गुल्मीमा १४० जनाले गरे रक्तदान
गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ।
रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोग र गाउँपालिकाको कार्यालय शान्तिपुरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा एक सय ४० जनाले रक्तदान गरेका छन्।
एकैदिन एक सय ४० युनिट रगत संकलन भएको गाउँपालिकाले जनाएको छ। नागरिकको उत्साह र यति ठूलो संख्यामा रक्तदान गर्ने गुल्मीका १२ स्थानीय तह मध्येको पहिलो चन्द्रकोट गाउँपालिका रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए।
आफूले हालसम्म ८२ पटक रक्तदान गरेको बताउँदै चौहानले अहिले रक्तदान गर्नेको संख्या दैनिक बढ्दै गएको बताए। स्वस्थ मानिसले १ सय २० दिनमा रक्तदान गर्न सकिने उनले बताए।
लुम्बिनी प्रदेशका नागरिकलाई आवश्यक परेको समयमा नि:शुल्क रगत उपलब्ध गराउने उद्देश्यले केही समयअघि रक्तदानको लागि चन्द्रकोट गाउँपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही बीच सम्झौता भएको थियो।