कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक
काठमाडौं : एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ। २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ।
बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले उक्त योजना ल्याएको हो।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सकिने छ।
यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको वृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आआफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।