गुरु खोज्ने कि योग्य शिष्य बन्ने ?
हामी लोभ, मोह, काम, क्रोध, अहंकार मात्रै होइन, संसार नै त्याग्न सक्छौं। सबै कुरा त्यागेर महाएकान्तमा पुग्यौं भने पनि त्यहाँ गुरुलाई पाउँछौं। अपार प्रेमका खानी गुरुले हामीप्रति गरेको प्रेम अमिट छ। सबैकुरा त्याग गर्ने क्षमता भए पनि गुरुको प्रेमप्रति नतमस्तक हुन्छौं नै। जुन प्रेम अति निश्चल, दिव्य, पवित्र, तृप्तिदायी अनि शान्तिदायी हुन्छ। जन्मदाताले सन्तानलाई गलत मार्गमा हिँडाउँदैनन्। अथाह प्रेम पनि गर्छन् चाहे पीडा सहनु परोस्।
गुरुनिर्देशित ज्ञान शाश्वत हुन्छ। गुरु त्रिकालदर्शी हुन्छन्। त्यहाँ भुलचूकको अवस्था नै रहँदैन। युगयुगान्तरदेखि हामी गुरुसँगै, गुरुमार्गमै हिँडिरहेका थियौं, छौं र हुनेछौं। मातापिताले सन्तान जन्मिएपछि रतिभर मात्रै हाम्रा बारेमा थाहा पाएका हुन्छन्। गुरुले त हाम्रो भूत, वर्तमान अनि भविष्य थाहा पाउँछन्। अनन्त जन्म, कर्म आदि सबैमा मार्ग निर्देशन गरिरहेका हुन्छन्। सत्कर्मको ज्ञान दिइरहेका हुन्छन्। मार्गका बाधाहरू पन्छाइरहेका हुन्छन्। सांसारिक जीवनमा हेर्दा बुवा–आमाले पृथ्वीमा ल्याइदिएको देखिन्छ। तर, गुरुकृपाले नै संसारमा आएका हौं। गुरुप्रदत्त ज्ञानद्वारा निर्देशित भइ माता–पिता चुनेका हौं।
गुरु ज्ञानका अखण्ड ज्योति हुन्। हाम्रा मित्र पनि हुन्, जसको सामिप्यमा पुगेपछि कुनै कुराको अभाव महसुस हुँदैन। बाधा हटाइसकेका हुन्छन्। हामीभित्रको ‘म’लाई मेटाइसकेका हुन्छन्। विद्या, विनय र शिष्टता सिकाइरहेका हुन्छन्। योगशिखोपनिषद्मा भनिएको छ, ‘गुरु नै ब्रम्हा, विष्णु अनि शिव हुन्। तीनैलोकमा गुरुभन्दा ठूलो अर्को कोही छैन।’ गुरुले हामीलाई अस्तित्व दिन्छन्। चेतना बढाउँछन्। आफूभित्रै भएको ज्ञानलाई चिनाइदिन्छन्। जसले बेहोसीबाट होसको यात्रामा लग्नेछ। गुरु जीवनको अन्धकारबाट प्रकाश बनेर उदाउँछन्। सत्मार्गमै हिँडाइरहन्छन्।
शिष्यका लागि गुरुसँगको सम्बन्ध संयोग जस्तो मात्रै लाग्छ। ‘गुरु खोजें’ भन्ने भ्रम शिष्यमा हुन्छ। किनकि उ होशमा हुँदैन। बेहोशीमै गुरुसँगको सम्बन्धलाई उसले संयोगका रूपमा लिन्छ। शिष्यले गुरु खोज्नै सक्दैन। कस्तो मापदण्डले खोज्छ ? जो त्रिकालदर्शी छ, उसको जाँच कसरी गर्नसक्छ ? त्यसैले गुरुलाई शिष्यले खोज्ने कुरा असम्भव छ। सधैंभरि गुरुले नै योग्य शिष्य खोज्छन्। उसलाई अदृश्य रूपमा सत्मार्गमा हिँडाउँछन्। शिष्यलाई योग्य बनाउन अहोरात्र खटिरहेका हुन्छन्। जुन कुरा शिष्यलाई पत्तै हुँदैन। जब गुरुसँग मिलन हुन्छ, तबमात्रै उसले सबैकुरा थाहा पाउँछ।
गुरुका सम्बन्धमा भने संयोग हुँदैन। उनले होशपूर्ण चुनाव गरेका हुन्छन्। शिष्य कहिले लायक बन्ला भनेर जन्मजन्मान्तर कुरेका हुन्छन्। जब शिष्य शाश्वत ज्ञानका लागि लायक बन्छ, तब गुरु प्रकट हुन्छन्। दिव्य मिलन हुन्छ। उनीहरूको व्यवहार गुरु–शिष्यको जस्तो रहँदैन। फगत हेराहेर मात्रै हुन्छ। अनायास आँखाबाट खुसीका आँसु बग्न थाल्छन्। लाग्छ, युगौंदेखि छुट्टिएका प्रेमी–प्रेमिकाको मिलन हुँदैछ। बोल्न शब्द उच्चारण गरिरहनु पर्दैन। दुबै मन–मष्तिस्क एक हुन्छन्। एक–अर्काका भावना मनमनै साटासाट हुन्छन्। गुरुको एक स्पर्शले शरीरमा एक प्रकारको रोमाञ्चित तरंग पैदा हुन्छ। उनले शिष्यको शरीर शुद्धीकरण गरिदिन्छन्। सांसारिक लोभ, काम, मोह, अहंकार, संस्कार, भ्रम आदि हटाइदिन्छन्। शारीरिक रोगहरू पनि सबै सधैंका लागि फालिदिन्छन्। गुरुले एउटा बीउ दिन्छन्, त्यो बीउलाई गुरुको मार्गनिर्देशनमा शिष्यले भूमि भएर उमार्ने, हुर्काउने गर्नुपर्छ।
जसले पूरै ब्रह्माण्ड ढाक्ने क्षमता राख्छ।
हामीले गुरु खोज्नेभन्दा पनि योग्य शिष्य बन्ने प्रयास गर्नुपर्छ। जब योग्यताको सिँढी चढ्न थाल्छौं, तब गुरुको नजरमा अघिल्लो पंक्तिमा पर्न थाल्छौं। गुरुको भन्दा पनि आफूमा शिष्य हुने पात्रता छ कि छैन भनेर जाँच गर्नुपर्छ। गुरुको खोजीमा लाग्नु भनेको असफलता प्राप्त गर्नु हो। यो ब्रम्हाण्डमा कसैले पनि खोजेर गुरु भेट्न सक्दैन। गुरुले नै शिष्यको खोजी गर्छन्।