मलामी पहाडमा सारंगी–आलाप

समीक्षा

मलामी पहाडमा सारंगी–आलाप

युगिन–त्रासदी आदिउपर औंला ठड्याउँदै पहाडलाई उच्च मानवीय आस्थाको प्रतीकका रूपमा उभ्याएका छन्, कविले।

बिम्बकवि तथा कलाकार, प्राज्ञ रमेश श्रेष्ठको काव्यचेतका बारेमा उनैको पछिल्लो पूर्ववर्ती काव्यको सापेक्षमा नेपाली वाङ्मयका विभिन्न पहाडले भन्नुपर्ने र भन्न मिल्ने प्रायः सबै भनिसकेका छन्। म भने भर्खरै प्रकाशित उनको १६औं कृति मलामी पहाड र सारंगी सापेक्षमा समीक्षार्थ उपस्थित भएको छु।

...मस्तिष्कको गमलामा
अकस्मात्
उम्रियो वर्गीय सोच,
झण्डाहरूले पहिले तरबार किने 
त्यसपछि दरवार, 
सोच्दै कायल भएँ 
हामी मर्दा को जालान् मलामी ? 
(मलामी पहाड, पृ. २४)

जीवनका विभिन्न आयाममा कोमलता पोतेर, रंग र रेखाहरूको कोलाज कहिले क्यानभासमा त कहिले शब्दहरूमा उतार्ने कुशल रंग तथा शब्दशिल्पी बिम्ब कवि श्रेष्ठ कवितात्मक बिम्ब सिर्जनाका असल पारखी हुन्। मलामी पहाड र सारंगी नाम दिएर भर्खरै नेपाली साहित्याकाशमा आएको उनको नवीनतम काव्य कृतिको उक्त कवितांशमा झैं कवि आफ्ना अधिकांश कविताहरूमा पहाडसँग संवादमा भेटिन्छन्। पहाडमै टेकेर आजको समाजमा व्याप्त विकृति, विसंगति, युगिन–त्रासदी, संगतिहीनता आदिका उपर औंला ठड्याउँदै पहाडलाई उच्च मानवीय आस्था, संघर्ष तथा आकांक्षाहरूको प्रतीकका रूपमा सुन्दर ढंगले उभ्याएका छन्, कविले।

पहाड, मात्रै पहाड होइन। मानवीय आस्था हो। हिमाल, हिउँको थुप्रो या चुचुरो मात्रै होइन। हाम्रो परिचय हो। पहिचान हो। चेतना र चैतन्य हो। मधेसदेखि हिमालसम्मै फैलिएका पहाडहरू हाम्रा सांस्कृतिक सम्पदाहरू हुन्। समग्र देशको वक्षस्थल हो पहाड । धैर्यको उचाइ हो। पहाड ममता र जीवनको प्रतिमूर्ति पनि हो। जहाँ जीवन छ, त्यहाँ मृत्यु अवश्यम्भावी छ। कवि श्रेष्ठ जीवनप्रति जति संवेदनशील छन्, लाग्छ उनमा मृत्युचेत पनि त्यत्तिकै सुन्दर छ। जीवनबोध अस्तित्ववादी चेतना हो, आशावादी चेत हो। मृत्युबोध निराशावादी चेतना र विसंगतिवादी चेतनाको उपज हो। यी दुवै खाले चेतना भेटिन्छ– उनका मलामी पहाडहरूमा।
त्यति हुँदाहुँदै पनि कवि आफ्ना स्वप्न मुसार्न छाड्दैनन्, उनलाई बिथोलिएको स्वप्नप्रति पनि उत्तिकै अनुराग छ, आशक्ति छ :
बारम्बार 
बिथोलिएपछि पनि 
मुसारिरहन्छु सपनाहरूलाई 
अनौठो भई बस्छन् हरेक उत्सवहरू 
मानौं, फूलहरू निदाइरहेका छन् 
अर्का बिथोलिएका 
सपनाहरूको खोजीमा। (मलामी पहाड, पृ. १५)

यसरी हेर्दा उनको मलामी पहाड एकैसाथ उभिएको फरकफरक अनुहारहरूको कोलाज हो। जहाँ आशा, निराशा, आक्रोश, कुण्ठा, युगबोध, जीवनबोध, दार्शनिकता, मानवतावादी चिन्तन एकसाथ अभिव्यक्त भएका छन्।

कविको आँखा असुन्दर दृश्य पनि सुन्दर देख्छ। उसको दृष्टि कुनै पनि दृश्यको बाह्य सौन्दर्यसँगै त्यसका आन्तरिक सौन्दर्य अनुभूत गर्छ। त्यसैको रागात्मक चेतले हृदय झंकृत गर्छ। त्यस्तो अभिव्यक्तिमा अलिकति संवेदनात्मक स्वर, अलिकता विद्रोह र अलिकता प्रणयचेत हुन्छ। कताकति रागात्मक, कताकति आत्मपरक त कताकति अनुभूतिजन्य। कविहरू मौनतामा पनि वाचाल हुन्छन्, पहाडहरू जस्तै। र, सुनाइ बस्छन्, पहाडकै गौरवगाथा, पहाडलाई नै–
साह्रै गाह्रो हुन्छ
आमाहरूको गीत लेख्न,
मौन रहेर पनि पहाडहरू
आमाहरूको गीत गाउँदा रहेछन्
इन्द्रेणी रङहरूमा नुहाएर। (मलामी पहाड, पृ. १६)

