‘नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आयो’
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् ।
बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए ।
त्यस्तै आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परीक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उनले बताए।
नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायहरुसँग छलफल गर्ने र निष्कर्षमा पुगिने उनको भनाई छ।