जहाँ ढुंगा–ढुंगामा देवताको बास छ...
फिदिम : ‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छ, जहाँ थुम्का थुम्कामा स्वर्गको अभाष छ ... !’ गीतले भनेजस्तै फिदिम नगरपालिका १३ जेभालेमा देवताको वास पाइन्छ। यहाँको प्रकृति, संस्कृति र सभ्यताले स्वर्गको आभाष दिलाउँछ। जेभाले जाने भन्नेबित्तिकै सबै काम छाडेर म तयार हुन्छु। जेभालेको सुन्दर प्रकृति, प्रिय मानिसहरू र पौरखी पाखुराले पत्थरमा कुँदेका सुन्दर आकृतिसँग मेरो गहिरो प्रेम छ।
भनिन्छ, ‘पहाडका टाकुराहरूमा धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ।’ त्यस्तै विशेषता बोकेको विशेष प्रकारका चट्टानहरूको सानो पहाड हो जेभाले। उक्त पहाडलाई बेहुलीझैँ सिँगारेका छन् स्थानीयले। सिर्जनाका शिल्पीहरूले कडा पत्थरमा ईश्वरका आकृति कुँदेका छन्। त्यसैले त जेभाले सुनमा सुगन्ध भरेजस्तो छ। यहाँको प्रकृतिलाई सजाउन मानिसले गरेको पौरख देख्दा ‘लाग्छ जेभालेमा ईश्वरको अनुकम्पा छ।’
जेभालेमा गुराँस, चाँप र लेकाली जडिबुटीको सुगन्ध मगमगाउँछ। जंगलमा चराहरू आफ्नै सुरुमा सुसेल्छन्। यहाँ आउने आगन्तुकको स्वागतार्थ स्थानीयले संगीतमा सुर भर्छन्, गीत गुनगुनाउँछन् र रमाउछन्। पर्यटकहरूसँग गाउने, नाच्ने र घुम्ने पञ्चमीभञ्ज्याङका स्थानीयको दैनिकीजस्तै छ।
सदरमुकाम फिदिमदेखि जेभाले टाढा छैन। अब त जेभालेलाई दुर्गम भन्न पनि सुहाउँदैन। फिदिमबाट मोटरसाइकल चढेर एक घण्टामा जेभाले पुगिन्छ। फिदिम–फालोट सडक हुँदै नांगिनको फूलबारीसम्म कालोपत्रे सडक छ। त्यहाँँबाट पारीपट्टी हेर्दा अग्ला–अग्ला हरिया पहाडहरू देखिन्छन्। जंगलले घेरिएको पहाडको बिचमा सुन्दर भञ्ज्याङ छ। फूलबारीबाट फिदिम–फालोट सडक छाडेर कच्ची सडकतर्फ मोडिनुपर्छ। कच्ची सडकको यात्रा सुरु गरेको करिब २० मिनेटमा पञ्चमीभञ्ज्याङ पुगिन्छ। सफा र चिटिक्क परेका पञ्चमी भञ्ज्याङका घरहरूले आँगन्तुकहरूलाई स्वागत गर्न तम्तयार छन्। यहाँका मिनलसार मानिसहरू क्षणभरमै आत्मीय बन्छन्।
पञ्चमी भञ्ज्याङ जेभालेको प्रवेशद्वार हो। भञ्ज्याङको एकातर्फको पहाडमा हुक्काडाँडासम्मको उचाइ भेटिन्छ। अर्कोतर्फको पहाडले ठूलीटार हुँदै अझ अग्लो उचाइमा पुर्याउँछ। आगन्तुकलाई पञ्चमी भञ्ज्याङका अगुवा गजेन्द्र राईले यहाँको पहाड, प्रकृति र मानिसले गरेको पौरखलाई दृश्यपान गराउँछन्।
प्राकृतिक रूपमा सुन्दर रहेको जेभाले बहुधार्मिक पर्यटकीय गन्तव्य बन्दैछ। ‘जेभाले त गज्जबको गन्तव्य रहेछ,’ जेभाले घुमेपछि इलामका योगन्द्र सुवेदीले भने, ‘बहुधार्मिक आस्थाको केन्द्रका रूपमा जेभालेको विकास भएको रहेछ।’
के छ जेभालेमा ?
