व्यङ्ग्य र घोचपेचकैबीच सकियो विपद् सम्बन्धी नीतिगत छलफल
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा बहुप्रकोप पूर्वसूचना प्रणाली तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी नीतिगत छलफल गरिएको छ।
जिल्लामा बाढी, पहिरो, चट्याङजस्ता विपद्ले निम्त्याएका क्षति तथा आगामी योजनाको विषयमा सर्वपक्षीय छलफल आयोजना गरिएको भएपनि कार्यक्रममा राजनीतिक दलका नेताहरूले एक अर्कालाई व्यङ्ग्य र घोचपेचकै बीच कार्यक्रम सकाएका छन्।
बैठकमा आफ्नो धारणा राख्दै सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का संघीय सांसद माधव सापकोटाले जिल्लामा भएका विपद्को घटनाबारे संसदमा जोडतोडले आवाज उठाएको तर प्रतिनिधि सभा २ का सांसद भने ५ दिनपछि हेलिकोप्टरमा सयर गरेको भन्दै हेलिकोप्टरले विपद् न्यूनीकरण नहुने भन्दै व्यङ्ग्य गरे।
सापकोटापछि मन्तव्य राखेका प्रतिनिधि सभा २ का सांसद मोहनबहादुर बस्नेतले हिँड्ने र गुड्ने बाटो नभएको कारण आफू हेलिकोप्टरबाट गएको जवाफ फर्काए। उनले आफ्नो खुट्टाको स्पोर्ट्स जुत्ता देखाउँदै सापकोटा, प्रदेश सांसद युवराज दुलाल र सरल सहयात्री पौडेलको खुट्टातिर हेर्दै ‘साथीहरू जन्ती जान आएको जसरी आएका छन्’ भन्दै कटाक्ष गरे।
जिल्लाभरी भएका सडक, बस्ती र खेतीयोग्य जमिनमा भएको क्षतिको तथ्यांकसहित जिल्लाका स्थानीय तह, प्रदेश र संघीय सरकारको जनप्रतिनिधिहरूको उपस्थितिमा जिल्लामा हालसम्म भएका क्षतिका विषयमा जिल्ला विपद् व्यवस्थापन समिति र विभिन्न एनजिओ/आईएनजिओले सो छलफलको कार्यक्रम गरेका थिए।
सिन्धुपाल्चोकको प्रभावित क्षेत्रको संरक्षणका लागि संघीय सरकारले चासो नदिएको स्थानीय तहले गुनासो गरेको छ। स्थानीय तहका विभिन्न क्षेत्रमा भएको क्षतिको तुलनामा निकै कम रकम मात्रै प्रदेश सरकारले कनिका छरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुनासो गरे।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरेकोमा १५ लाख मात्रै विनियोजन गरेकोमा तामाङको प्रदेश सरकारलाई व्यङ्ग्यात्मक धन्यवाद दिए। इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले भने स्थानीय सरकार एक्लैले विपद् व्यवस्थापन गर्न नसक्ने र प्रदेश तथा संघीय सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरे।
जिल्लाको अधिकांश क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा रहेकोले त्यसको वैज्ञानिक अध्ययन गरि क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। नेपालसँग विपद् सम्भाव्यता अध्ययनको पर्याप्त स्रोत साधन भएको त्यसले प्रभावकारी काम समेत गर्ने भएकोले अध्ययनमा जोड दिन सबै तहका सरकारलाई ध्यानाकर्षण गराए। बैठकमा सहभागी मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीयहरूले तीनै तहका सरकारले विपद् पछिको उद्धार र पुनर्निर्माणमा पर्याप्त ध्यान नदिएकोमा आक्रोश पोखे। मेलम्ची बाढीको तीन वर्ष पूरा भइसक्दा पनि बाढी प्रभावितले आवास निर्माण अनुदान प्राप्त गर्न नसकेको उनीहरूको गुनासो थियो।
नीतिगत छलफलले विपद् पीडितहरूको पक्षमा कुनै ठोस निर्णय हुन नसकेको सहभागीहरूले बताएका छन्। ‘विपद् र बाढीबाट अति प्रभावित मेलम्ची, हेलम्बु र पाँचपोखरीको लागि राम्रै ‘प्लेटफर्म’ हुन सक्थ्यो’, मेलम्चीका स्थानीय सागर श्रेष्ठले भने– ‘तर दुर्भाग्य कति स्थानीय सरकारको उपस्थिति नै भएन, उपस्थित हुनेको प्रस्तुति र तयारी गतिले देखिएन।’ विषयको ज्ञान र संवेदनशीलता नहुँदा प्रत्यक्ष नागरिकको सरोकार रहेको कार्यक्रमहरू पनि उपलब्धि शून्य हुने उनले बताए। त्यस्तै पाँचपोखरी थाङ्पालधाप गाउँपालिकाका स्थानीय निर्मल बञ्जाराले आईएनजिओले ब्यानर र हस्ताक्षर मात्रै बेच्न कार्यक्रम गरेको आरोप लगाए।
बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजकृष्ण लामिछाने, प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल, कृष्णकुमार तामाङ र कुमारी तामाङ, माइली लामाले समेत विपद् व्यवस्थापनमा प्रदेश सरकारको तर्फबाट आफूहरूले सक्दो सहयोग गरिरहेको आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताए।