चियामा सम्भावना खोज्दै युवा

चियामा सम्भावना खोज्दै युवा
सुन्नुहोस्

भोजपुर : हावापानीका हिसाबले चियाखेतीका लागि पूर्वीपहाडी भेग उत्तम मानिन्छ। ब्रान्डिङका आधारमा अन्तर्राष्ट्रियस्तरसम्म चियाको बजारमूल्य पनि उत्ति नै राम्रो छ। हावापानी र तापक्रमका हिसाबले चियाखेतीका लागि भोजपुर पनि प्रशस्त सम्भावना बोकेको एउटा पहाडी भेग हो। त्यही चियाखेतीमा सम्भावना देखेर व्यावसायिक रूपमा अहोरात्र खटिरहेका उदाहरणीय युवा हुन्, टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णका रन्जित गिरी। 

आफ्नै ८० रोपनी क्षेत्रमा लगाएको उत्पादित चिया अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्यले गिरी व्यावसायिक चियाखेतीमा लागेका हुन्। उनको अहिले दैनिकी चिया बगान हेरचाह र चियाको प्रशोधनमा बित्ने गरेको छ। हातको सहायताले चियाको प्रशोधन गर्दै आएका गिरीले २०७६ सालबाट गरस चिया उद्योग सञ्चालन गरिरहेका छन्। उनको यो उद्योग भोजपुर जिल्लाकै एकमात्र र पहिलो चिया उद्योग पनि हो। 

करिब २ करोड ५० लाख लगानीमा व्यावसाय थालेका गिरीले अहिले उत्पादित चिया स्थानीय बजार र बाह्य बजारसम्म पुर्‍याउँदै आएका छन्। उनको उद्योगबाट उत्पादित अर्गानिक चिया भएकाले ठूला सहरसँगै विदेशसम्म पुग्न थालेको छ। 

‘भोजपुरमा चियाको सम्भावना धेरै राम्रो देखेको छु, भविष्य खोज्नलाई विदेश जान पर्दैन, यसमै आम्दानीको प्रशस्त सम्भावना छ’ उनले सुनाए। गिरीले आफ्ना बाबु सहरमान गिरीले थालेको चिया खेतीलाई निरन्तरता दिँदै उद्योग सञ्चालनमा ल्याएका हुन्। उनले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको छ। चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी लिन सकिने उनी सुनाउँछन्।

उत्पादित अर्गानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी १ हजार आठ सय, कालो चिया प्रतिकेजी १ हजार दुई सय र सिल्भर चिया प्रतिकेजी ३० हजारमा बिक्री गर्दै आएको बताए। चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहन स्वरूप १७ लाख ५० हजार अनुदान पनि पाएका थिए। उनको चिया उद्योगमा अहिले पाँच जनाले रोजगारी पाइरहेका छन्।

बगानमा उत्पादित चिया एक महिनामा चारपटकसम्म टिप्न सकिने गिरीले बताए। चियाको नर्सरीसमेत आफैं गर्ने गरेका छन्। गिरीले चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्र नै करिब ९० लाखको लगानीमा ‘टेम्के फन पार्क तथा रिसोर्ट’ पनि खोलेका छन्।

‘चियाखेतीसँगै बगान घुम्न आउने पर्यटकका लागि रिसोर्ट पनि खोलेको छु, चियाखेतीसँगै पर्यटन प्रबद्र्धन गर्ने सोचले रिसोर्ट पनि चलाएको छु’ उनले भने। रञ्जित सन् २००६ मा अमेरिकाको बेस क्याम्प सुरक्षा गार्डका रूपमा काम गर्न इराक पुगेका थिए। त्यहाँँ उनले १० वर्ष काम गरेर उनी नेपाल फर्किएर नेपालमै केही गर्ने सोचले चियाखेतीमा लागेको उनी सुनाउँछन्। 

गिरीले सञ्चालन गरेको चियाखेती जिल्लामै उदाहरणीय रहेको टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। व्यावसायी गिरीलाई प्रोत्साहन गर्न वडाको तर्फबाट सडक मर्मतका लागि तीन लाख सहयोग गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.