महसुल नतिर्ने सामुदायिक विद्यालयको बिजुली काटियो, गर्मीमा विद्यार्थीको बिचल्ली
रौतहट : विद्युत महसुल नतिर्ने रौतहटका ३० वटा सामुदायिक विद्यालयको लाइन काटिएको छ। विद्युत महसुल नतिर्ने रौतहटको उत्तरी भेगका ३० वटा बढी सामुदायिक विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्ररपुर शाखाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाअन्तर्गत चन्द्रपुर, गुजारा र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूको लाइन काटिएको हो। विद्यालयका नाममा जडान गरिएका मिटरहरूमा विद्युत महसुल धेरै उठेको र पटक–पटक महशुल तिर्नका लागि ताकेता गर्दा नतिरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाले सामुदायिक विद्यालयहरूको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पंखा चलाउन नपाउँदा गर्मीमा पीडित बनेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरूले विद्युत महसुल तिर्ने तर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो। विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरू बिना पंखा अध्ययन गर्न बाध्य भएका छन्।
४० डिग्री गर्मीको बेला विद्यालयमा बिजुलीको लाइन काटिएपछि आफूहरू गर्मीमा कक्षाकोठामा बसेर पढ्न बाध्य भएको कृष्ण मावि बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरी दुखेसो पोखे। व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको प्रमुख यादवको भनाइ छ।
हरेक महिनामा तिर्नुपर्ने विद्युत महसुल वर्षौंसम्म ती सामुदायिक विद्यालयहरूले नतिरेका कारण विद्युत प्राधिकरणले बाध्य भएर बिजुलीको लाइन काट्नु परेको जनाएको छ।