एयर डाइनेस्टीको हेलिकोप्टरले भीएफआरको उल्लंघन गरेको देखियो : क्यान महानिर्देशक अधिकारी
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको ब ताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अधिकारीले खराब मौसम र बादलभित्र हेलिकोप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको बताए। खराब मौसमका कारण फर्कनका लागि देव्रेतर्फ मोड्नेक्रममा दुर्घटना भएको उनको भनाइ छ।
उनले खराब मौसम र बादलभित्र छिर्नका लागि कानुनले नै बर्जित गरेको जानकारी दिए। उनले दुर्घटनाको विस्तृत कारण सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले दिने जिकिर गरे। प्राधिकरणको प्रारम्भिक अनुसन्धानमा भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको उनले बताए।
बैठकमा समिति सदस्यहरूले हवाई सुरक्षाका विषयमा पटक-पटक छलफल भए पनि समस्या अन्त्य हुन नसकेको बताएका थिए। समिति सदस्य विमलेन्द्र निधिले उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त वा निलम्बन गरेरमात्रै हवाई दुर्घटनाको छानबिन गर्नुपर्ने बताए।
त्यस्तै अन्य समिति सदस्यहरूले नेपालको हवाई सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने गरि छिटोभन्दा छिटो कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।