कोरला नाकामा व्यापारीलाई ‘टाइम कार्ड’
जोमसोम : गत कात्तिक २७ गतेदेखि औपचारिक रूपमा उपल्लो मुस्ताङको दुई गाउँपालिकाका लागि खुल्ला गरिएको (नेचुङ—लिजी) कोरला नाकामा चीन पक्षले टाइम कार्ड लगाएको छ। चीन पक्षले यसको कुनै कारण नखुलाए पनि उपल्लो मुस्ताङका सीमित नागरिकहरू मात्रै कोरलाको सीमापारि किनमेल गर्न जाने भएका कारण चीन पक्षले चीन प्रवेशमा टाइम कार्ड लगाएको हुन सक्ने अनुमान गरिएको छ।
सुरुवाती समयमा बेलुकी साँझ ५ बजेसम्म किनमेलका खुल्ला गरिएको (नेचुङ—लिजी) कोरला नाकामा हिउँदयामको जाडो मौसम सकिएर फागुन महिनादेखि टाइम कार्ड लगाउन सुरु गरेको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले कोरला नाकाको चिनियाँ भूमि लिजीमा मालसामान किनमेल गर्न जाँदा मुस्ताङी नागरिकलाई समय निर्धारण भएको जानकारी दिए। उनका अनुसार कोरला नाकाबाट चीन प्रवेश गर्न नेपाली समयअनुसार ८ बजेबाट १० बजेसम्म समय तोकिएको हो। चीन पक्षले तोकेको समय बिहानको १० बजेपछि कोरला नाकाको ढोका बन्द हुन्छ। बिहान (८—१०) बजेको समयभित्र चीन प्रवेश गरेका उपल्लो मुस्ताङी नागरिकले दिउँसो २ बजेसम्म सीमापारि किनमेल गर्न समय दिने गरेको अध्यक्ष गुरुङको भनाइ छ।
चीन पक्षको कार्यतालिकाअनुसार उपल्लो मुस्ताङले नाकाबाट सीमापारि छिरेपछि करिव (४—६) घण्टा मालसामान किनमेल गर्न पाउँछन्। दिउँसो २ बजे कटेपछि नेपाली पक्षले मालसामान किनमेल गरी चीनको भूमिबाट बाहिरिनुपर्ने हुन्छ।
- कोरला नाकाबाट चीन प्रवेश गर्न नेपाली समयअनुसार बिहान ८ बजेबाट १० बजेसम्म मात्रै पाइने
- कोरला नाका खुल्ला गरिएसँगै उपल्लो मुस्ताङीलाई वैकल्पिक रोजगारीको अवसर
उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लागि खुल्ला गरिएसँगै त्यस क्षेत्रका स्थानीय नागरिकलाई वैकल्पिक रोजगारीको अवसर प्राप्त भएको छ। कोरला नाकाको दशगजा यता नेपालतर्फको खुल्ला पठार भूमिमा उपल्लो मुस्ताङका करिब एक दर्जन नागरिकले त्रिपाल टाँगेर व्यापार व्यवसाय सञ्चालन गरेका छन्। उनीहरू दैनिकजसो चिनियाँ भूमि लिजीबाट मालसामान किनेर कोरला नाकामा बिक्री गर्ने गर्छन्। कोरला नाका अवलोकनका लागि जाने आन्तरिक पर्यटकहरूका लागि चिया÷खाजा र चिनियाँ सामान बिक्री गर्न त्यहाँ लस्करै त्रिपालमुनि बसेर व्यवसाय सञ्चालन गरिएको हो।
