‘घरज्वाइँ’को आदिवासी लय

‘घरज्वाइँ’को आदिवासी लय

अनिल बुढा मगर निर्देशित चलचित्र ‘घरज्वाइँ’ यतिबेला देशभर प्रदर्शनरत छ। यसअघि एक एकवटा छोटो चलचित्र र डकुमेन्ट्री बनाएका अनिलको यो पहिलो फिचर चलचित्र हो। चलचित्रमाथि आएका अधिकांश समीक्षा, प्रतिक्रियाहरू सकारात्मक पाइएकाले उनले सफल निर्देशकीय सम्भावनाको ढोका खोलेको प्रतीत हुन्छ। वास्तवमा यो एउटा तारिफयोग्य र बहसयोग्य चलचित्र बनेको छ।

चलचित्र ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल चलचित्रहरू जस्तै निर्माणको कोणबाट मनोरञ्जनको ‘रोलरकोस्टर’ दौडमा सहभागी हुनसक्ने थियो। यसको पटकथा, सम्पादन वा गति त्यतातर्फ नगएर पृथक लयमा बगेको छ। हतारमा दौडिरहेको नेपाली समाजको गतिसँग चलचित्रको सुस्त गति मिलेको छैन। तर, चलचित्रले दर्शकलाई अन्तिममा आफ्नो गतिमा लीन गराई छाड्छ। चलचित्रको सबैभन्दा सबल पक्ष यही हो। निर्देशकले व्यावसायिक रूपमा सफल चलचित्रका प्रचलित सूत्रहरू प्रयोग गरेका छैनन्, गर्न चाहेका पनि छैनन्।

चलचित्रले नायकत्वको भाष्यलाई पुनर्परिभाषित गरेको छ। मुख्यपात्र सोरो (दयाहाङ राई) हेर्दामा चलचित्रका नायक हुन्। तर, चलचित्रको नायकत्व चाहिँ उनले निभाएका छैनन्। सिङ्गो तकसेरावासी समाजलाई चलचित्रको नायकत्वको श्रेय जान्छ। चलचित्रको खलनायकत्व पनि हेर्दामा बिन्जुरी (मिरुना मगर)को बुवा दानबहादुर र हक लाग्ने लाहुरे भेना चैतेमा निहितजस्तो देखिन्छ। 

तर, खलनायकत्व एउटा समाजको आदिवासीतालाई मास्ने बाह्य (वैरुद्ध) तत्वहरूमा निहित छ। यहाँनेर एउटा कुरा सोचनीय छ। सोरोले सुरुमै घरज्वाइँ बस्न स्वीकार गरेको भए के हुने थियो ? जवाफ सिधा छ, चलचित्र यस्तो बन्ने थिएन, अथवा चलचित्र सुरुको एक तिहाइमा सकिने थियो। तकसेराको प्रथाजनित कानुनमा समाहित हुन नखोज्ने, नचाहने चलचित्रका नायक स्वयंको निर्णय पनि यस चलचित्रको खलनायकत्व हो। 

किनभने उनलाई घरज्वाइँ बस्नु ठीक कुरा होइन भन्ने लागेको छ। यो उनको निजी र अन्य समुदायबाट प्रभावित विचार हो। चलचित्रको अन्त्यमा आइपुग्दा उनी जन्मी, हुर्किएको समुदायमा घरज्वाइँ बस्नु कुनै लज्जाको विषय नभएर एउटा विशिष्ट र सर्वस्वीकार्य प्रथा रहेछ भन्ने कुरा उनी आफैंले मानेका छन्।

चलचित्रले रुकुमको तकसेरावासी मगर आदिवासी समुदायको प्रथाजनित कानुनको जीत भएको देखाएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। विश्व आदिवासी आन्दोलनको परिप्रेक्ष्यमा बारम्बार उठ्ने गरेको विषय हो, आदिवासी प्रथाजनित कानुन। हरेक आदिवासी समुदायको आफ्नै प्रथाजनित कानुन हुन्छ। अधिकांश समय संस्थापन अथवा राज्यको मूल कानुनसित यस्तो प्रथाजनित कानुनले सिङ्गौरी खेलिरहेको हुन्छ। 

