हर एक विशेष
संसारमा हर एक मानिस दोस्रोभन्दा भिन्न छ। हर एकको शारीरिक, मानसिक र मनोवैज्ञानिक क्षमता अलग छ। हर एकले जन्मसँगै आफूमा लिएर आएका गुणहरू फरक छन्। जीवन र जगत्लाई हेर्ने दृष्टिकोण हर एकको छुट्टै छ। वास्तवमा संसारमा हर एक आफैंमा विशेष छ, विशिष्ट छ।
करिब एक महिनाअघि गत वर्षको चैत्रमा भएको माध्यमिक शिक्षा परीक्षा, एसईईको परीक्षाफल प्रकाशित भयो। परीक्षामा सम्मिलित कुल विद्यार्थी मध्ये ४७.८६ प्रतिशत कक्षा ११ मा भर्ना हुन पाउने गरी उत्तीर्ण भए। त्यसैगरी यही साउन १८ गते कक्षा १२ को पनि परीक्षाफल प्रकाशित भयो जसमा ५२.९१ प्रतिशत विद्यार्र्र्र्थी उत्तीर्ण भए।
यही अवसरमा धेरै अभिभावकहरूले सामाजिक सञ्जालका भित्ताहरूमा आफ्ना बच्चाहरूको उत्तीर्ण प्रतिशत र ग्रेडसहितको विवरण पोस्ट गरे। यो देखेर परीक्षामा अनुत्तीर्ण अधिकांश विद्यार्थीका अभिभावकले आफ्ना बच्चाहरूलाई हप्कीदप्की र गालीगलौज गर्ने, डर त्रास देखाउने, कुटपिट गर्नेजस्ता शारीरिक र मानसिक यातना दिए। परीक्षामा अनुत्तीर्ण भएर दुःखी भएका विद्यार्थीलाई अभिभावकको यस्तो हर्कतले झनै दुःखी तुल्यायो। परिणामस्वरूप धेरै विद्यार्थीलाई लाग्यो कि जीवनमा मेरा लागि सबैभन्दा अँध्यारो क्षण यही हो। यही कारण अब मेरो बाँकी जीवन पनि यसैगरी अँध्यारोमै बित्नेछ। म जीवनमा केही पनि गर्न नसक्ने निकम्मा हुँ। यस प्रकारको हीनताबोध र निराशामा पलपल डुब्दै जानेहरू हजारौं छन्। जसमध्ये पनि जीवनमा सबैतिरबाट आशाका किरणहरू बन्द भएको देख्नेहरूले आफ्नो जीवन नै समाप्त पारे।
यसैबीचमा कैयौं अभिभावकहरूले आफ्ना बच्चाहरूलाई फेरि पनि धम्कीपूर्ण आदेश गरे, ‘तिमीले अब माथिल्लो कक्षमा फलानाको छोराछोरीले पढेजस्तै विषय पढ्नुपर्छ। त्योबाहेक अरू विषय पढ्ने कुरै नगर। नत्र मैले त्यसको अघि कसरी मुख देखाउने ?’ यसरी आफ्ना बच्चाहरूको क्षमता, रुचि आदिको ख्याल नै नगरी विगतमा आफूले पूरा गर्न नसकेका कतिपय अतृप्त चाहना उनीहरूमाथि थोपरिदिँदा कतिले अर्को दुई वर्षपश्चात् फेरि आफ्नो जीवन अँध्यारो देख्नेछन्। फेरि आफूूलाई धिक्कार्नेछन् अनि फेरि आफ्नो जीवन आफैं समाप्त पार्नेछन्। यस्तो फेरिफेरि भइरहनेछ। नयाँनयाँ विद्यार्थी यसको सिकार भइरहनेछन्। अनि समाज यसरी नै मूकदर्शक बनिरहनेछ।
संसारमा आज प्रत्येक एक मिनेटमा सरदर २६७ बच्चाहरू जन्मिरहेका छन्। ती सबैले दसौं पुस्तामाथिदेखिको पूर्वजहरूबाट, पूर्वजन्मबाट र आमाको गर्भमा छँदा आमाको आहार, विहार र विचारबाट धेरै हदसम्मको शारीरिक, मानसिक र मनोवैज्ञानिक विशेषता र क्षमता लिएर आएका हुन्छन् भनेर पूर्वीय वैदिक दर्शनले त स्पष्ट भनेकै छ, पश्चिमी दर्शनले समेत यसको अवधारणा प्रस्तुत गरेको छ। यसबाहेक बच्चाहरूले आफू हुर्किंदै जाँदा कस्तो संस्कार, संगत र अनुभव प्राप्त गर्दछन् भन्ने कुराले पनि भविष्यमा ती कस्ता हुन्छन् भन्ने निक्र्योल गर्दछ। तर हामी त यो तथ्यलाई लत्याउँदै ती सबैलाई एकै बास्केटमा राखेर, एकै विधिमार्फत गुण र क्षमताको तुलना गरिरहेका छौं। ती सबैसँग समान योग्यता हुनुपर्दछ भन्ने गलत मान्यता बोकिरहेका छौं। हामीभित्रको योभन्दा ठूलो भ्रम अर्को के हुन सक्ला र ?
