मनै लोभ्याउने मुस्ताङको मार्फा

मनै लोभ्याउने मुस्ताङको मार्फा

जोमसोम : 

‘क्या राम्रो स्याउ बारी, 
मार्फा गावैमा,

हेर्दा राम्रो मार्फा गाउँ, 
खाँदा मीठो मार्फा स्याउ’

 स्वर्गीय बसन्ती लालचनको शब्द रचना एवं गायिका ज्योति गुरुङको समधुर स्वरले लिपिबद्ध मार्फा गाउँको समग्र परिचय झल्काउने गीतको पंक्तिले मुस्ताङको मार्फा गाउँको वास्तविक तथ्य उजागर गर्छ। मुस्ताङको मार्फालाई आम नेपालीमाझ परिचित गराउने यो गीतको योगदान मार्फा गाउँका लागि निकै महत्त्वपूर्ण बन्यो।

मार्फाली स्रष्टा स्वर्गीय लालचनले पोखरामा बसेर आफ्नो पुख्र्यौली थातथलो मार्फाको धार्मिक, कला संस्कृति, सभ्यता, मौलिकतालाई स्याउ खेती र मुक्तिनाथसँग जोड्दै पर्यटन प्रबद्र्धनात्मक शब्दमा उतारेकी थिइन्। सर्वाधिक लोकप्रिय बनेको ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रेकर्डपछि मुस्ताङको मार्फा गाउँको चर्चा एकाएक चुलियो। साँच्चै गीतमा उद्धृत गरिएझंै मार्फा गाउँको पहिचान झल्काउने थुप्रै विशेषताहरू खोतल्नै पर्ने हुन्छ।

मार्फा गाउँप्रति सर्वाधिक चर्चा परिचर्चा भइरहँदा यसको आन्तरिक इतिहासलाई पछ्याउनै पर्ने हुन्छ। शदियौं वर्षपहिले अहिलेको बस्ती मार्फा गाउँको रूपमा थिएन। मार्फा गाउँ भएको स्थान केवल अग्लो पहाडको खोंच र रित्तो भिरालो सतहमात्रै थियो। रित्तो भिरालो सतहको केही तल खुला चौर र बाँझो जमिनहरू उपयोगविहिन थिए। त्यहाँ अहिलेको जस्तो कुनै मानव बस्ती बसिसकेको थिएन।

null सदियौं वर्षपहिले मुस्ताङको मार्फा बस्ती गाउँ जंगल र हिमालको जरामा अवस्थित थियो। मार्फाको पुरानो बस्ती ङेवासाङ, ध्वोङ, थल्चे र ध्यासोङ चार वटा समूहमा विभाजित थियो। त्यतिबेला ती गाउँबाट बेसी आउजाउ गर्ने चारवटा गोरेटा बाटाहरू थिए। मार्फाली समुदायको त्यसबेला गाउँ माथि थियो भने खेतबारी, वनजंगल र पानी घट्ट सबै तल पथ्र्यो। चार समूहमा विभाजित मार्फाली समुहरूले दाजुभाइ मिलेर भोज भत्तेर (झोङ्जी) खाने प्रचलन थियो। यसरी दाजुभाइ खलकको झोङ्जी खाने क्रममा अनुकूलता खोज्दै धवाङ भन्ने स्थानमा मार्फालीहरूको एकीकृत वस्ती निर्माण भयो। धवाङको पुरानो नाम हो तमाङ। तमाङको स्थानीय भाषामा घोडा राख्ने ठाउँ (तबेला) भन्ने गरिन्छ। घोडा खच्चड राख्ने तमाङलाई उच्चारण गर्दै जाँदा धवाङ रहन पुग्यो। पहाडको भिरालो स्थानमा बसेका उनीहरू सहजता खोज्दै केही तल धवाङ भन्ने स्थानमा झरेपछि मार्फाली समुदायलाई खेतीपाती, वनजंगल र ढिकी, जातोलगायतको कामकाजमा निकै सहज भयो। धवाङमा अन्नबाली लगाउन मार्फालीहरूले खेतीपाती विस्तार गरे।