प्रथाजनित कानुनलाई बाह्य विचारले पनि प्रभावमा पार्न खोजिरहेको हुन्छ। चलचित्रमा एउटा राजनीतिक विचारधाराले त्यहाँको प्रथाजनित कानुनमा निरन्तर प्रभाव जमाउन प्रयत्न गरिरहेको देखाइन्छ। तर, अन्तिममा तकसेरा समाजको संयन्त्रसँगै सबै कुराहरू चलायमान भएको निचोड देखाइन्छ। आदिवासी मुद्दाको पक्षमा यो एउटा सफल दस्तावेजीकरण हो।

नेपालमा मात्रै नभएर विश्व आदिवासी समाजमा बाह्य तत्वले निरन्तर हमला, हस्तक्षेप गर्ने गरेका छन्। विश्वव्यापीकरण, आधुनिकतावाद, उपभोक्तावाद, आदि सबैखाले बाह्य प्रभावहरूबाट कुनै पनि आदिवासी समाज मुक्त छैन। के उसोभए कुनै आदिवासी समाज आफ्नै संयन्त्रमा चल्न सम्भव छकि छैन? चलचित्रका अनुसार सम्भव छ। तर, सम्भव त्यतिबेला मात्रै छ, जतिबेला समाज आफैंले तत्तत् बाह्य हस्तक्षेपका विरुद्ध रैथाने प्रतिरोध गर्ने हिम्मत गर्दछ। चलचित्रले आदिवासी दृष्टिविन्दुमा आधारित रैथाने प्रतिरोधको पक्षमा वकालत गरेको छ।

चलचित्रमा निर्देशकले तकसेरा समाजको जीतको कथानक पस्किएर आदिवासीताको मूल्यको वकालत गरेका छन्। माथि चर्चा गरिएजस्तै तकसेरा समाज बाह्य हस्तक्षेपबाट मुक्त छैन। तर, उक्त समाजमा विद्यमान पात्रहरूले ती यावत् कुराहरूबाट प्रभावित हुनका बावजूद रैथाने प्रतिरोध गरेका छन्। उनीहरू आदिवासी स्वत्वको पक्षमा उभिन सफल भएका छन्।

जनयुद्धको प्रभाव क्षेत्रमा परिवर्तनको नेतृत्व गरेको प्रमुख राजनीतिक पक्षले उक्त समाजमा आफ्नो प्रभाव जमाउन जति नै प्रयत्न गरे तापनि सफल भएको देखिँदैन। यसबाट के राजनीतिक सन्देश जान्छ भने, नेपाली समाजको प्रगतिशीलतालाई समाजको मौलिकताभित्र नै खोज्न आवश्यक छ। अन्धविश्वास, उत्पीडन, रूढिवाद, विभेदजस्ता नकारात्मकताविरुद्ध समाज आफैंले लड्नु त अवश्य पर्दछ। तर, समाज परिवर्तन गर्ने नाममा उक्त समाजको विश्वास पद्धतिमा हस्तक्षेप गर्नु ठीक होइन भन्ने बहसको उठान चलचित्रले गरेको छ।

चलचित्रमा उत्पन्न भएका द्वन्द्वहरूको समाधान द्वन्द्वात्मक नभएर संवादात्मक छ। चलचित्रको सुरुदेखि अन्तिमसम्म तकसेरा समाजमा बारम्बार विवाद र छलफलहरू भएको देखाइन्छ। यसबाट बुझिन्छ, उक्त समाजले जस्तोसुकै परिस्थितिलाई पनि संवादमार्फत हल गर्ने गरेको छ। आदिवासी समाजमा विद्यमान कथ्य परम्परा, सामूहिक निर्णय, निरन्तर छलफलमा विश्वास र ज्ञान आदानप्रदानको विशेषतालाई चलचित्रको कथानकमार्फत प्रस्तुत गरिएको छ। चलचित्रले तकसेरा समाजको सामूहिक ज्ञान प्रणाली, एकता, व्यक्ति व्यक्ति बीचको अन्योन्याश्रित सम्बन्धलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।

