हुम्लामा ५० हेक्टर जमिनमा लिफ्ट सिंचाइ निर्माण हुँदै
हुम्लाको तुम्चमा ३ लाख ५० हजार रुपैया लागतमा लिफ्ट सिँचाइ योजना बन्ने भएको छ। कृषकको आयस्तर वृद्वि गर्नका लागि ५० हेक्टर जमिनमा लिफ्ट सिँचाइ निर्माण हुन थालेको हो। सिँचाइको समस्या भएकोले लिफ्ट सिँचाइ निर्माण हुन थालेपछि कृषकको मुहारमा खुसी छाएको छ। खेतबारीमा सिँचाइ नहुँदा कृषकलाई समस्या हुने गरेको सर्केगाड गाउँपालिका-१ तुम्चका रतन रावतले जानकारी दिए।
लिफ्ट सिँचाइ निर्माण भएसँगै कृषकलाई राहत हुने रावतले बताए। सिँचाइ नहुँदा यहाँका कृषकहरू आकाशे पानीको भर पर्दै आएको रावतको भनाइ छ। लिफ्ट सिँचाइ निर्माणको काम अन्तिम चरणमा पुगेको खानेपानी सिँचाइ तथा उर्जा विकास हुम्लाले जनाएको छ।
बहुवर्षीय योजना लिफ्ट सिँचाइको ७० प्रतिशत काम सकिएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख न्वाङ लामाले जानकारी दिए। उनले भने, '०७९ असारमा जि युपी प्राइभेट लिमिटेडसँग सम्झौता भएको हो। अन्तिम चरणमा पुगेको छ कार्यालय प्रमुख लामाले बताए। कर्णालीबाट पानी तानेर ३ लाख ५० हजारको रिर्जभ ट्यांकीमा पानी सञ्चित हुने छ।'