सार्वजनिक जग्गा अतिक्रमण गर्ने विरुद्ध प्रशासनमा उजुरी
जोमसोम : मुस्ताङमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने विरुद्ध प्रशासनमा उजुरी पर्न थालेको छ। हालसम्म १० वटा उजुरी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनका अनुसार जग्गा अतिक्रमण गर्ने माथि प्रारम्भिक छानबिन भइरहेको उनले बताए।
प्रजिअ पन्तले मुस्ताङका ३ स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा निर्माण गरेकाहरूलाई संरचना निर्माण गर्न प्रशासन कार्यालयले रोक लगाइसकेको जानकारी दिए।
प्रजिअ पन्तका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ, वारागुङ मुक्तिक्षेत्र-४ एक्लेभट्टी र वारागुङ मुक्तिक्षेत्र-३ मा सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा निर्माण गरिरहेकाहरूलाई संरचना नबनाउन जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको हो। प्रशासन कार्यालयले सरकारी जग्गा अतिक्रमण विरुद्ध उजुरी दिने र उजुरी पर्ने व्यक्तिहरूको नाम गोप्य राखेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बिहीबार आयोजना गरेको जिल्लास्थित राजनीतिक दलहरूसँगको छलफल तथा अन्तरक्रियामा उनले उक्त कुराको जानकारी दिएका हुन्।
मुस्ताङको कुल क्षेत्रफल ३५७३ वर्ग किलोमिटर मध्ये करिब १ प्रतिशत मात्र जग्गा मात्र नापी भएको देखिन्छ। तर, जग्गा नापनक्सा भएको उक्त तथ्यांकमा देखिए पनि ठूलो क्षेत्रफलमा मुस्ताङमा संख्यामा जग्गा अतिक्रमण गरी घर/टहरा र सार्वजनिक जग्गाहरूमा स्याउ खेती गरिएको छ।
मुस्ताङमा २०३२ सालमा जग्गा नापी हुँदा स्थानीय स्तरमा विभिन्न कारणले यहाँका स्थानीय तथा समुदायको जग्गा नाप नक्सा गर्न छुटेका थिए। मुस्ताङमा सार्वजनिक जग्गाहरूको पुनः नापी नहुँदा समस्या उत्पन्न भएको हो ।