‘एमाले अध्यक्ष ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हो’
प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखे,गलत सूचना दिए : एमाले
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गलत सूचना दिएको दाबी गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताएका हुन्।
उनले भने,‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’
भट्टराईले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे। एमाले र कांग्रेस सात दशक अगाडिदेखि राजनीतिक संघर्षको इतिहासबाट आएको बताउँदै भट्टराईले दुई दलको अगुवाईमा ठूला ठूला परिवर्तन आएको उल्लेख गरे । उनले प्रचण्डलाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए।
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार रहेको नबिर्सन आग्रह गरे। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हुनुहुन्थ्यो। एक जना मस्यौदाकार एमालेको तर्फबाट उहाँ हो। शेरबहादुर देउवा पनि थुनामा हुनुहुन्थ्यो १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको होइन र ?’
संविधान निर्माण र राजनीतिमा माओवादीको योगदान भएकाले नै संसदमा माओवादी भएको बताउँदै उनले ठूला ठूला हिंसात्मक आन्दोलन बिलय भएको स्मरण गर्न आग्रह गरे।