अभिभावक मात्र होइन हाम्रो समाजमा जन्मने हर नयाँ बच्चाहरूमा हामीले सानैबाट यस्तो मान्यता थोपरिदियौं कि उसले आफ्नो प्रगति र सफलता आफूबाहेकका अरूको स्थिति खराब हुँदा देख्दछ। जब जीवनमा अरूले केही उल्लेखनीय कार्य गर्न सक्दैनन् तब ऊ आफूलाई तिनीसँग तुलना गर्दै श्रेष्ठ भएको महसुस गर्दछ। अरूको कमजोरी र हारमा नै उसले आफ्नो जित देख्दछ। प्रतिस्पर्धाको यो हद आज यसरी फैलिँदै छ कि प्रतिस्पर्धी दुःखी हुनु भनेकै आफू स्वतः खुसी हुनु हो भन्ने बुझाइ जनजनमा छ।
यतिमात्र होइन तुलनाको मनोविज्ञानले नेपाली समाज यसरी विकृत हुँदै गयो कि अधिकांशलाई न ऐनामा देखिने आफ्नो रूप र रंग मन पर्छ, न आफ्नो प्रतिभा माथि गर्व लाग्छ, न त आफ्नो भएको प्रगति नै चित्त बुझ्छ। यस किसिमका मानिसहरू हरेक कुरामा आफूलाई आफूभन्दा माथिल्लो स्तरका सँग तुलना गर्दै उनीहरूजस्तै देखिन पाए, त्यसरी नै हिँड्डुल गर्न पाए, उनीहरूको जस्तै जीवन बाँच्न पाए भन्ने स्वैरकल्पनमा सारा जीवन नै बिताइदिन्छन्। मनोवैज्ञानिक रूपमा यसले उनीहरू स्वयंलाई दुःखी र कमजोर बनाइरहेको हुन्छ।
विश्व इतिहासमा प्लेटो र अरस्तुको प्राचीन ग्रिक दर्शनदेखि युरोपको मध्यकाल, पुनर्जागरणकाल, उन्नाइसौं शताब्दीको औद्योगिक क्रान्ति, बीसौैं शताब्दीको विभिन्न स्वतन्त्रता आन्दोलनहरू हुँदै आजको दिनसम्म आइपुग्दा विद्यालयको कक्षाकोठादेखि अन्तर्राष्ट्रिय राजनीतिसम्म उठिरहेको समानताको सिद्धान्तलाई यसरी घुमाइयो कि यसको अन्तर्यले भनेको प्राकृतिक, सामाजिक, राजनीतिक, कानुनी र आर्थिक समानतालाई हामीले सही अर्थमा बुझ्नै सकेनौं। योग्यता र क्षमतामा समानता खोज्ने हैन कि अवसर र व्यवहारमा चाहिँ समानता भन्ने यस सिद्धान्तको मुख्य भावलाई हामीले लिनै सकेनौं। बदलामा हरमानिस जैविक रूपमै समान सामथ्र्य र दक्षतायुक्त हुन्छ भन्ने भावको नारा लगायौं। जसले समाजमा झनै ठूलो अन्तर्विरोध र द्वन्द्वको अवस्था सिर्जना गर्यो।
संस्कृतमा हजारौं वर्ष पुरानो एउटा श्लोक छ, ‘यत् पिण्डे तत् ब्रह्माण्डे, यत् ब्रह्माण्डे तत् पिण्डे’ अर्थात् हाम्रो शरीर र बाहिरको ब्रह्माण्ड समान गुण र प्रकृतिको छ। ब्रह्माण्ड जस्तो छ हामी त्यस्तै छौं। जसरी ब्रह्माण्डमा असीमित ऊर्जा छ ठीक त्यसैगरी हामीमा पनि असीमित ऊर्जा छ। वैदिक दर्शनले दिएको यो ज्ञानलाई न हामीले व्यावहारिक रूपमा बुझ्न सक्यौ न त नयाँ पुस्तालाई बुझाउन नै सक्यौं। यसैको अभावमा विद्यालयदेखि विश्वविद्यालयसम्मका हाम्रा विद्यार्थीहरूले आफूभित्र रहेको अथाह ब्रह्माण्डीय ऊर्जा र असीमित सम्भावनालाई कहिल्यै चिन्न सकेनन्। आफ्नै अवचेतन र अचेतन मनभित्र रहेको ज्ञानको अपार भण्डारलाई किमार्थ प्रकट गर्न सकेनन्।
तर अब भने हामी अभिभावक र विद्यालयले विद्यार्थीको अन्तर्चेतनालाई जगाउन सक्नु पर्दछ। उनीहरू स्वयंभित्र रहेको असीमित ऊर्जा र अनन्त उज्यालोलाई प्रस्फुट गराउनु पर्दछ। ताकि जीवनमा भोलिका दिनमा आइपर्ने योभन्दा हजारौं गुणा कठिन परीक्षाको पनि सहजै सामना गर्न सकुन्।