त्यतिले मात्रै मार्फालीहरू सीमित रहेनन्। त्यहाँको भन्दा अझै थप सहजता र सुगम स्थान खोज्दै उनीहरूले विकल्पको मार्ग पछ्याउन थाले। मार्फलीहरूले धवाङ वस्तीबाट तल जाने अर्थात् मरी जाने भन्ने शब्दवली उच्चारण गर्थे। मरीको शाब्दिक अर्थ बेसी हो। बेसीमा सिँचाइ, खेतीयोग्य खाली जमिन र बस्ती बस्न लायक देखिएपछि धवाङमा एकीकृत भएको मार्फाली बस्ती मरी (बेसी) झ¥यो। कालान्तरमा मरी नाम रहेको मार्फा गाउँ अहिलेको बस्ती हो। मार्फाका ९२ वर्षीय स्थानीय पदमप्रसाद ज्वाहारचनले मार्फा गाउँ साबिकको हिमालको जरामा रहेको बस्ती क्रमशः सर्दैसर्दै अहिलेको मार्फा गाउँमा बस्ती स्थानान्तरण भएको सुनाए।

कालीगण्डकी नदीको पश्चिमतर्फको अग्लो भिरालो बस्तीमा स्थान्तरित बस्ती मार्फा धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं स्याउको राजधानीले समेत निकै प्रसिद्ध छ। ढुंगा र माटोले बनेका शताब्दी पुराना ऐतिहासिक पम्परागत एकआपसमा जोडिएका पुराना घरहरूले मार्फा गाउँको सौन्दर्यतालाई उदाहरणीय रूपमा प्रस्तुत गरेको छ। पुराना ढुंगा र माटोले निर्मित परम्परागत घरहरूमा सदियौ वर्षदेखि लस्करी चाङ पारी सजाइएका दाउराहरूले मार्फाको सांस्कृतिक पहिचान र मौलिकतालाई जीवन्त तुल्याएको छ। 

सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भन्ने उद्देश्यले पूर्वजहरूले घरको चारैतिर दाउरा पाँज्ने प्रचलन रहेको मार्फाकी स्थानीय कमला लालचनले जानकारी दिइन्। त्यसताका घरहरूको छतमाथि दाउरा पाँज्ने प्रचलनले आर्थिक सम्पन्नताको समेत परिचय दिने गरेको उनको भनाइ छ। विभिन्न खोज अनुसन्धान तथा पर्यटक आकर्षणका लागि पुरानो परम्परागत घरहरूले टेवा पुगेको उनले सुनाइन्।

nullहालको मार्फा गाउँमा अहिले करिब १ सय ५० घरधुरी छन्। कतिपय मार्फालीहरू वैकल्पिक व्यवसायका लागि जिल्ला छोडेर बेंसी स्थान्तरण भइसकेका छन्। गाउँकै थातथलो धानेर बसेका मार्फालीहरूसँगै करिब ५०-६० घरधुरी दलित समुदायहरूको पनि त्यहाँ बसोबास छ। त्यहाँ दलित समुदायहरूले मार्फाली विष्ट समुदायहरूको धर्मकर्म र खेतीपातीलगायतको कामकाजमा सघाउँदै आइरहेका छन्।

बेनी—जोमसोम सडकको पश्चिम सडक मार्गदेखि करिब ३ सय मिटर पर भिरालो सतहमा अवस्थित मार्फा गाउँ घरपझोङ गाउँपालिकाको नमुना गाउँमध्येको अग्रस्थानमा पर्छ। ढुंगा र माटोले बनेका घरहरूबीचको गारेटो बाटोमा छप्पनी ढुंगा बिछ्याइएको छ। गाउँभित्र एक दर्जनभन्दा बढी पर्यटक लक्षित होटलहरू सञ्चालनमा छन्। छैरो तिब्बती शरणार्थीहरूले पनि त्यहाँ पसलहरू सञ्चालन गरी व्यवसाय चलाएका छन्। 

संघीयताको पहिलो कार्यकालमा घरपझोङ गाउँपालिकाले गाउँभित्रको अनाधिकृत विद्युत् र टेलिफोन लाइनलाई भूमिगत रूपमा विस्तार गरी मार्फाको सौन्दर्यलाई वृद्धि गरेको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मार्फालाई थप पर्यटकीय हबको रूपमा विकास गर्न भित्री गल्लीहरूको बाटोमा सडक बत्ती जडान गरिसकेका छन्। मुस्ताङ भ्रमण गर्न आएका पर्यटकहरू साँझपख मार्फाको भित्री गाउँ पसेपछि झलमल्ल बिजुली बत्तीको उज्यालोले मार्फाको दृश्य गुल्जार देखिन्छ। गाउँपालिका अध्यक्षले आफ्नो गाउँ मार्फालाई मुस्ताङको ठमेलको संज्ञा दिएका छन्। साँच्चै अनुकूल मौसममा सूर्यास्तपछि मार्फा गाउँ काठमाडौंको ठमेलजस्तै झिलिमिली र पर्यटक चहलपहल थपिने अध्यक्ष लालचनले सुनाए।

