च्यातिएपछि आकाशको छाती
कुन पहाड भएर चढ्ला समागमको प्रेमगीत ?
भर्खर त उठेका हुन्
यो धरतीको आँखामा इन्द्रेणीजस्ता सपनाहरू
शून्यताको भीमकाय स्वरूप।
यो आकाशको टाउकोमा
किन बजारिरहन्छौ उन्मुक्तिको घन ?
फेरि सुम्सुम्याइरहन्छौ
र, लगाइरहन्छौ सान्त्वनाको मलम
च्यातेर आफ्नै प्रतिच्छायाँको ग्राफ
लेखिरहन्छौ आवेगको वर्णमाला
शून्यताको मध्यबिन्दुमा उठाएपछि तिमीले पाउ
शुक्रकीटकै सौन्दर्यमा हाँस्नेछ– एउटा सृष्टि।
ए मनरूपा !
नहेर न त्यसरी क्षोभले ढुंगाको अनुहारमा
नलेखिदेऊ न घृणाको महाकाव्य।
अस्तित्वको पर्दामा लागेको लेउ
खस्दै खस्दै गइरहेछ
उठाएपछि आफ्नो टाउको
चालेपछि खुट्टाहरू के देखिन्छ अगाडि ?
देखिँदैनन् सूर्यको आर्द्रतामा हाँसिरहेका
दूधे ताराहरू
र, देखिँदैन पश्चिमको पहेँलो घाम।
कुन उन्नयनको परिकथा लेखिरहेछौ
आक्रोशका दलिलहरू घोलेर ?
शुक्राणुको सौन्दर्यशास्त्र लेखियोस्,
ओ कोमलीका तिम्रो चौबन्दीको फेरमा नै।
उन्मुक्तिको रटानमा कतै
प्रकृति स्वयं बिरुपाक्ष नभइजाओस्।