सरकारभन्दा ‘मिसन ८४’ मा एमाले केन्द्रित

ओलीद्वारा आन्तरिक पार्टी निर्देशन जारी

सरकारभन्दा ‘मिसन ८४’ मा एमाले केन्द्रित

पार्टी अध्यक्ष ओलीको नेतृत्वको सरकारले जनतामा नयाँ आशा जागृत गर्ने गरी कामलाई अघि बढाइरहेको अवस्थामा छ।

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन्। पहिलो राजनीतिक दल कांग्रेससँग गठबन्धन गरेर सरकार चलाइरहेका एमाले अध्यक्ष ओली २०८४ मा एक्लै बहुमतसहित सत्ताको नेतृत्व गर्ने रणनीतिमा देखिएका छन्। पछिल्लो समय एमालेले पार्टीलाई चलायमान बनाइरहेको छ। 

मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा चलाइसकेको छ।  एमालेले हाल  सरकारको नेतृत्व गरी रहे पनि मिसन ८४ केन्द्रित देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको आन्तरिक पार्टी निर्देशन(अपानी)मा यो झल्को देखिएको छ।  अपानीमा पार्टी निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरेको उल्लेख छ। 

पार्टी अध्यक्षको नेतृत्वको सरकारले जनतामा नयाँ आशा जागृत गर्ने गरी कामलाई अघि बढाइरहेको अवस्थामा अब सिंगो पार्टीपंक्ति राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को निष्कर्षका आधारमा मिसन ८४ लाई पूर्णरूपमा सफल बनाउने काममा केन्द्रित छ। यतिबेला संयुक्त सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरण र विस्तारको कामलाई योजनाअनुरूप अघि बढाउने, अधिवेशन सम्पन्न गर्न बाँकी स्थानीय पार्टी कमिटीका अधिवेशनहरू तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकका निष्कर्ष समेतको आधारमा पार्टी कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने अपानीमार्फत निर्देशन गरिएको छ। 

पार्टी कामलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकयता केन्द्रीय सचिवालयका तीनवटा महत्वपूर्ण बैठकहरू सम्पन्न भएका छन्। असार १८ मा केन्द्रीय सचिवालय ३२औं बैठक, असार २८ मा ३३ औं बैठक र साउन १७ मा ३४औं बैठक सम्पन्न भएका छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा पदाधिकारी तथा सदस्यहरूको मनोनयन र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको नयाँ कार्यविभाजनसहित ती बैठकले गरेका महत्वपूर्ण निर्णयहरू जानकारी तथा कार्यान्वयनका लागि अपानी– १० जारी गरिएको छ । एमाले र कांग्रेसका बीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको  एमालेको दाबी छ।

पार्टी अध्यक्षको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको एमालेको भनाइ छ। अपानीमा भनिएको छ, ‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्। स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ। 

केन्द्र र प्रदेश सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको  एमालेको भनाइ छ। अब मिसन ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु अपानीमार्फत अध्यक्ष ओलीले निर्देशन दिएका छन्। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको जनाउँदै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने अपानीमा उल्लेख छ।

‘स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्छ। म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु।’ अपानीमा उल्लेख छ। । मिसन’ ८४ लाई सफल बनाउने गरी मातहत कमिटीले पनि सोहीअनुरूप आफ्नो कमिटीको वार्षिक कार्ययोजना तयार पार्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन्। ‘वार्षिक कार्ययोजना तयार गर्दा आ–आफ्नो कार्यक्षेत्रको विकासको योजनासमेत बनाउनु पर्नेछ। प्रत्येक कमिटीले वार्षिक कार्ययोजनासँगै वार्षिक बजेट तयार गरी सोहीअनुसार काम अघि बढाउने अभ्यास थालनी गर्नुपर्दछ,’ अपानीमा उल्लेख छ। 

गत वर्षको वार्षिक कार्ययोजनाको समीक्षा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा गरिएको अवगत गराउँदै सोही समीक्षा प्रतिवेदनका आधारमा आगामी वर्षको वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने योजना पार्टीको रहेको उल्लेख गरिएको छ। परिषद्को बैठकमा अध्यक्षबाट प्रस्तुत र पारित राजनीतिक प्रतिवेदनका निष्कर्ष तथा महासचिवबाट प्रस्तुत संगठनात्मक कामको प्रतिवेदनका निष्कर्ष समेतका आधारमा आगामी वर्षको वार्षिक कार्ययोजना तयार गरी भदौ महिनाभित्र पठाइने अपानीमा उल्लेख गरिएको छ।  