मार्फा गाउँभित्रको गल्लीका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरूले सजाइएको छ। कतिपय होटलहरूमा थकाली संस्कृति, रहनसहन र परम्परा झल्किने वस्तुहरूले आकर्षण बढाइएको पाइन्छ। मार्फामा दर्जनौं स्वदेशी तथा विदेशी चलचित्र छायांकन भइसकेकाले पनि मार्फा गाउँको क्रेज बढेको हो। गाउँभित्रको गोरेटो अर्थात् भित्री गल्लीलाई जेरी र कबड्डी गल्ली भनेरसमेत नामकरण गरिएको छ। मार्फा गाउँको पश्चिमतर्फको पहाडको भित्तामा कुदिएका कलात्मक रक संस्कृति देख्न पाइन्छ। गाउँभित्र सम्तेलिङ मार्फा गुम्बा अवस्थित छ। मार्फाको गाउँमा माथिको भिरालो सतहमा अर्को भिर गुम्बा पनि छ। यो गुम्बा करिब तीन सय वर्ष पुरानो मानिएको छ। गुम्बामा क्षमा पूजा गरिन्छ। गुम्बामा एक जना अवतारी लामा बस्ने गर्छन्। भिर गुम्बामा गोन्पो भन्ने देवता रहेको धार्मिक जनविश्वास छ।

 मार्फा गाउँभित्र जापानी भिक्षु बौद्ध धार्मिक यात्री तथा अन्वेषक इकाइ कावागुची बसेको घर छ। सन् १८८८ मा तिब्बतमा बुद्ध धर्मको अध्ययनको सिलसिलामा मार्फा गाउँमा कावागुची बाँस बसेको ऐतिहासिक घर छ। बुद्ध धार्मिक यात्री इकाइ कावागुचीलाई नेपाल— जापान सम्बन्धका अग्रदूतको रूपमा लिने गरिन्छ।

स्याउको राजधानीको रूपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो। यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा स्याउ खेती अपनाउँदै आइरहेका छन्। निकै मेहनत र परिश्रम गर्न रुचाउने मार्फाली समुदायले स्याउबारी भित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर र तरकारी बाली उत्पादन गर्ने गर्छन्।  मार्फा गाउँको केही पर शीतोष्ण बागवानी विकास केन्द्र छ। स्याउ तथा शीतोष्ण फलफूल तथा तरकारी खेतीको उत्पादन, प्रबद्र्धन र विकासका लागि स्थापना भएको यो केन्द्र अहिले नेपालकै प्रशिद्ध कृषि तालिम केन्द्र पाठशालाको रूपमा विकसित भइरहेको छ। मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले मार्फा कृषि फार्मको अवलोकन गर्न छुटाउँदैनन्। मार्फामा ६ वटा स्याउको ब्रान्डी बनाउने उद्योगहरू सञ्चालनमा छन्। 

त्यसो त मार्फामा स्याउ भण्डार गर्ने ठूलो क्षमताको कोल्ड स्टोरसमेत निर्माण भइसकेकाले पर्यटकले बेमौसममासमेत स्याउको स्वाद चाख्न पाइने व्यवस्था मिलाइएको छ। स्याउलगायत, खुर्पानी, चिची र आरुबखडालगायतका फलफूलहरूको प्रशोधन गरी वाइन र जुसहरू निर्माण गरिन्छ। बगैंचामा खेर जाने स्याउलाई सुकुटी बनाएर बिक्री गर्ने गरिन्छ। बर्सेनि भदौ÷असोजमा मार्फाका बगानमा लटरम्म स्याउ फलेको दृश्यले पर्यटकहरू निकै उत्साहित हुने गर्छन्। पछिल्लो समय केहीले सडकमार्ग आसपासको स्याउ खेती मासेर पर्यटक लक्षित होटलहरू निर्माण गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.