पाल्पाका स्थानीय तहको बजेट ६ अर्ब ९८ करोड
तानसेन : पाल्पाका १० वटै स्थानीय तहले आगामी वर्षको लागि नीति कार्यक्रम प्रस्तुत गरी ६ अर्ब ९७ करोड ८५ लाख १९ हजारबराबरको अनुमानित बजेट ल्याएका छन्। पाल्पाका सबै स्थानीय तहले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन् भने दोस्रो प्राथमिकतामा कृषिमा बजेट विनियोजन गरेका छन्।
पाल्पाका १० पालिकाहरूमध्ये तानसेन नगरपालिकाको मात्र चालुभन्दा पुँजीगत बजेट बढी रहेको छ।
तानसेन नगरपालिकाले चालुमा ४७ प्रतिशत र पुँजीगतमा ५३ प्रतिशत रकम आगामी वर्षको लागि विनियोजन गरेको छ भने अन्य ९ पालिकाहरूको चालु खर्च नै बजेटमा अत्यधिक रहेको छ।
तानसेनकी उपप्रमुख प्रतीक्षा गाहा सिन्जालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजारबराबरको आयव्यय प्रस्तुत गरेकी छन्। जसमा चालु खर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजारको बजेट नगरसभामा पेस गरेकी छन्। पाल्पा ढाका करुवाको प्रवद्र्धन, बजारीकरण तथा रोजगारी, पर्यटन विकास, शिक्षासँगै कृषि तथा पशु उत्पादन र पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको बजेट ल्याएको उपप्रमुख सिन्जालीले बताइन्।
रामपुर नगरपालिकाले ७३ करोड ८५ लाख ४ हजारबराबरको बजेट सार्वजनिक गरेको छ। १५औं नगरसभामा उपप्रमुख बालकुमारी थापाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेकी छन्।
बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन। एक वडा एक उत्पादन, व्यावसायिक कृषि उत्पादन, खानेपानी, रैथानेवालीको प्रवद्र्धनसँगै वडा कार्यालयसम्म सडक कालोपत्रे योजनालाई प्राथमिकता दिएको अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन्।
तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले आगामी वर्षका लागि ५२ करोड १९ हजार रुपैयाँबराबरको बजेट पेस गरेका छन्। उपाध्यक्ष थापाले चालुतर्फ ३६ करोड ८६ लाख ६४ हजार र पुँजीगततर्फ १५ करोड १३ लाख ५५ हजारबराबरको बजेट पेस गरेका हुन्। शिक्षा, कृषि, पर्यटन तथा पूर्वाधार विकासमा बजेटमा प्राथमिकता दिएको अध्यक्ष प्रेम श्रेष्ठले बताए।
माथागढी गाउँपालिकामा आगामी वर्षका लागि ५८ करोड ३५ लाख ९६ हजारबराबरको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष विष्णुदेवी लुङ्चेले चालुतर्फ ३२ करोड ६७ लाख ९६ हजार र पुँजीगततर्फ २५ करोड ९८ लाख रुपैयाँको बजेट पेस गरेकी हुन्।
निस्दी गाउँपालिकाले ५९ करोड ९१ लाख ४२ हजारको बजेट पेस गरेको छ। उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले चालुतर्फ ३५ करोड ५९ लाख ५० हजार र पुँजीगततर्फ २४ करोड ३१ लाख ९२ हजार पेस गरेकी हुन्।
पालिकाको सबै वडा जोड्ने केम खाम्चामार्ग स्तरोन्नति, पालिकाको प्रमुख प्रशासकीय भवन र १५ शय्याको अस्पताल पूरा गर्न, अदुवा तथा बेसार उत्पादन बढाउन, स्थानीय रैथाने उत्पादन बढाउने गरी बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए।
रम्भा गाउँपालिकाले ४५ करोड ७२ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष राधाकुमारी श्रेष्ठले चालुतर्फ २९ करोड ७२ लाख ८ सय र पुँजीगततर्फ १६ करोड ३१ हजार २ सयको बजेट पेस गरेकी हुन।
रैनादेवी गाउँपालिकाले ७३ करोड १७ लाख ९७ हजारको बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष युवराज थापाले चालुतर्फ ५० करोड ४५ लाख ९४ हजार र पुँजीगततर्फ २२ करोड ७२ लाख ३ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरे। पालिकाले अन्तरजिल्ला जोड्ने सडकलाई पहिलो प्राथमिकता, पालिकालाई लसुन आत्मनिर्भरजस्ता कार्यक्रमहरूलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष रुक्मांगत भट्टराईले बताए।
पूर्वखोला गाउँपालिकाले ४५ करोड ४७ लाख ८७ हजार बजेट पेस गरेको छ। उपाध्यक्ष भागीरथी भट्टराईले चालुतर्फ ३० करोड ८५ लाख ४ हजार र पुँजीगततर्फ १५ करोड २२ लाख ८३ हजार पेस गरेकी छन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिक दिएर बजेट पेस गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए।
रिब्दीकोट गाउँपालिकाले ५५ करोड ५९ लाख २० हजारको बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष कान्ता अधिकारीले चालुतर्फ ३४ करोड ९९ लाख २० हजार र पुँजीगततर्फ २० करोड ६० लाख रुपैयाँको बजेट पेस गरेकी हुन्। गाउँपालिकाले कार्कीले कृषि, भौतिक पूर्वाधार, पर्यटन, शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बजेट ल्याएको जनाएको छ।