परिवर्तन हामीले नै गर्नुपर्छ
महिलालाई व्यावसायिक बनाउन अर्घाखाँचीको मालारानी गाउँपालिकाले पञ्चेबाजा बजाउन सिकाएको छ।
गाउँघरमा पञ्चेबाजा केही समुदायका पुरुष व्यक्तिहरूले मात्र बजाउनुपर्छ भन्ने परम्परागत मान्यता छ। यसलाई तोड्दै मालारानी गाउँपालिकाले महिलालाई मेड्पा कार्यक्रमबाट पञ्चेबाजाको तालिम दिएको हो। त्यसपछि यहाँका महिलाले पञ्चेबाजा बजाउन सुरु गरेका हुन्। वडा नम्बर ६ र ८ मा रहेको बस्तीका महिलालाई लक्षित गरेर ३ समूहमा २० दिने पञ्चेबाजा तालिम सञ्चालन गरिएको थियो। तालिम लिएपछि पञ्चेबाजामा महिला व्यावसायिक बन्न थालेका हुन्। हाम्रो समाजमा महिलाले बाजा बजाउन हँुदैन, हलो जोत्न हुँदैन, घर छाउन हुँदैन भन्ने सोच छ। त्यो परम्परागत सोचलाई अन्त्य गर्दै समाज परिवर्तन गर्न यो कार्य सुरु गरेका हौं।
मानव जीवन परिवर्तनशिल छ। परिवर्तन हाम्रो समाजबाट हुनुपर्छ। परिवर्तन हामी आफैंले गर्नुपर्छ। यही मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। पञ्चेबाजा बजाउने तालिममा महिला दिदीबहिनीहरूले सक्रिय सहभागिता जनाउनुभयो। उहाँहरू सफल पनि हुनुभएको छ। गाउँपालिकाले गर्ने औपचारिक कार्यक्रममा महिला दिदीबहिनीलाई पञ्चेबाजा बजाउन लगाउने कार्यसमेत सुरु भएको छ। नौमती बाजालाई आफ्नो पेसाका रूपमा अगाडि बढाउन उनीहरू जुटेका छन्। गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत २० दिनको तालिम दिएपछि उनीहरूले नौमती बाजा बजाउने सीप हासिल गरेका छन्। यसले उनीहरूको सशक्तीकरणमा पनि सहयोग पुर्याएको छ।
पालिकाले महिलाका लागि सिलाइ कटाइ तालिम, मकैको खोस्टाबाट टोपी तथा अन्य सामग्री बनाउने तालिम सञ्चालन गर्यो। तर, अन्य कार्यक्रमभन्दा पञ्चेबाजा बजाउने तालिमले समाजमा परिवर्तन ल्याउन सहयोग पुर्याएको छ।
(पोख्रेल मालारानी गाउँपालिका अर्घाखाँचीकी उपाध्यक्ष हुन्।)