लोमान्थाङ—५ का छिरिङ गुरुङ पनि कोरला नाकामा चिनियाँ सामान बिक्री गर्ने र नाका हेर्न आउनेलाई खाजानास्ताको सुविधा प्रदान गर्न फागुनदेखि व्यवसाय सञ्चालन गरेको बताउँछन्। अनुकूल समयमा नेपाली पर्यटकहरूको उल्लेख्य संख्यामा नाका हेर्न आउने गरेकाले व्यापार पनि राम्रै हुने गरेको गुरुङको भनाइ छ। ‘गाउँमा सामान्य खेतीकिसान गर्छु, घरको काम सकिएपछि नाकामै त्रिपालमुनि बसेर व्यापार गर्ने गरेको छु’, गुरुङले भने, ‘सिजनको बेला त १०÷१० हजार दैनिक कमाइ हुन्छ, अहिले त अफ सिजन भएर व्यापार ठप्पै छ।’ उनले बर्खायामको मौसमका कारण बेनी—जोमसोम—कोरला सडक असहज भएकाले पर्यटक आउन नसकेको सुनाए।
कोरला नाकामा खानेपानी र शौचालयको सुविधा छैन। यद्यपि गण्डकी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयबाट विनियोजित ५० लाख बजेटले ६ कोठे प्रिफाइप सुरक्षाकर्मी बस्ने तथा उद्धार केन्द्र भवन निर्माण गरिएको छ। नेपाल—चीन कोरला नाका खुल्ला भएको ८ महिना बितिसक्दा समेत नेपालतर्फ भन्सार, इमिग्रेसन तथा सुरक्षा पोस्टलगायतका भौतिक संरचनाहरू निर्माण हुन सकेका छैनन्। ४ वर्षअघि नै चीनले कोरला नाकामा भन्सार, सुक्खा बन्दरगाह र इमिग्रेसनलगायतका भव्य भौतिक संरचना निर्माण गर्दा नेपालतर्फको दसगजा क्षेत्र रित्तो पठार छ।
चीन पक्षबाट दर्जनौं सुरक्षाकर्मीहरू नाकामा सुरक्षाका लागि खटिँदा नेपाल पक्षको सुरक्षाकर्मी कोरलानाका १६ किमियता दक्षिण छोसेरको नेचुङमा बस्ने गरेका छन्। नेपाली सेनाको एक टुकडी लोमान्थाङको थुर्लुङफाँटमा छ। नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बीओपी र नेपाल प्रहरी भन्सार कार्यालयको जीर्ण भवनमा बसेका छन्।
हालै कोरला नाकाको सुरक्षा तथा भन्सार राजस्व संकलनका लागि एक जना सशस्त्र प्रहरी र एक जना नेपाल प्रहरी गरी दुई जना सुरक्षाकर्मी कोरला नाकाको दशगजा क्षेत्रमा खटिएका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि कोरला नाका खुल्ला गरिए पनि भन्सार कार्यालयका कर्मचारीहरू राजस्व संकलन गर्न बस्ने गरेका छैनन्। नेचुुङमा रहेको भन्सार कार्यालयका एक जना कार्यालय सहयोगीले कोरला नाकामा बसेर भन्सार राजस्व उठाउने गरेको पाइएको छ।
नाका खुले पनि भन्सार आर्थिक गतिविधि चलायमान हुन नसक्दा त्यहाँ कर्मचारीहरू मन लागेर बस्ने नगरेको स्थानीयको भनाइ छ। कोरला नाकाबाट चीनले आफ्नो उत्पादन आयात गर्न दिने गरेपनि नेपाल पक्षको उत्पादनमा नियमन गर्ने गरेको नाकामा बसेका एक व्यवसायीले जानकारी दिए। नेपाल पक्षका व्यापारीहरूलाई एउटै प्रकृतिका सामान एकभन्दा बढी लान नदिने गरेको ती व्यापारीले खुलाए।
नाकामा उपल्लो मुस्ताङीले किराना सामान, खाद्यान्न, कस्मेटिक, कृषि उपकरण, लत्ताकपडा आदि आयात गर्ने गरेका छन्। नेपालीले स्थानीय
कृषि उत्पादनलगायतका सामान निर्यात गर्ने गर्छन्।