कालीकोट कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
कालीकोट : कालीकोट कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जिल्लाका नौवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणापछि जिल्लालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा कार्यालय कालीकोट घोषणा गर्न सफल भएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए। जिल्ला खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले नियमित रूपमा बालबालिकालाई लगाउने खोप कार्यक्रमले बाल मृत्युदर घटाएको बताए।
यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त स्वास्थ्य व्यवस्थापक संकेत विश्वकर्माले हरेक वर्ष माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण गरेर खोज र खोप अभियान सञ्चालन गरी खोप छुटेका बालबालिकालाई खोप लगाउने गरिएको बताए। उनले भने १६ देखि ५९ महिनाका बालबालिकाहरूले १५ महिनाको उमेर भित्र पाउने सबै खोप पाएको सुनिश्चित गरेपछि वडाले प्रमाणीकरण गर्ने गर्छ।
२०७९ असार ३० गते कालीकोटलाई पहिलो पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो भने यो दोस्रो पटक हो।