नाढी तालको अवस्था बेहाल

नाढी तालको अवस्था बेहाल
सुन्नुहोस्

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढी तालको अवस्था अहिले दयनीय छ। तालको पानी सुक्दा एक वर्षदेखि चौपायाको चरण क्षेत्र बनेको छ। 

५२ विगाहामा फैलिएको प्राकृतिक तालको संरक्षण नहुँदा चरण क्षेत्रमा परिणत भएको स्थानीयबासीको भनाइ छ। माछा पालन तथा पर्यटनका लागि ख्याति कमाएका ताल सुकेर जाँदा गाउँपालिकालाई बर्सेनि एक करोडभन्दा बढीको क्षति पुगेको छ। २०७२ चैत २४ गते चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रमअन्तर्गत नेपाली सेनाले सौन्दर्यकरण गरेको तालको संरक्षण हुन नसक्दा ताल कुरुप समेत बनेको छ।

राज्यको लगानीमा सौन्दर्यकरण गरिएको तालको हाल अहिले बेहाल बनेको स्थानीय पुनीत पासवानले बताएका छन्। ७ वर्ष पहिले नेपाली सेनाले सौन्दर्यकरण गरेको थियो। पर्यटकका लागि राम्रो गन्तव्य थियो। सुरुको वर्षहरूमा ठूलो मात्रामा पर्यटकहरू तालमा घुम्न आउँथे। स्थानीयवासीले रोजगारी समेत पाएका थिए। 

स्थानीय व्यापार पनि फस्टाएको थियो। अहिले यो ताल चरण क्षेत्रमा परिणत भएको छ। तालमा रहेको डुङ्गाहरू समेत बिग्रेर गएको छ। पिकनिकका लागि बनाइएका संरचनाहरू पनि भत्केर गएको छ। संरक्षणको पर्खाइमा रहेको ताल प्रति कसैको चासो छैन। बर्सेनि करोडौंको आम्दानी दिने तालको अवस्था हेर्दा दुःख लाग्ने गरेको पासवानले बताए। स्थानीयबासीका लागि पनि बिहान बेलुकाको घुम्ने तथा समय व्यतीत गर्ने ठाउँ थियो। 

ताल सुकेर जाँदा स्थानीय उद्योग व्यापारहरू चौपट भएको आरती होटलकी सञ्चालक सुरुज देवी जयसवालले बताएकी छिन्। सुरुका वर्षहरूमा व्यापार राम्रो हुन्थ्यो। अहिले घर भाडा तिर्न समेत समस्या छ। पहिले दिनमा ५/६ हजारको व्यापार हुन्थ्यो। अचेल एक हजारको पनि व्यापार हुँदैन। पसल लिएर अर्को स्थानमा जाउँ भन्दा पनि उपाय छैन। ताल फेरी राम्रो हुन्छ की भनेर आशा लगाएर बसेकी छु। ऋण लिएर पसल सञ्चालन गरेको थिएँ। साहुको पैसा समेत तिर्न समस्या भएको छ। ताल कुरुप बनेपछि धेरै व्यापारीहरू यहाँबाट पलायन भएको छ। 

गाउँसभा समयमा नहुँदा तालको सौन्दर्यकरण र ठेक्का लाग्न नसकेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताएका छन्। ताल ठेक्का लाग्न नसक्दा बर्सेनि एक करोड भन्दा बढीको क्षति हुन पुगेको महतोले बताएका छन्। स्थानीय राजनीतिक दलको खिचातानीका कारण पनि तालको कामलाई अगाडि बढाउन नसकेको अध्यक्ष महतोको दुखेसो छ। विगतका स्थानीय तहले ५ वर्षका लागि ५ करोड २० लाखमा ताल ठेक्का लगाएका थिए। 

ठेक्काको म्याद २०८० वैशाख ६ गते समाप्त भयो। म्याद समाप्त हुन लागेको ५/६ महिना अगाडिदेखि नै ठेकेदारले ताल सुकाएर माछा मार्न लागेको थियो। पालिकाले पानी ननिकालि माछा मार्नका लागि भन्दा ठेकेदार अदालतमा मुद्दा हाले। अदालतले ठेक्का अवधिमा केही नगर्न पालिकालाई भने पछि उनीहरू पानी सुकाएर माछा मार्ने काम गरेको थियो। तालमा बचेको केही पानी पनि स्थानीय किसानहरू सिँचाइका लागि खेतमा लगाएपछि ताल सुक्न गएको महतोले बताए। स्थानीय किसानलाई तालको पानी ननिकाल्न भनेपछि उनीहरू झगडा गर्न समेत आएका थिए। 

तालको सौन्दर्यका लागि राष्ट्रिय योजना आयोगबाट बजेट आएको छ। डीपीआरको काम भइसकेको छ। चाँडै नै टेन्डर गरी सौन्दर्यकरणको काम अगाडि बढाइने महतोको दाबी छ। ताल सुकेपछि डिल बनाउने र अतिक्रमण भएको तालको जमिन निकाल्ने काम भएको महतोले बताएका छन्। तालमा पानी भर्नका लागि अधबारा खोलालाई बाँधेर पानी ल्याउने काम गर्ने योजना रहेको अध्यक्ष महतोले बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.