सौर्य एयरलाइन्सको जहा दुर्घटना

पोस्टमार्टम गर्न ३ दिन लाग्ने

पोस्टमार्टम गर्न ३ दिन लाग्ने
शिक्षण अस्पताल परिसर महाराजगञ्ज पुगेका मृतकका परिवार ।
सुन्नुहोस्

काठमाडौं : शिक्षण अस्पताल महाराजगञ्जले सौर्य जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गर्न ३ दिन समय लाग्ने जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार जहाज दुर्घटना लगत्तै शवहरू पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएका थिए।

अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार शवहरू पोष्टमार्टम गर्न अस्पतालको जनशक्ति तयारी अवस्थामा छ। प्रहरीबाट मुचुल्का र मृतकका आफन्त आउनासाथ पोस्टमार्टम सुरु हुने काफ्लेले बताए। 

दुर्घटनाबाट शवहरू क्षतविक्षत छन्। चिनिने अवस्थामा छैनन्। प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार केही शवहरू जलेको र चिन्न नसकिने अवस्थाका छन्। शवको दाँत तथा डिएनए परीक्षण गरेर आफन्तलाई शव बुझाइने डा. काफ्लेले जानकारी दिए।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनाली भन्छन्, ‘प्रहरीले मुचुल्का र आवश्यक कागजात तयार भएपछि अस्पताल प्रशासनले पोस्टमार्टम सुरु गर्छ। शवहरूको मुचुल्का बनाइरहेका छौं।’  

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उठेको केही सेकेन्डमै दुर्घटना भएको थियो। सौर्य एयरलाइन्सको संकेत नम्बर ९ एन–एएमई विमानमा सवार १९ मध्ये १८ को घटनास्थलमै ज्यान गएको थियो। त्रिभुवन विमानस्थलको छेउमै भएको उक्त दुर्घटना नेपाली हवाई इतिहासमै ठूलो क्षति हो।

सुविधासम्पन्न ठाउँ र देशकै राजधानीमा भएको दुर्घटनामा तत्कालै उद्धार गरिए पनि क्याप्टेनबाहेक अरूलाई बचाउन सकिएन। ११.११ मा दुर्घटनामा परेको जहाजको ११.४० भित्रै आगो नियन्त्रणमा लिइएको थियो। मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन्। 

कन्टेनरबाट पाइलटको उद्धार 

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीका अनुसार दुर्घटनाग्रस्त जहाज विमानस्थलमा रहेको कन्टेनरमा ठोक्किएको थियो। यसरी ठोक्किँदा जहाजको ककपिट कन्टेनरमा अड्किएको थियो।

क्याप्टेन मनिषरत्न शाक्यलाई कन्टेनरमा अड्किएको अवस्थामा ककपिटबाट निकालेर उद्धार गरिएको थियो। विमान पूर्णरूपमा जलेर नष्‍ट भएको छ। दुर्घटनामा घाइते भएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको संयुक्त टोलीले आवश्यक उद्धार कार्य गरेको थियो।

क्याप्टेन खतरामुक्त

घाइते अवस्थामा उद्धार गरिएका जहाजका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अस्पताल प्रशासनको जानकारीअनुसार क्याप्टेन शाक्यको अनुहारमा चोट लागेको छ। मेरुदण्डको हड्डीमा समस्या देखिएको छ। 

अस्पतालमा आफन्तको रुवावासी 

महाराजगन्जस्थित अस्पताल परिसर दुर्घटनामा मृत्यु भएका आफन्तले भरिभराउ छ। शव लिन अस्पताल पुगेका आफन्तहरू अस्पताल परिसरमा भक्कानिएका थिए।null

दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.