हिल्सा नाकाबाट ४ हजार क्विन्टल खाद्यान्न भित्रियो
हुम्ला : काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने ४ हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुगेको छ।
केहीअघि काठमाडौंबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखालाई ढुवानी हुने ४ हजार क्विन्टल खाद्यान्न चीन हुँदै ढुवानी भएको छ।
नाम्खा गाउँपालिका-५ को हिल्सा नाका आइपुगेको हो। काठमाडौं रसुवा केरुङ नाका हुँदै चीन भएर हुम्लाको हिल्सा नाकाबाट ४ हजार क्विन्टल खाद्यान्न गाडीबाट ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले जनाएको छ।
केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुगाएको र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका शाखाका प्रमुख कृष्णप्रसाद अधिकारी जानकारी दिए ।
जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्न मध्ये १ हजार क्विन्टल नाम्खा गाउँपालिका याल्वाङमा बिक्री वितरण हुने अरू खाद्यान्न सिमकोट शाखाका लागि ढुवानी गर्न प्रमुख अधिकारीले बताए।
दूतावासबाट कागजात मिलाएर खाद्यान्न ढुवानी कार्य ढिलाई भएको अधिकारीको भनाइ छ। नाम्खा गाउँपालिका याल्वाङमा ४८ रुपैयाँमा र सिमकोटमा प्रतिकेजी ६२ रुपैयाँ बिक्री वितरण हुनेछ।