मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सर्वेक्षण गरिँदै
जोमसोम : राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने विभिन्न जिल्लाहरूमा दुर्लभ हिउँ चितुवाको संरक्षण कार्य अघि बढाएको छ। समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो हिमाली वासस्थानमा रहने हिमालकी रानी हिउँ चितुवाको पछिल्लो अवस्थाको विस्तृत विवरण संकलन गर्न एनटीएनसी (एक्याप)ले हिउँ चितुवाको सर्वेक्षण कार्यलाई अघि बढाएको हो।
चारवटा स्थानीय तहमा हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवासँग सम्बन्धी विभिन्न क्रियाकलापको अनुसन्धान तथा सर्वेक्षणका लागि एक्यापले अत्याधुनिक क्यामेराहरू राखिसकेको जनाएको छ। एक्याप मुस्ताङका वन रेञ्जर र स्थानीय श्रोत व्यक्तिहरूको सहयोगमा दुर्लभ हिउँ चितुवाको भिडियो र तस्बिर कैद गर्नका लागि मुस्ताङका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए।
हिउँ चितुवाको सर्वेक्षण तथा हिउँ चितुवाको आहारा प्रजातीको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा ट्यापिङ गरिएको हो। कार्यालय प्रमुख रेग्मीका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रको साङ्ता क्षेत्रमा हिउँ चितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा जडान गरिएको हो। यसका अतिरिक्त वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपास, तिरी ताल क्षेत्र र घरपझोङ गाउँपालिकाको यारुझो भ्यूटावर क्षेत्रमा हिउँ चितुवाको सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको एक्याप मुस्ताङले उल्लेख गरेको छ।