आदिवासीतालाई बुझ्न आदिवासी दृष्टिविन्दु आवश्यक पर्दछ भन्ने सन्देश चलचित्रमा छ। जस्तो, तकसेरावासी मगर आदिवासी समाजबारे बुझ्नलाई न्यूनतम त्यहाँको इतिहास, संस्कृति, परम्परा, रीतिरिवाज, विश्वास पद्धति, आदिबारे बुझ्नुपर्ने हुन्छ। चलचित्रले बुझाउन खोजेको कुरा यही हो र चलचित्रलाई बुझ्न पनि यी कुराहरू बुझ्न जरुरी छ। उक्त समाजको मनोविज्ञानलाई नबुझेमा, बुझ्न नखोजेमा चलचित्रमा देखाइएका धेरै कुराहरू अस्वाभाविक लाग्न सक्छन्। 

तर, हामीले हाम्रो दृष्टिविन्दुलाई परिवर्तन गरेर तकसेरावासीको आँखाबाट हेर्यौं भने ती सबै कुरा स्वाभाविक लाग्छन्। यो चलचित्र विशुद्ध रूपमा तकसेरावासी मगर आदिवासी समुदायको कथा हो। उक्त समुदायको कथा भन्नका लागि चलचित्रमा तकसेराको भूगोल, संस्कृति, त्यहाँका बासिन्दाहरूको मनोविज्ञान, रहनसहन, जनजीविका, आदि पक्षहरूमा मिहिनताका साथ काम गरिएको छ। यस अर्थमा यो एउटा सफल आदिवासी चलचित्र बनेको छ।

चलचित्रमा गाडी, मोबाइल, टिभीजस्ता आयातित वस्तुहरू देखाइएको छैन। ह्विस्कीको कुरा गरिएको छ तर, त्यो पनि लाहुरेले खाएको मात्रै (उसले विदेशबाट ल्याएको हुनसक्ने) भनिएको छ, दृश्यमा देखाइएको छैन। कतिसम्म भने मोटरबाटो पनि देखाइएको छैन। यसो किन गरियो त ? दृश्यमा गाडी, मोबाइल, टिभी, मोटरबाटो, आदि देखाउँदा र नदेखाउँदामा के फरक पर्छ ? के यस्तो नदेखाएकोले चलचित्रको कथानक कमजोर भएको छ ? अथवा, नदेखाएर निर्देशकले के बुझाउन खोजेका छन् ? वास्तवमा चलचित्रमार्फत उनले तकसेरावासीले तय गरेको आदिवासी लयको वकालत गरेका छन्। मानवशास्त्री डा.मेरी डेसेनले भनेजस्तो ‘आदिम हुने, कि मौलिक हुने ?’ भन्ने प्रश्नमा निर्देशकले मौलिक हुनेतर्फ आफ्नो पक्षधरता स्पष्ट पारेका छन्।

चलचित्रमा मुख्य कलाकारहरूको मनोवैज्ञानिक अभिनय देख्न पाइन्छ। पात्रहरूको मनोविज्ञान दर्शकहरूको मनमश्तिष्कमा परावर्तन हुन्छ। भिसेरल अभिनय भनेको यही हो। कुनै पात्रले नबोलिकन उसले के सोचिरहेको होला भन्नेसम्म दर्शकहरूले अनुभूत, अनुमान गर्नसक्ने अभिनयलाई भिसेरल अभिनय भनिन्छ। यो नितान्त निर्देशकीय क्षमता, पात्रता, कलाकारको अभिनय क्षमतामा भरपर्ने कुरा हो। ‘आन्द्राभुँडी थाहा पाउनु’ भन्ने उखानजस्तै चलचित्रमा सोरो, बिन्जुरी र दानबहादुरको पात्रता निभाएका कलाकारहरू क्रमशः दयाहाङ राई, मिरुना मगर र शिशिर बाङ्देलले सफल मनोवैज्ञानिक अभिनय गरेका छन्।

