनि छ भनेर खोजी भइरहेको चाहिँ छ । तर अन्वेषणमै सीमित छ । अझ पेट्रोलियमको विकल्प पनि नेपालमा जति अन्त कमै देशमा छ । त्यसको भरपूर उपयोगमा कमजोर छ मुलुक । विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउने हो भने पेट्रोलियम पदार्थको आयात निकै हदसम्म कम गर्न सकिन्छ । तर त्यसो भइरहेको छैन ।
आर्थिक वर्ष २०८०÷०८१ को वैशाखसम्म व्यापारघाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ छ, जुन आफैंमा अघिल्लो समयको भन्दा कम हो । आयातको अनुपातका कमी आएको छ । यो भनेको देशमै उत्पादन वृद्धि भएर चाहिँ होइन । नेपालीको क्रयशक्ति कमजोर हुनुका कारणले आयातीत वस्तुमा कमी आएको हो ।
बाहिरबाट सामान किन्ने त परै स्वदेशकै उत्पादनको पनि बजार घटेको छ । बैंकहरूको ऋण प्रवाहमा कमी आएको छ । कारण पनि उही हो कि उद्योग व्यवसाय चलायमान छैन अनि कसले लिने ऋण ? बैंकमा लगानीयोग्य पुँजी थुप्रो लागेको छ । समग्रमा आर्थिक मन्दीकै कारण आयातमा पनि कमी आएको छ । आयातमा कमी आउनु भनेको भन्सार राजस्वमा पनि गिरावट हुनु हो । राज्यले पनि आम्दानी गुमाउनु हो ।
आर्थिक मन्दीको मुद्दालाई सम्बोधन गर्ने ठोक कदम सरकारले चाल्न सकेको छैन । खुद्रे केही प्रयास गरेको भए पनि ठूलो झट्काकै आवश्यकता अहिलेको मन्दीबाट उत्रनका लागि आवश्यक छ । अर्थतन्त्र झनै कमजोर हुँदै जानुमा सरकारमा भइरहेको अस्थिरता र त्यसले नागरिकमा उब्जाएको निराशा एउटा प्रमुख कारण हो । यस कुरालाई मनन् गर्ने दिशामा पनि सत्ताधारीहरू देखिन्नन् । अर्थतन्त्र उकास्न सबैभन्दा पहिला नागरिकको आत्मबल नै उकास्न जरुरी छ । अनि सरकारले आफ्नो विकास खर्च वृद्धि गर्नेदेखि निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्छ ।