हिजो र आजको जेभालेमा बिल्कुल फरक छ। जेभालको पहिचान बदलिएको छ। आजको जेभाले सफा छ। पूर्वाधार विकासले समृद्ध बन्दै छ। मानिसहरूमा सहकार्य र सामूहिक भावना छ। सहिष्णुता छ। बहुधार्मिक आस्थाको केन्द्र बन्दै छ जेभाले। समग्रमा जेभाले सभ्य छ, सुन्दर छ। ‘स्थानीय जागरूक हुँदा ग्रामीण क्षेत्रहरू पनि आकर्षक गन्तव्य बन्ने रहेछन्,’ जेभाले पुगेपछि कोशी अञ्चल अस्पतालका चिकित्सक हरी खनालले भने, ‘जेभालेका स्थानीयहरूको काम गर्ने शैली हरेक मानिसका लागि उदाहरण हो। ग्रामीण ठानिएको जेभालेको परिवर्तन देखेर गज्जब लाग्यो।’
यहाँ हिमालजस्तै उज्याला, फरासिला र सहयोगी गाउँले छन्। स्वच्छ हावापानी र ग्रामीण जीवनशैलीले मोहनी लगाउँछ। जेभाले आफैंंमा ग्रामीण पर्यटनको नमुना गन्तव्य हो। यहाँ हरेक दिन मानिसहरूको भीड लाग्ने थालेको छ। बिदाको दिन कर्मचारीहरूसमेत जेभाले आउन थालेका छन्। जेभालेलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्नसमेत सकिन्छ। गाउँका घर, आँगन अनि टोल सफा छन्। गाउँलेमा सहयोगी र सहअस्तित्वको भावना छ। जेभाले गाउँको शिर (हुक्मा डाँडा)बाट हिमाल मुस्कुराएझैँ देखिन्छ। हुक्माडाँडामा बसेर हिमालको दृश्य हेर्दा आनन्द मिल्छ।
जेभाले सेरोफेरोका थुम्काहरूबाट हिमाल, डाँडापाखा र बस्ती नियाल्न सकिन्छ। योग, ध्यान र क्याम्पिङका लागि यहाँका डाँडाहरू उपयुक्त छन्। हुक्माडाँडा प्राकृतिक टावर हो।
ढुंगा–ढुंगामा ईश्वरका प्रतिमा
पञ्चमी भञ्ज्याङदेखि हुक्माडाँडातर्फ उकालो लाग्दा चट्टानबाटीका भेन्टिन्छ। ढुंगाको बगैंचा जस्तो भएकाले यसलाई ‘चट्टानबाटीका’ नामकरण गरिएको हो। यहाँका ढुंगामा ईश्वर र झन्डाका प्रतिमाहरू कुँदिएको छ। ‘ढुंगामा भगवान्को प्रतिमा बनाउँदा पृथ्वी रहेसम्म नबिग्रने भएकाले यहाँका ढुंगा कुँदेर भगवान्को आकार दिएका हौँ,’ प्रतिमा निर्माणका परिकल्पनाकार गजेन्द्र राईले भने, ‘यसो गर्दा प्रकृतिमैत्री काम भयो र आकर्षक गन्तव्य पनि बन्यो।’
ठूलो ढुंगामा किराँत राईहरूका पूर्खा सुन्निमा पारुहाङको अर्धकदको प्रतिमा कुँदिएको छ। यो प्रतिमा ढुंगामा बनाइएको हालसम्मकै सबैभन्दा ठूलो हुनसक्ने निर्माण कर्ताको दाबी छ। १२ फुट उचाइ र १७ फुट चौडाइ भएको सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गरिएको हो। नजिकै किँरात राईहरूको झन्डा पनि ढुंगामै कुदिएको छ।
केही माथि उक्लेपछि एउटा ठूलो ढुंगामा साढे सात फुटको महादेवको प्रतिमा कुँदिएको छ। चट्टानबाटीकाको अर्को ढुंगामा भगवान् गौतम बुद्धको प्रतिमा बनाइएको छ। साढे ६ फुटको बुद्धको प्रतिमा बनाइएको हो। नजिकैको अर्को ढुंगामा साढे ६ फुटको राष्ट्रिय झन्डाको प्रतिमा कुँदिएको छ। अर्को ढुंगामा किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको ९ फुटको प्रतिमा बनाइएको छ।
चट्टान बाटिकाका अधिकांश ढुंगामा भगवान्को प्रतिमा देख्दा लाग्छ यत्रतत्र भगवान्को बास छ। यहाँ पुगेपछि भलिबल संघ इलामका अध्यक्ष प्रबिण गुरुङ निकै प्रभावित भए। ‘भगवान्प्रतिको आस्थाले नै सकारात्मक विचार निर्माण गर्ने हो,’ उनी भन्छन, ‘जेभालेका स्थानीयहरूमा भगवान्प्रतिको गहिरो आस्था रहेछ। यहाँको काम देखेर म नतमस्तक भएँ।’
यहाँ बनाइएका प्रतिमाहरू फिदिम १३ का मूर्तिकार बिमल राईले कुंदेका हुन्। ‘मूर्तिहरूलाई अन्तिम रूप दिइरहेको छु,’ विमलले भने, ‘यसरी ढुंगामा भगवान्का आक्रिति बनाउन सजिलो छैन। तर, भगवान्को आक्रिति ढुंगामा उतार्दा आनन्द हुन्छ।’
