जब चिनियाँ गेटमा छिरिन्छ, सुरु हुन्छ नेपालीको निगरानी
हुम्ला : सदरमुकाम सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक पार गरी एक दिनमा पुगिन्छ उत्तरी छिमेकी चीनसँगको नाका हिल्सा। मुख्य व्यापारिक केन्द्र पनि हो। स्थानीय प्रशासनले सीमा पास दिएपछि हुम्लीवासी ३० किलोमिटरसम्मको चिनियाँ बजार आउजाउ गर्ने पाउँछन्। यो सीमा पास लिएर हुम्लाबाहेकका बासिन्दाको हकमा छैन सीमाबाट ३० किलोमिटर दुरी टाढा चीनको ताक्लाकोट बजार छ।
यही ताक्लाकोट बजार नै हुम्लीवासीहरूको मुख्य व्यापार र व्यवसाय गर्ने मात्रै नभई दैनिक मजदुरी गरी आफूलाई चाहिने दैनिक उपभोग्य वस्तु लिन चीनको ताक्लाकोट बजारसँग निर्भर छन्। हिल्सा नाकाको चिनियाँ गेट प्रवेश गर्नबित्तिकै नेपालीहरूको मनोबल नै परिवर्तन हुने गरेको नाम्खा गाउँपालिका–४ याङगार गाउँका पुर्वू तामाङले बताए। नेपाली भूमिमा हँुदा शान्त मनोबल भए पनि चिनियाँ गेटभित्र छिरे पनि उनीहरूको निगरानीमा बस्नुपर्छ मनोवल नै परिवर्तन हुन्छ तामाङले बताए।
मन लागे चीनले नाका खोल्छ मन नलागे सीमा गेट बन्द हुन्छ गाउँमा उत्पादन तीन महिनासम्म नपुग्ने भएपछि खाद्यान्न ल्याउन चीनको ताक्लाकोट पुग्न बाध्य भएको नाम्खा उँपालिका–५ तेन्जिङ पाल्जोर लामाको गुनासो उस्तै छ। उनले घरमा आवश्यक पर्ने मैदा उवा, तेल ल्याउन ताक्लकोट पुग्नुपर्छ अन्नपूर्णसँग भने।
दैनिक ५० जना आवतजावत
हुम्लाको सदरमुकाम सिमकोटदेखि हिल्सानाकासम्म गाडी चल्न थालेपछि चीनसँगको निर्भरता अझै बढेको छ। केही नागरिक ताक्लाकोटमा होटल पसल जीविकोपार्जन गर्छन् भने केही नागरिकहरू श्रम गरी ताक्लाकोट बस्ने गरेका छन्।
हुम्लाको हिल्सा नाकाबाट दैनिक ५०/६० जना नेपाली दैनिक आवतजावत गर्दै आएको हिल्सा प्रहरीचौकीले जानकारी दिएको छ। गत वैशाख पहिला सातादेखि हिल्सा नाका सञ्चालन भएपछि दैनिक नेपालीहरू चीनको ताक्लाकोट आउजाउ गर्न गरेको हिल्सा प्रहरीचौकीको भनाइ छ। दैनिक सामान ल्याउन र केही मजदुरीका लागि चीनको ताक्लाकोट जान हिल्सानाकाबाट दैनिक ५०/६० जना आउजाउ गर्दै आएको प्रहरीले जनाएको छ।
ताक्लाकोटमा नेपाली बजार छुट्टै
हुम्ला जिल्लाका विभिन्न स्थानबाट चीनको ताक्लाकोटमा रोजगारी गर्न नेपालीहरूलाई चीन सरकारले बजार छुट्टै व्यवस्था गरेको छ। झन्डै दुई सय नेपालीले होटल पसल व्यवसाय गर्दै आएको कैलाश व्यापारी संघका अध्यक्ष नाङमाछिरिङ लामाले जानकारी दिए। होटल पसल गरी व्यवसाय गर्न नेपालीको संख्या २ सयको हाराहारीमा रहेको अध्यक्ष लामाले भने।
५७ सयले लिए सीमा पास
गत वैशाख महिनादेखि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले ५ हजार ७ सय ८० जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ। दैनिक जिल्ला प्रशासन कार्यालयबाट सीमा पासका लागि ५ देखि ८ जनासम्म लिने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। अहिलेसम्म सीमा पास लिनेहरू ३ हजार महिला र २७ सय ८० पुरुष रहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ।
नाकामा चिनियाँहरूको मनपरी
पाँच वर्षयता सीमाको परिस्थिति भने मनपरी देखिएको छ। सीमा सञ्चालनमा कुनै निती नियम छैनन्। स्थानीय व्यवसायीका अनुसार कुन बेला नाका बन्द गर्ने, कुन बेला खुला गर्ने, कुन सामान बढी पठाउने, कुन कम पढाउने, वस्तुको कोटा कति तोक्नेजस्ता काम चिनियाँ पक्षको तजबिजीमा चल्ने गरेको छ। जसले हुम्लाको जनजीवनलाई असहजतातिर डो¥याउँदै छ।
गत असोज महिना ६ देखि १३ सम्म चीनको भ्रमण गर्न चीन पुगेका प्रधानमन्त्री प्रचण्डको भ्रमण मात्रै सीमित रहेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रचण्डपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारी र व्यापारी समुदायका प्रतिनिधिहरू रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग हाङ्झाउमा भेटवार्ता गर्ने कार्यक्रम पनि भयो तर हुम्लाको उत्तरी हिल्सानाका सहज गर्न कुनै पनि पहल कदमी नभएको स्थानीयहरूले गुनासो गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्ड भम्रणको क्रममा मानसरोवर कैलाश दर्शन गर्न पुगेपछि सीमावासीहरूका समस्याको समाधान नभएको स्थानीयवासीहरूको दुखेसो रहेको छ।
