साउदीमा ४२औ बिपीको स्मृति दिवस मनाइयो
साउदी : नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस साउदीमा पनि मनाइएको छ। आइतबार रियाद शहरस्थित सगरमाथा होटलमा नेपाली जनसम्पर्क समिति साउदी सपरिवारले बिपीको स्मरणमा स्मृति दिवस मनाएको हो।
कार्यक्रममा उपस्थिति पदाधिकारीहरूले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका बिपीलाई भुल्न नहुने र उनको विचारलाई अनुसरण र आत्मासाथ गदै उनको मार्गनिर्देशन सबै कांग्रेसीले पालना गर्नुपर्ने बताए।
बिपीले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखेको र प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यको माध्यमबाट नेपाली वाङ्मयलाई समेत शिखरमा पुर्याउन योगदान दिएको बताए।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। साथै २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ मत प्राप्त गरेपछि उनी देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत बनेका थिए। २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उनलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि उनी ८ वर्ष जेल बसेका थिए। उनी क्यान्सरबाट पीडित थिए। उनको २०३९ साउन ६ गते निधन भएको थियो।