धापाखेलबाट १ महिनाअघि हराएका युवक अझै भेटिएनन्
काठमाडौं : सिरहा कल्याणपुर-३ प्रसादीका २० वर्षीय अरुण कुमार शर्मा गत असार २५ गतेदेखि सम्पर्कविहीन छन्। ललितपुरको धापाखेलमा आफ्ना दाई रवि शर्मासँगै बस्दै आएका अरुण गत असार २५ गते साथीलाई भेट्न भनेर महालक्ष्मीस्थान गएका थिए। त्यहाँबाट फर्कँदा परिवारमा फोन गरेका उनी राती ८ बजेदेखि सम्पर्कविहीन भएका थिए। २५ गते स्विच अफ भएको उनको फोन नम्बर अहिलेसम्म खुलेको छैन।
अरुण शर्मा नीलो टिसर्ट, जिन्स पेन्ट र फितावाल चप्पल लगाएर कोठाबाट निस्किएका थिए। उनका छिमेकी दाजु प्रमोद शाहले अन्नपूर्णलाई दिएको जानकारी अनुसार २५ गते रातिदेखि सम्पर्कविहीन भएका अरुण घर नआएपछि परिवारले सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए।
अरुण कक्षा १२ पास गरी मेडिकल परीक्षा दिनका लागी तयारी गरिरहेका थिए। उनी साथीको घरबाट ७:२५ मै हिँडेको खबर पाएको प्रमोदले बताए। प्रमोद भन्छन्, ‘राजधानीबाट मान्छे हराउँदा पनि हामीले कुनै खबर पाएका छैनौं। भाइ बेपत्ता भएको भन्दै खोजिदिन जाहेरी दिँदा पनि प्रहरीले कुनै पत्ता लगाएको छैन। खोजिरहेका छौं भन्छन्, तर कुनै खबर पाउन सकेनौ। फोन स्विच अफ भएकाले लोकेशन ट्रयाकका लागि असहज भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेसराज सुवेदीका अनुसार अरुणको खोजी भइरहेको छ। उनको साथी सर्कल र परिवारसँग छलफल भइरहेको छ। मोबाइल अफ हुँदा लोकेशन पत्ता लगाउन असहज भइरहेको छ।