सडक किनाराका बिचरा रूखहरू !
सडक छेउछाउमा रोपिएका बिरुवाहरूलाई रोपेपछि समयमा गोडमेल गर्नुपर्छ, नियमितजस्तो पानी हाल्नुपर्छ भन्ने सोच अल्पकालिक देखिन्छ। त्यसले नियमितता पाएको कतैतिर पनि देखिन्न।
आधुनिक समयका सहरबजारलाई सुन्दर बनाउन संसारका अधिकांश मुलुकमा सरसफाइयुक्त चौडा सडक, आवश्यकताअनुसार ट्राफिक बत्ती तथा पैदलयात्रीलाई सुविधा पुग्ने किसिमको सडकपेटीको साथै सौन्दर्य अभिवृद्धिलाई लक्ष्य गरेर सडक वरपर बनाइएका पार्क, उद्यान, फूलबारीको त्यत्तिकै अहम् योगदान रहेको हुन्छ। डिभाइडर, आइल्यान्ड एवं सडकछेउमा हुने अनेक प्रकारका रूखबिरुवाहरूको उचित व्यवस्थापनले एकातिर वातावरणलाई स्वच्छ र सौन्दर्ययुक्त बनाउन सघाउ पुर्याउँछ भने अर्कोतिर कार्बन–डाइअक्साइड न्यूनीकरणमा समेत योगदान दिइरहेको हुन्छ। बढ्दै गइरहेको कंक्रिट जंगलबाट उत्सर्जित हुने विषालु कार्वनको मात्रालाई केही न केही मात्रामा घटाउन सडक छेउछाउ र वरपरका उद्यान एवं पार्कहरूको उल्लेख्य हात हुने कुरालाई विश्वभर स्वीकारिएको छ। त्यसैले हिजोआज सडक वरपरको क्षेत्रमा के कसरी हरियाली बढाउन सकिन्छ भन्ने कुरामा एक किसिमले भन्ने हो भने विश्वभर प्रतिस्पर्धा नै चलिरहेको छभन्दा फरक पर्दैन।
वरपरको वातावरणलाई स्वच्छ बनाउन रूखहरूको अत्यधिक महत्व छ। विविध जातका वनस्पतिले भरिएका उद्यान र वनवाटिका, जंगल जे छ, त्यसलाई स्याहारसम्भार गर्ने तथा नभएको ठाउँमा व्यवस्थित ढंगले वनवाटिका, उद्यान, पार्कहरूको निर्माण गरेर आफ्नो गाउँ, बस्ती, सहरबजारलाई आकर्षक तुल्याउन पनि यिनले ठूलो भरथेग गर्छन्। हरिया रूखबिरुवाले कार्बन डाइअक्साइड सोस्छन् र चाहिँदो मात्रामा प्राणवायु (अक्सिजन) दिन्छन्। हरियालीयुक्त वातावरणमा नै मानवलगायत प्राणीजगत् स्वस्थ रहन सक्छ।
सडक छेउछाउका बोटबिरुवा एवं बागबगैंचाले त्यस देशको प्रतिनिधित्व गर्छ। स्याहारसम्भार पाएका छन् कि बेस्याहार, त्यसैबाट जो कोहीले त्यस मुलुकको हैसियत र अवस्थाको आकलन गर्छन्।
यस आलेखमा केही चर्चा गर्ने क्रममा सडक छेउछाउ लगाइने गरेको रूखबिरुवाको विषयमा केही विचारविमर्श हुनेछ। नेपालको सन्दर्भमा पहिलेको युगमा के कस्ता मार्गहरू थिए ? यकिन साथ भन्न प्रमाणहरूको अभाव छ। लिच्छविकालका केही अभिलेखमा पथ, महापथ, रथ्या, महारथ्या, मार्गजस्ता शब्दहरूको उल्लेख शिलालेखहरूमा आएको छ। तिनको निरन्तरता पछि पनि हुँदैरह्यो। मध्यकालका राजा रुद्रदेवले शासन गरेको बेला ने.सं. २९२ (वि.सं. १२२९) तिर मार्गोमार्जन गोष्ठीको उल्लेखले तिनताक जे जस्ता सडक, बाटोहरू थिए, तिनको समयसमयमा सरसफाइको व्यवस्था हुने गरेको संकेत पाइन्छ। त्यसभन्दा झन्डै पाँच सय वर्षअघि लिच्छवि राजा नरेन्द्रदेवको समयको अनन्तलिंगेश्वरको शिलालेखमा पनि बाटो मर्मतसम्भार एवं सरसफाइको चर्चा आएको छ। यसबाट तिनताका भएका बाटोघाटोहरूको सुग्घरसफाइमा ध्यान गएको देखिन्छ।
