विश्लेषण

'राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस-एमाले मिल्नुको विकल्प छैन'

'राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस-एमाले मिल्नुको विकल्प छैन'

काठमाडौं : देशमा राजनीतिक अस्थिरता निम्तिरहेका बेला संविधानविद् तथा राजनीतिक विश्लेषकहरूले कांग्रेस-एमाले मिल्नुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रमा सर्वदलीय सरकारभन्दा जनताको म्यान्डेडअनुसार सरकार बन्नुपर्ने उनीहरूको सुझाव छ। 

कांग्रेस-एमाले नेतृत्वको सरकारले मात्रै मुलुकलाई सही दिशा दिनसक्ने उनीहरूको बुझाइ छ। संविधान संशोधन गर्न, निर्वाचन प्रणाली सुधार गर्न, बाह्य नीति एक हुन, भ्रष्टाचार कम गर्न कांग्रेस-एमाले मिल्नुपर्ने उनीहरूको जिकिर छ। 

राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले लोकतन्त्र अझ बलियो बनाउन कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउँछन्। ठूला दुई दल मिले साना दलहरू आफैं मिल्न आउने उनको भनाइ छ। अप्ठ्यारो परिस्थितिमा ठूला दल मिल्नुपर्ने उनको सुझाव छ। ‘अहिलेको अवस्थामा ठूला शक्ति मिल्नुपर्छ, एकजुट हुनुपर्छ। ठूला शक्ति मिल्दा सानालाई पनि एक ठाउँमा ल्याउँछ,’ उनले भने। 

  
विश्लेषक आचार्य ठूला पार्टी मिलेर सरकार बनाउने हो भने साना पार्टी फुटाउने काम पनि बन्द हुने बताउँछन्। राष्ट्रिय सबालमा प्रमुख दलहरू मिलेर जानुपर्ने उनको भनाइ छ। ‘मिलेर गयो धेरै बाटाहरू निस्किछन्। बाह्य नीति, राष्ट्रिय नीति ट्रयाकमा ल्याउन सकिन्छ,’ उनी थप्छन्। उनले निर्वाचनमा म्यान्डेड पाएको बलियो सरकार हुनुपर्ने बताउँदै बलियो प्रतिपक्ष पनि लोकतन्त्रमा आवश्यक पर्ने बताए। सहमतीय सरकारका काम विगतमा उत्ताउला भएको स्मरण गराउँदै त्योभन्दा कांग्रेस-एमालेको बलियो सरकार नै आवश्यकता रहेको उनले बताए। 

उनले संविधान अभ्यासको समीक्षा गर्ने बेलासमेत आएको बताउँछन्। ‘संविधान जारी भएको ९ वर्ष भयो। यो अवधिमा के-के गरियो?,’ उनको प्रश्न छ, ‘दुइटा निर्वाचन भए। संसद, संसदजस्तो भएन।’ निर्वाचन प्रणाली के गर्ने भन्ने विषयमा निर्णय गर्न पनि ठूला दल मिल्नुको विकल्प नरहेको उनको सुझाव छ। 

त्यस्तै संविधानविज्ञ डा. विपिन अधिकारीले निर्वाचनको म्यान्डेडअनुसार सरकार गठन नहुँदा मुलुक निरन्तर खस्किरहेको टिप्पणी गरेका छन्। ‘सरकार बनाउने म्यान्डेड कांग्रेस र एमालेलाई दिइएको छ तर, जसले चुनावको म्यान्डेड पाएको छ, उसले सरकार गठन गरेको छैन। जसलाई म्यान्डेड नै छैन उसले सरकारको नेतृत्व गरेको छ। समस्याको मूल जड नै यही हो,' उनले भने। 

कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा संविधान कार्यान्वयनमा बाँकी रहेका एजेन्डा कार्यान्वयन गर्न, सर्वभौमसत्ता बलियो राख्न सक्ने उनको तर्क छ। ‘बलिया पार्टीले सरकार बनाउनुपर्छ। त्यसले संविधान कार्यान्वयनमा बाँकी रहेका एजेन्डा पूरा गर्न सक्छन्। सर्वभौमसत्ता बलियो हुन्छ,' उनले भने, ‘निर्वाचनमा राम्रो गर्न नसकेका पार्टी प्रतिपक्षमा बस्छन्। यो नै उत्तम विकल्प हो।’ 

संविधानविद् डा.  अधिकारी सत्तामा टिक्न टिकाउन जेसुकै सम्झौता गर्ने र विदेशीको बलको प्रयोग गर्ने प्रवृत्ति विकास भएको बताउँछन्। ‘बलियो सरकार नभएकाले सत्तामा टिक्न र टिकाउन ठूलो चुनौती छ। त्यसका लागि जुनसुकै कुरामा सम्झौता गर्ने र विदेशीको बल प्रयोग गर्न प्रवृत्ति देखिएको हो,’ उनले भने। उनले यस्तो सरकारले उत्तरदायी शासन सञ्चालन गर्न नसक्ने बताए। सरकार पद्धतिमा चल्न नपाएकै कारणले मुलुकको अवस्था निरन्तर खस्किँदै गएको उनको विश्लेषण छ। उनले प्रतिपक्ष बिनाको सर्वदलीय सरकार अभ्यास भने असफल भइसकेको बताए।  

त्यस्तै राजनीतिक विश्लेषक डा. लोकराज बराल मिलेर जानु राम्रो भए पनि दलहरूको मनोवृत्तिले यो सम्भावना कमै रहेको बताउँछन्। ‘सबै मिलेर जानु राम्रो हो तर, हाम्रा राजनीतिक दल र तिनका नेतामा मिलिजुली कल्चर नै छैन। लेनदेन, नियुक्ति भागबन्डामा खटपट भइहाल्छ। अनि, एउटा गठबन्धन ४/५ महिना भएपछि खल्बलिन थालिहाल्छ,’ उनी भन्छन्। कांग्रेस र एमाले मिल्ने कुरा बोलीमै सीमित रहेको उनको भनाइ छ। 

उनले लोकतन्त्रका प्रतिपक्ष सशक्त हुनुपर्ने बताए। विश्लेषक बराल अन्य पार्टी खिइँदै जाने हुँदा कांग्रेस र एमाले मिसन ८४ मा एक्लाएक्लै चुनावमा जाने बताउँछन्। ‘अरू दल त खिइँदै जानेजस्तो देखिन्छ। कांग्रेस र एमाले २०८४ एक्लाएक्लै चुनाव लड्छन्,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.