पोखरामा खरबुजा खेती प्रदर्शनी

पोखरामा खरबुजा खेती प्रदर्शनी
खरबुजा खाने प्रतिस्पर्धाका सहभागी। तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : किसानलाई खरबुजा खेतीमा आकर्षण गराउन पोखरामा शुक्रबार खरबुजा खेती प्रदर्शनी भएको छ। पोखरा— १३ आर्वा ढाँडबेसीस्थित मणिदीप कृषि फर्ममा खरबुजा खेती प्रदर्शनी भएको हो। 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको आयोजनामा भएको खरबुजा खेती प्रदर्शनीमा पोखराका विभिन्न वडाका खरबुजा खेती गर्ने किसान र स्थानीयको बाक्लो उपस्थिति थियो। 

पोखरामा खरबुजा खेतीको सम्भावनाको अध्ययनका क्रममा यहाँका विभिन्न खोलाका किनारका बलौटे माटो भएका क्षेत्रमा खेती हुने देखिएपछि किसानलाई तालिम दिएर उत्पादनमा जोडिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। 

एक रोपनीदेखि तीन रोपनीसम्मको क्षेत्रफललाई पुग्ने गरी सरस्वती जातको खरबुजाको बिउ, मल्चिङ प्लास्टिक, भिटामिन, पोषणतत्व र मल महानगरपालिकाले सघाएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए। वडाले सिँचाइका लागि कुलो बनाउन सघाएको किसानले बताए। 

माघ, फागुनमा बिउ उपलब्ध गराएको र फागुनदेखि चैतसम्म बिउ जमाएर बिरुवा उत्पादन गरी किसानले रोपिसकेको थिए। पोखरा महानगरपालिकाको १३, १७, २१, २३, २५, २८, ३२ र ३३ वडामा यस वर्षदेखि खरबुजा लगाएर उत्पादन गरिएको छ। यस वर्ष पोखरामा अहिलेसम्मकै सबैभन्दा धेरै १८ टन खरबुजा उत्पादन भएको बताइएको छ । २० रोपनी बढी क्षेत्रफलमा यस वर्ष खरबुजा लगाइएको हो। गत वर्ष ७ रोपनी क्षेत्रफलमा मात्र यहाँका किसानले खरबुजा खेती गरेका थिए। 

खरबुजा खेती राम्रो भएकोले अर्को वर्ष अझै धेरै क्षेत्रफलमा खेती गरिने पोखरा— १३ आर्वा ढाँडबेसीस्थित मणिदीप कृषि फर्मका किसान रोशनराज बरालले बताए। तीनदेखि चार महिनाको समयमा मेहनत ग¥यो भने उत्पादन भएर नगद आम्दानी गर्न सकिने भएकोले खरबुजा खेती निकै उपयुक्त रहेको उनले सुनाए। कृषि विषयमा बीएस्सी गरेका बरालले खेती योग्य जमिन राज्यले खरिद गरेर धेरै क्षेत्रफलमा कृषि उत्पादन गर्ने गरी किसानलाई उपलब्ध गराउन सके कृषिमा देश आत्मनिर्भर हुने मात्र होइन कृषि पर्यटनका रूपमा पनि विकास गर्न सकिने बताए। 

तीन रोपनीमा ४ सय ३० बोट लगाएको र ३५ सय किलोदेखि ४ हजार किलोसम्म खरबुजा उत्पादन हुने उनले विश्वास गरे। पहिले मकै लगाउने यस क्षेत्रमा पहिलोपटक खरबुजा लगाउँदा राम्रो उत्पादन भएको उनले सुनाए। यसका लागि करिब एक लाख लागत लागेको उनले सुनाए । खरबुजा बिक्री गर्दा महानगरपालिकाले प्रतिकिलो ६० रुपैयाँ दर तोकेको छ। यही मूल्यमा आफूले बारीबाटै खरबुजा बिक्री गरेको उनले बताए। उपभोक्ता बारीमै आएर रोजेर खरबुजा खरिद गर्ने वातावरण महानगरपालिकाले बनाएकोले उत्पादन गर्न थप हौसला मिलेको पनि उनले सुनाए। 

किसानको बारीमा गएर खरबुजा खेती हेर्ने मात्र होइन रोजीरोजी ताजा उत्पादन टिपेर किन्न पाउँदा निकै खुसी लागेको स्थानीय उपभोक्ता कृष्णा अधिकारीले बताइन्। प्रदर्शनीमा खरबुजा खाने प्रतिस्पर्धा पनि गरिएको थियो। प्रदर्शनीका किसानले कृषि उत्पादनसँग सम्बन्धित गीत र भजनसमेत गाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.