कवि श्रेष्ठको पहाड प्रेम मनमोहक छ। कवि कतै आफैं जन्माउँछन् पहाडलाई। कतै आफैं पहाड भएर जन्मन्छन्। कहीं स्थिर पहाडलाई पनि चलायमान बनाएर पहाडसँगै यात्रामा निस्कन्छन्। त्यतिले पनि नपुगेर पहाडको मृत्युको हल्ला चलाएर आकाशबाट सबका सब तारा जमिनमा झार्छन्। पहाडमै ईश्वर आरोहण गर्छन् र पहाडसितै कानेखुसी गरी बस्छन्। उनको पहाड प्रेम बहुरूपी छ। समग्रमा पहाडलाई मानवीकरण गर्ने उनको प्रयास सुन्दर छ। कलात्मक छ।

पाठकलाई लाग्नेछ, कविले थुप्रै कुरा भनेका छन् पहाडलाई। हो त, भन्ने नै हो कविले कवितामा, तर फरक शैली, स्वर र मौलिक लयमा। कविता कला पनि हो जसमा बिम्ब, प्रतीक, शैली, प्रस्तुति, भाषा, उक्ति, उपमा आदि अनेकौं प्रान्जल र नवीनतम प्रयोगहरूको सिर्जनात्मक मौलिकता हुन्छ। त्यसैको आडमा कविता थप सुन्दर र शक्तिशाली हुन्छ। कविको लेखकीय वैशिष्ठ्य पनि यही हो।

बिम्बबादी कवि एज्रा पाउन्डले भनेका छन्, ‘वर्षौं लगाएर सयौं कृतिहरूको सिर्जना गर्नुभन्दा यौटा बिम्बको सिर्जना गर्नु धेरै महŒवपूर्ण हुन्छ।’ सम्भवतः यही मार्ग पछ्याउँंदै नूतन बिम्बहरूको खेती गर्न उद्धत छन् कवि श्रेष्ठ। चित्रात्मक भाषा उनको परिचय हो। मलामी पहाड र सारंगीमा भने उनका कविता बिम्बकै कारण सरल, सम्प्रेष्य र थप कलात्मक भएका छन्। त्यति हुँदाहुँदै पनि मलामी पहाड र सारंगीमा मलामी पहाडभन्दा सारंगी बढ्ता कोमल, बढ्ता दार्शनिक र बढ्ता गम्भीर लाग्छ। लाग्छ, तुलना दुःख र असन्तोषको कारण हो। दुई अलगअलग कृति जस्तो पनि ठान्न सक्छ पाठक, यस कृतिलाई्र।

गाउँगाउँमा वीरताको कर्खा तथा वेदनाको गाथा गाउँदै हिँड्ने झलकमानहरू हुन् या गाडीमा विरह र दुःखका गीत सुनाइ हिँड्ने सारंगीहरू नै किन नहुन् सबैसित हृदयको भाषा हुन्छ, धून हुन्छ। त्यसैलाई टिपेर दार्शनिक फ्लेवरमा १७ थान सारंगीको शृंखला सिर्जना गरेका छन् कविले पछिल्लो खण्डमा।
समय ! ए मेरो समय ! 
मभित्रको सारंगी नबोलिकनै
आँखामा मौनता मुछेर 
धेरै बोलिरहन्थ्यो हृदय गीतमा, 
मेरो जन्मघर बाटुलेचौर 
झलकमान हुँ म 
हे बरै... !
माया गरेर सबैले मलाई 
सारंगी भन्छन्। (सारंगी, पृ. ४)

हृदयको सरगम, वेदनाको अभिव्यक्ति, प्रणय र प्रकृतिका सुसेली, जीवनको गीत, सपनाको शब्दचित्र, पर्यावरणीय चेतना, सांस्कृतिक संरक्षण, आस्थाको धून, विद्रोह चेत, परिवर्तनको चाह सबका सब गाउन भ्याएका छन् कविले सारंगीको धुनमा। यस्तो लाग्छ, सारंगीलाई सुखदुःख तथा जिन्दगीकै साथी बनाएका छन्। पहाडलाई स्वाभिमानसँग, पहिचानसँग, क्रान्ति र परिवर्तनको चाहसँगै उभ्याएर सारंगीको दुःखवादी दर्शनले पहाडलाई नै निथ्रुक्क भिजाउनु कविको शक्ति हो, सामथ्र्य हो। 
अभाव पिउँदै विश्राम मागिरहेको घरमा 
दिनलाई साँझले कोपरिरहेको समयसँगै 
घर फर्कियो सारंगी,
भोकाहरूका गीतसँगै रेटिँदा रेटिँदै 
भोक लाग्नै छाडिसक्यो सारंगीलाई,
जूनताराका गीतसँगै साटिँदा साटिँदै 
नींद लाग्नै छाड्यो सारंगीलाई। (सारंगी, पृ. १३)

नपोतिएको रंगहरू (२०५२) देखि यो कृतिसम्म आइपुग्दा कवि रमेश श्रेष्ठका झन्डै डेढ दर्जन कृति प्रकाशित छन्। दर्जन कृतिको सम्पादन गरेका उनका दर्जन जति राष्ट्रिय÷अन्तर्राष्ट्रिय कला प्रदर्शनी भएका छन्। यस कृतिमा झन्डै दुई दर्जन रेखाचित्र भेट्छौं कविका। यस अर्थमा उनी संस्था भएका छन्। एक अलग पहाड भएका छन्। संगीतको मूच्र्छनासित कहिले मौन संवाद त कहिले काव्यात्मक आलाप अलाप्ने सारंगी भएका छन्। उनको आलाप युगौंयुगसम्म जीवन्त रहिरहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.