चलचित्रमा पात्रहरूले तय गरेको चरित्र यात्रा बडो सराहनीय छ। यसमा पनि लामो समय सहरमा बसेर फर्किएको मुख्यपात्र सोरोमा आएको भौतिक, मनोवैज्ञानिक रूपान्तरण महत्त्वपूर्ण छ। उनमा र अन्य पात्रहरूमा आएको परिवर्तन समाजसापेक्ष छ। यसरी हेर्दा, पात्रहरूले बाहिरदेखि भित्रको यात्रा तय गरेका छन्। अर्थात्, अन्तिममा सबै जना तकसेरा समाजको मौलिकतामा समाहित हुन पुगेका छन्।

लामो समय शहरमा बसेको सोरो आफ्नो जन्मस्थान तकसेरा फर्केर शिक्षक बन्छ। यसको ठीक विपरीत, जनयुद्ध र जनआन्दोलनपछि गाउँ झन्झन् रित्तिँदै गएको छ। भूमण्डलीकरणको प्रभावसँगै अनेक कारणहरूले गाउँ खाली भइरहेको यथार्थका बीच सोरोभने गाउँ फर्किनुको विशेष अर्थ छ। यसलाई निज पात्रको वैयक्तिक छनौटको विषय मात्रै मानियो भने सोरो पात्रको आयाम संकुचित हुन जान्छ। 

सहरको रहनसहनमा अन्तरघुलित, अवसर र सुविधाहरूको लाभमा बसिरहेको एक शिक्षित युवा आफ्नै गाउँ फर्किनु, स्थायी रूपमा गाउँको सेवा गर्न तयार हुनु र उसको व्यक्तित्व मौलिकतातर्फ रूपान्तरित हुँदै जानुले सोरोको पात्रतामा निहित सांस्कृतिक जागरणको चेतना प्रतिबिम्बित हुन्छ।

चलचित्रमा सत्र वर्षअघिको तकसेरा समाजलाई देखाइएको छ। निश्चित रूपमा तत्कालीन तकसेरा र आजको तकसेरामा धेरै भिन्नता हुनसक्छ। तर, किन निर्देशकले त्यतिबेलाकै समाजलाई चलचित्रमा उतार्न चाहे भन्ने मुख्य प्रश्न हो।

सत्र वर्षअघिको तकसेरा समाजले बचाइराखेको मौलिकतालाई आजको तकसेरा समाजले उसैगरी जोगाइराखेको छकि यसमा ह्रास आएको छ ? के थप सोरोहरू तकसेरा फर्किए ? या त अवसरको खोजीमा अरु युवाहरूले पनि गाउँ छोडे ? के तकसेराका बिन्जुरी र सम्झनाहरू अझै पनि लुंगी लगाएरै भलिबल खेल्छन् ? के तकसेराका युवाहरू उसैगरी ऊन कात्न रातिराति भेला हुन्छन् ? तकसेरा र त्यहाँ बस्ने मगर आदिवासीहरूको रैथाने प्रतिरोध र मौलिकताको यात्रा अहिले कहाँ पुग्यो ? के तकसेरावासीको आदिवासी लय अहिले पनि उस्तै छ ? चलचित्रले यी यावत प्रश्नहरू हामीलाई छोडेको छ। बिन्जुरी र सोरोले बच्चाको पनि आफ्नोजस्तै मौलिक नाम राखे होलान् त ? एकपटक उनीहरूलाई भेट्न तपाईं हामी तकसेरा पुग्ने होकि ?

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.