एमालेको हालै बसेको सचिवालय बैठकले मिसन ’८४ लाई केन्द्रित गरी ठूलो संख्यामा केन्द्रीय सदस्यहरूको जिम्मेवारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ। अबदेखि निर्वाचन क्षेत्र समन्वय कमिटीका कामलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनु आवश्यक रहेको पनि अपानीमा उल्लेख छ।

अपानीका अनुसार भूगोलका ६६ जिल्ला र विशेष क्षेत्रका अधिकांश जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका ३/३ जिल्ला र गण्डकी तथा कर्णाली प्रदेशका १/१ जिल्लामा मात्र अधिवेशन हुन बाँकी छ। उपत्यका विशेषमा युवा विद्यार्थी विशेष जिल्लाको अधिवेशन हुन बाँकी छ। 

अपानीमार्फत अधिवेशन हुन बाँकी जिल्लाहरूलाई संगठन कमिटीमा रुपान्तरण गर्ने, अब गरिने सबै अधिवेशनहरू नवीकृत सदस्यताका आधारमा गर्ने, बाँकी सबै जिल्ला अधिवेशनहरू कात्तिक महिनाभित्र गरिसक्ने, पालिका, वडा, टोल र सो सरहका अधिवेशनहरू मंसिर महिनाभित्रै सम्पन्न गरिसक्ने निर्देशन गरिएको छ। पालिका अधिवेशनमा सल्लाहकार परिषद्बाट कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी प्रतिनिधित्व गराउने, कुनै पनि अधिवेशनमा पदेन प्रतिनिधित्वको संख्या निर्वाचित भईआएका प्रतिनिधिहरूभन्दा बढी हुन नहुने  व्यवस्था गर्न अपानीमार्फत निर्देशन गरिएको छ।  

पार्टीको अबको कार्य विभाजन मिसन ’८४ लाई केन्द्रित हुनुपर्ने छ।  अपानीका अनुसार भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा मिसन ’८४ लाई केन्द्रविन्दुमा राख्ने, कार्यविभाजनको तल्लो एकाइ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउनुपर्ने छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा सम्भव भएसम्म सम्बन्धित भूगोलका जिम्मेवारी तोक्नुपर्ने छ। 

सरकारमा किन ? 

नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकारको नाममा एमालेलाई एक्ल्याउने गरी छलफल अघि बढाउन थालेपछि त्यसका विरुद्धमा पार्टी अध्यक्ष ओलीको अगुवाईमा नयाँ राजनीतिक समीकरणको निर्माणको प्रयास अघि बढाइएको पनि अपानीमार्फत स्पष्ट पारिएको छ। अपानीमा कांग्रेस र एमालेबीचमा भएका ७ बुँदे सहमति उल्लेख गरिएको छ। 

राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन, आर्थिक गतिविधिलाई चलायमान बनाउने, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म अध्यक्ष ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने लगायतका सहमति अपानीमार्फत जानकारी गराइएको छ। 

दुई प्रमुख दलबीचको वर्तमान सहकार्य नयाँ सरकार गठनका लागि मात्र नभएर मुलुकको लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि भएको पनि ओलीद्वारा जारी अपानीमा उल्लेख छ। ‘अब केन्द्र सरकार र प्रदेश सरकारका तर्फबाट गरिने हरेक सकारात्मक कामलाई पार्टीपंक्तिका तर्फबाट जनताका बीचमा लगेर स्थापित गर्नुपर्छ। 

‘एमाले र कांग्रेस लोकतन्त्रका आधारभूत प्रश्नहरूमा विगतमा पनि एक ठाउँमा उभिदै आएका राजनीतिक दलहरू हुन्। जतिबेला लोकतन्त्रका आधारभूत प्रश्नहरूमा उनीहरू एक ठाउँमा उभिन पुगेका छन्, त्यतिबेला मुलुकको राजनीतिले सार्थक परिणाम पाउन सकेको छ।  अहिलेको सहकार्य पनि सोही दिशातर्फ केन्द्रित छ। अपानीमा भनिएको छ, ‘पार्टीपंक्तिले यस तथ्यलाई जनस्तरमा लगेर स्थापित गर्नुपर्छ। साथै अन्य सैद्धान्तिक र राजनीतिक प्रश्नमा हाम्रा बीचमा आआफ्ना मान्यता र विश्वास रहेका छन् भन्ने कुरामा स्पष्ट हुनु पनि पर्छ।’

के-के छ एमालेको अपानिमा ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.