बेनीमा कोसेली घर

बेनीमा कोसेली घर
सुन्नुहोस्

बेनी : बेनी नगरपालिका-८ कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) स्थापना भएको छ। कालीपुल म्याग्दी र मुस्ताङ भित्रने मुख्य नाका हो। 

जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन्। 

कक्षमा म्याग्दीमा उत्पादन हुने सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागो, नाङ्लो, डोका लगायतका परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले बताइन्। 

‘म्याग्दी भित्रने र मुस्ताङ जाने आउने मुख्य नाकामा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भनिन् ‘गाउँका कृषक र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरि बिक्री गर्ने व्यवस्था मिलाएका छौं।’

कोसेली घर रहेको भवनमा गत वैशाख महिनामा पर्यटकहरूलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराउने उद्देश्यले पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ। सूचना केन्द्र र कोसेली घरले पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। 

‘म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि २०७७ देखि बन्द भएको थियो,’ उनले भने ‘३ वर्षपछि गत वैशाखदेखि पुनः सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी र धार्मिक, पर्यटकीय स्थल, कला, संस्कृति सम्बन्धी जानकारी मुलक तस्बिर तथा दृष्य सामग्री राखिएको छ।’ 

म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्विर, त्यसको महत्त्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ। सूचना केन्द्र र कोसेली घर स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले २५ लाख रुपैयाँ बढी बजेट खर्चेर भवन बनाएका थिए। 

कोसेली घरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा पर्यटकको बसाई लम्बाउन, उद्यम व्यवसाय प्रवर्द्धन गर्न कोसेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गरे। कालीपुल बसपार्कलाई व्यवस्थित गरिएको र सडकलाई आक्सफाल्ट प्रविधिको कालोपत्रे गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आह्वान गरेको जानकारी दिए। 
 
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले महिलाहरूलाई सिप सिकाउन र उद्यमशिलताको विकासका लागि आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.