यहाँ बनाएका प्रतिमाहरूमा सरकारको कुनै लगानी छैन। करिब १२ लाखको लगानीमा सबै प्रतिमाहरू निर्माण गरिएको हो। ‘शुभचिन्तक र गाउँलाई माया गर्ने व्यक्तिहरूको सहयोगबाट प्रतिमा बनाइएको हो,’ गजेन्द्र राईले भने, ‘उत्साहजनक रूपमा आर्थिक संकलन भयो र यस्तो नमुना काम गर्न सम्भव भयो।’ आफ्नो इमान्दारिताका कारण सामाजिक सञ्जालबाट प्रतिमा निर्माणकका लागि आग्रह गर्दा लाखौं रूपैयाँ जुटेको राईको भनाइ छ। प्रतिमाहरू निर्माण सम्पन्न गरेपछि बहुधार्मिक महोत्सव गर्ने तयारी छ।
नमुना वनभोजस्थल
हुक्मा डाँडामा नमुना बनभोजस्थल निर्माण गरिएको छ। यहाँसम्म पुग्न पदमार्ग र सडकमार्ग निर्माण गरिएको छ। स्थानीयको लगानीबाटै वनभोज स्थल निर्माण गरिएको हो। वनभोजका लागि आवश्यक पर्ने सबै सामग्रीहरूको बन्दोबस्त मिलाइएको छ। गुप्तेश्वर महादेवथान मुन्धुम पार्क हुक्मा डाँडा पर्यटन प्रबद्र्धन विकास संस्थाको अगुमाईमा यस्तो काम गरिएको हो।
‘पकाउने कुनै पनि सामग्री बोक्नु पर्दैन,’ संस्थाका अध्यक्ष गजेन्द्र राईले भने, ‘आवश्यक पर्ने सबै सामग्रीहरू संस्थाले खरिद गरेर राखिदिएको छ।’ सामग्री राख्ने सानो घर निर्माण गरिएको छ। यहाँ वनभोज खान आउनेहरूलाई उक्त घरमा राखेका सामग्रीहरू निकाले निःशुल्क रूपमा उपलब्ध गराइन्छ। नजिकै पक्की शौचालयसमेत निर्माण गरिएको छ। खानेपानीको व्यवस्था संस्थाले नै गरेको छ।
रिमाल परिवारको लगानीमा सिंढी र गुप्तेश्वर महादेवथान निर्माण
व्यक्तिगत लगानीमा लाखौं खर्चिएर पक्की सिंढी र गुप्तेश्वर महादेव थान निर्माण गरिएको छ। पुर्खौली थलो जेभाले भएर हाल अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सवर्कमा बस्दै आएका स्व.नरबहादुर रिमालको परिवारले आर्थिक लगानी गरेको हो। नरबहादुरका छोरा नारद रिमालले महादेवथान परिसरमा संरचना निर्माणका लागि ३३ लाख ६९ हजार आठ सय पाँच रूपैयाँ लगानी गरेका हुन्।
मातृभुमीको मायाले धार्मिक गन्तव्य निर्माणका लागि ठूलो लागनी गरेको नारदले बताए। ‘जन्म दिने आमा र मातृभूमिको तुलना अरूसँग हुनै सक्दैन,’ नारद भन्छन् ‘मातृभूमिलाई सुन्दर बनाउन लगानी गरेका हौँ।’ संरचना निर्माणको नेतृत्व यहाँका अगुवा गजेन्द्र राईले गरेका हुन्। रिमाल परिवारको आर्थिक लगानीमा महादेव थानसम्म पुग्नका लागि ६ सय ६१ वटा पक्की सिंढी निर्माण गरिएको छ। त्यस्तै पक्की प्रवेशद्धार, गुफा वरिपरि पर्खाल, बिश्रामलय, होमकुण्ड सहितको भवन, पक्की होडिङबोर्ड लगायतका संरचना निर्माण गरिएको छ। गुप्तेश्वर महादेव थानमा अहिले भक्तजनहरूको आगमन बढेको स्थानीय बताउँछन्। यहाँ पूजापाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ।
नमुना खेल मैदान निर्माण
पञ्चमी भञ्ज्याङमा नमुना खेल मैदान निर्माण गरिएको छ। प्रदेश सरकारको २५ लाख रूपैयाँको आर्थिक सहयोगमा मैदानको स्तरवृद्धि गरिएको स्थानीय नदिप राईले बताए। मैदानको वरिपरि पर्खाल लगाइएको छ। मैदानको भित्तापटी खेलाडीहरूका लागि पक्की प्लेयर बक्स निर्माण गरिएको छ। सोही स्थानमा खेलाडीहरूकै लागि पक्की शौचालयसमेत निर्माण गरिएको छ। खेलको प्रत्यक्ष प्रशारणका लागि समेत संरचना निर्माण गरिएको छ।
उक्त मैदान निर्माणका लागि २०६४ सालको तिहारमा स्थानीय क्लबले देउसी खेलेर संकलन भएको रकमबाट चार रोपनी जमिन गरिद गरेको थियो। हाल सात रोपनि जमिनमा मैदान विस्तार गरिएको छ। मैदानलाई निकै व्यवस्थित र आकर्षक बनाइएको छ। क्लबले आफ्नै भवनसमेत बनाएको छ। उक्त मैदानमा प्रत्येक वर्षको दसैंमा खेलकुद र सांस्कृतिक कार्यक्रमसहति मेलाको आयोजना गरिन्छ।