खाद्यान्न लुकाएर ल्याउँछन्
चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै भित्रिने मैदा पिठो नेपालीहरूले लुकाएर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो रहेको छ। धेरै सामान ल्याउन दिँदैन दुई पिस बनाएर ल्याउनुपर्छ नाम्खा गाउँपालिका–५ का निमा तामाङले बताए। नाम्खामा उत्पादन कम हुन्छ हिउँदमा खाने मैदा ल्याउन ताक्लाकोट पुग्नुपर्छ दुई बोरा मात्रै ल्याउन पाइन्छ त्यही लुकाइलुकाई सीमा पास गर्नुपर्छ तामाङले भने। चीनको भरमा दैनिक उपभोग्य वस्तुको भर पर्छौं त्यही पनि सहज छैन उनले बताए।
गाडी भाडामै सिन्डिकेट
चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दुरी रहेको हिल्सा नाकासम्म सामान एउटा गाडीमा मान्छे अर्का गाडीमा सवार गर्न बाध्य छन्। दुई पिस सामान ढुवानी गरेबापत झन्डै ८ हजार नेपाली रुपैयाँ तिर्नपुर्छ भने यात्रुहरूले छुट्टै बसको भाडा ८ सय रुपैयाँ तिर्न बाध्य भएको नाम्खा गाउँपालिका–४ याङगारका पुर्वु तामाङले बताए। ताक्लाकोटबाट सामान एउटा गाडी पैसा छट्टै तिर्नुपर्छ र आफू बसमा आउनुपर्छ दोहोरो पैसा तिर्न बाध्य छांै तामाङको भनाइ छ। चीनको लासाबाट हुम्ला ल्याउने विकास निर्माण सामानहरू हिल्सासम्म पुग्न झनझट हुने गरेको छ। एउटा ठूलो गाडीको सामानलाई ताक्लाकोट पुगेपछि १४ वटा गाडी बनाएर पैसा लुट्ने गरेको सिमकोट गाउँपालिका–४ का छिरिङ लामाले बताए।
लासाबाट कम्पनीको नियमअनुसार ढुवानी गरिएको विकासी सामान सिमेन्ट सरिया ताक्लाकोटमा झारेर १४ गाडीको सामान बनाएर आफूहरूलाई घाटा पार्न गरेको लामाको भनाइ छ। लासाबाट ल्याएको सामान गाडी भाडा मात्रै १४ गाडी बनाउँदा भाडामा मात्रै २ लाख ९२ हजार ७ सय आफूलाई घाटा भएको लामाले आक्रोश पोखे।
प्रतिव्यक्ति २ मात्रै सामान ल्याउन पाउने
चीनको ताक्लाकोट बजारदेखि हिल्सा नाकासम्म धेरै सामान ल्याउन नपाइएने भएको छ। प्रतिव्यक्ति दुई बोरा मात्रै सामान ल्याउन दिने गरेको पाइएको छ। एक जना व्यक्तिले दुई पिस बोरामा मात्रै सामान ल्याउन दिने गरेको नाम्खा गाउँपालिका–५ तेन्जिङ पाल्जोर लामाले बताए। दुई बोराभित्र मैदा ल्याएपछि अन्य लुगाकपडा ल्याए पनि दुई बोरा मात्रै चिनियाँ पक्षले ल्याउन दिने गरेको लामाले बताए। ‘धेरै सामान ल्याउनु परेमा मान्छे खोजेर ज्याला तिरेर ल्याउछु’ उनले भने।
एक जना व्यक्ति लाई ३ हजार ६ सय रुपैयाँ दिनको ज्याला दिएर सामान पास गर्न बाध्य भएको बताए। नेपालको छिमेकी देश भएकाले नेपाल–चीन सम्बन्धमा समृद्धिको बाटो दुई देशबीचको नाकाको पनि हो। अहिले तातोपानी र केरुङ नाकाबाट आवतजावत सहज छ तर हुम्लाको हिल्सानाका त्यति सहज देखिँदैन।
२०७२ सालको भूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरूपमा बन्द भयो। त्यसको केहीपछि मात्र सीमित रूपमा सञ्चालन भएको नाका २०७६ फागुनमा विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो।
हुम्लाका २ नाका अझै खुलेनन्
हुम्लाको उत्तरी हिल्सा नाका खुले पनि हुम्लाको चंखेली गाउँपालिका–५ स्थित रहेको टाँके नाका र सिमकोट गाउँपालिका १ स्थित रहेको च्वाखोला नाका ६ वर्षदेखि खुलेको छैन। चीनसँग जोडिएको हुम्लाको टाँके नाका र च्वाखोला नाका नखुलेपछि स्थानीय बासीहरूलाई दैनिक उपभोग्य वस्तु आयतमा समस्या भएको चंखेली गाउँपालिका–५ का भियाले तामाङले जानकारी दिए।
२०७६ सालको कोरोना महामारीदेखि टाँके नाका बन्द भएपछि चीनबाट आउने लुगाकपडा, दैनिक उपभोग्य वस्तु ठप्प भएको तामाङले बताए। ६ वर्षबितिसक्दा पनि हुम्लाको टाँकेनाका र च्वाखोला नाका अहिलेसम्म ठप्प देखिएको छ।