पाल्पामा अविरल वर्षा र बाढी, २ जनाको मृत्यु
तानसेन : पाल्पामा लगातार ४ दिनदेखि परेको अविरल वर्षाको कारण दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर गोठ पहिरोले पुरिएको छ । माथागढी गाउँपालिका वडा नं ६ का गोठादी महिला चौरकी ६८ वर्षीया रिमा सरा रानाको स्थानीय खोलाले बगाएर मृत्यु भएको हो ।
घर नजिकैको चिरतुङ्गखोलाले बगाउँदा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्घ श्रेष्ठले जानकारी दिए । घरयासी कामले गोठादीको सातपोखरी गएर घर फर्किने क्रममा चिरतुङ्गखोला तर्दा रानालाई बगाएको थियो । रानालाई बगाएरको खबर प्राप्त भएपछि माथा प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्दा रानाको शव ५ सय मिटर तल खोलामा भेटिएको थियो ।
लगातार वर्षाको कारण चिसोले कठ्याङ्ग्रिएर तानसेनमा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं ५ का ४२ वर्षीय शेर बहादुर वि.क.को मृत्यु भएको हो । विक अत्याधिक मदिरा सेवन गरी चिसोमै पल्टिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै झरेको पहिरोले बगनासकाली गाउँपालिका वडा नं ६ मा उषा सुनार र रेशम सुनालको घर पहिरोले पुरेको छ । रामपुर नगरपालिका वडा नं ९ मधुकोटका कमलबहादुर साथीघरेको पहिरोका कारण घरगोठ पुरिएको छ । साथीघरेका गोठमा रहेका बाख्रा पाडा पाडी गरी ४ वटा पशुहरू पुरिएका छन् । पाल्पामा ४ दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाको कारण पाल्पाको माडीफाँट, रानीमहल क्षेत्र र रुरु क्षेत्र डुवानमा परेको छ ।