बर्दिवासमा सडक मानवका लागि ‘हाम्रो माया घर’ बनाउन महायज्ञ प्रारम्भ
ढल्केवर(धनुषा) : सडक मानव, वृद्ध र असहायहरूको पुनःस्थापना गर्ने उद्देश्यले महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको ‘हाम्रो माया घर’ का लागि सहयोगार्थ शिव पुराण महायज्ञ सुरु भएको छ।
प्रख्यात भागवत मन्जरी राधिका दासीको मुखारविन्दबाट हुने शिव पुराण महायज्ञ सोमबारबाट प्रारम्भ भएको हो। दीप प्रज्वलन गर्दै महायज्ञ प्रारम्भको घोषणा गरेकी कथावाचिका दासीले महायज्ञले ‘हाम्रो माया घर’ निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
उद्घाटन सत्रमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले ‘हाम्रो माया घर’ निर्माणमा आफूले मन, वचन र कर्मबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। उद्घाटन सत्रमा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, मधेशका विभिन्न धार्मिक मठका सन्त महन्थ र सर्वसाधारणको सहभागिता रहेको थियो।
महायज्ञ उद्घाटनअघि सोमवार बिहान हजारौं सर्वसाधारणको सहभागितामा एक हजार आठ कन्याले महायज्ञस्थलमा रातु नदीबाट कलश स्थापना गरिएको थियो।
साउन २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा चर्चित पुराण कथा वाचिका राधिका दासीले कथा वाचन गर्ने तालिका छ। महायज्ञ सफल बनाउन विभिन्न विधामा १८ वटा उपसमिति वनाइएको छ। करिब डेढ करोड संकलन गर्ने लक्ष्य लिइएको महायज्ञमा २५ लाख खर्च लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ।
दुई वटा ब्लकमा निर्माण हुने हाम्रो माया घरको लागत अनुमान १० करोड ६९ लाख ४५ हजार रुपैया रहेको शिव पुराण महायज्ञ मूल आयोजक समितिका संयोजक हीरा गौतमले बताए।
आश्रमको भवन निर्माणका लागि बर्दिबास नगरपालिका-२ वुद्धचौकमा एक दर्जन स्थानीयहरूले सवा करोड मूल्य पर्ने साढे पाँच कठ्ठा जग्गा दान गरिसकेका छन्। निर्माण स्थलको घेराबेरा भइसकेको हाम्रो माया घर बर्दिबास महोत्तरीका अध्यक्ष कृष्ण गौतमले बताए।