प्रवहण (गाडा) गोष्ठी, रथ्या (रथ हिँड्ने सडक), महारथ्या, पन्था, महापथ, हस्तिमार्गको चर्चा पुराना कागजातहरूमा छिटपुट रूपमा पाइन्छन्। लिच्छविकालका राजा नरेन्द्रदेव (वि.सं. ७३६–७५०) ले हिजोआज गैह्रीधारा भनिने ठाउँमा ढुंगेधारा बनाइसकेपछि त्यसको सुरक्षाका लागि त्यस भेकमा बग्गी, गाडा आदिलाई आवतजावतमा रोक लगाएको चर्चा पाइन्छ। तिनताक प्रवहण गोष्ठीले बाटोघाटोको नीतिनियम बनाउने काम गर्दथ्यो कि भन्ने अनुमान हुन्छ। लिच्छविकालमा ग्राम, द्रङ्गको भेद पाइन्छ, जसले बस्तीको स्वरूपलाई बुझाउँछ। गैह्रीधारा त्यसबेला गाउँ थियो। त्यो गाउँलाई ‘जोञ्जोन्दिङ ग्राम’ भनिन्थ्यो। नजिकै नीलीशाला थियो। त्यही ‘नीलीशाला’ शब्द अपभ्रस हुँदै आजभोलि नक्साल बनेको छ। नयाँ ढुंगेधारा बनाएको ठाउँमा ‘लिङगवल अधिकरण’लाई पस्न निषेध गरिएको चर्चा पाइन्छ। भर्खरै भव्य रूपको ढुंगेधाराको निर्माणकार्य सम्पन्न भएकाले हुनुपर्छ। त्यस ठाउँमा गएर लिङ्वल अधिकरणले कर नउठाओस् भन्ने मत देखिन्छ।
उहिले बाटोघाटोको वर्गीकरण भन्नु नै गाउँबस्तीतिर गोरेटो, जहाँ कमसेकम एकदुई जना मानिस ओहरदोहर गर्न सक्छन् र घोडेटो, जहाँ घोडा ओहरदोहर गर्न सक्छन्, नै मुख्य रूपमा थियो। असन, इन्द्रचोक, मंगलबजार, देवपाटन, भक्तपुर दरबार क्षेत्र, पनौती, साँखु, कीर्तिपुरजस्ता प्राचीन बस्तीमा बग्गीसम्म दोहोरो हिँड्न सक्ने गरी धुलेसडक तथा कहीँ प्रस्तर फलक छापेर आकर्षक बनाइने गरेको कुराको प्रमाण अहिलेसम्म पनि ती ठाउँहरूमा केही न केही देख्न–सुन्न पाइन्छ।
कतिपय सडक छेउहरूमा केही यस्ता ‘डेकोरेटिभ’ बिरुवाहरू लगाइएका छन्, तिनलाई नियमित र उचित ढंगले काँटछाँट गर्ने हो भने सडकको आकर्षण बढाउन काम लाग्छन्। तर सरकारी सत्प्रयास नहुँदा यसो हुन सकिरहेको छैन।
नेपालमा आधुनिक सडकको विकास अघि सर्वसाधारणका लागि अहिलेको राजमार्ग झैं चर्चित मार्ग ‘हुलाकी मार्ग’को नामले चिनिन्थ्यो। त्यस मार्गमा घोडासम्म सजिलै ओहरदोहर गर्न सक्थे। नेपालको पूर्वको झापादेखि पश्चिमी सिमानासम्म वारपार गर्न सक्ने गरी भएका परम्परागत यो मार्गको केही परिमार्जन नेपाल एकीकरणको अभियानको सिलसिलामा हुँदै गयो। पछि त त्यही मार्ग काँगडासम्म पनि पुगेको थियो। तराई–मधेस–पहाड छोएको यही मार्गले पछि गएर हुलाकी मार्गको रूप लियो। सरकारी कागजात र चिठीपत्र, मसलन्दहरू छिटोछरितोसँग पुर्याउनका लागि तिनको प्रयोग हुन्थ्यो। ठाउँठाउँमा हुलाकीहरू आफ्नो जिम्माको काममा तैनाथ भएर बस्थे। केही परिवर्तनसहित त्यही हुलाकी मार्ग वि.सं. २०६५ देखि हुलाकी राजमार्गको अवधारणामा निर्माण कार्य अघि बढिरहेको छ। वि.सं. २०७४ सम्म यसको सम्पूर्ण निर्माणकार्य सम्पन्न गरिने लक्ष्य भए पनि अझैसम्म पूरा हुन सकेको छैन।
वि.सं. २००७ सालअघि राजा–महाराजाको दरबारदेखि मुख्य–मुख्य मठ–मन्दिर, गुम्बा–विहारमा पुग्ने बाटोघाटोहरू केही फराकिला बनेका थिए। हनुमानढोका दरबार, नारायणहिटी दरबार, थापाथली दरबारबाट पशुपतिनाथ मन्दिर, बूढानीलकण्ठ, स्वयम्भू, साँखु वज्रयोगिनी, वज्रवाराही मन्दिर पुग्ने केही फराकिला धुले सडकहरू बनेका थिए। त्यसैगरी, काठमाडौंबाट थानकोटसम्म पुग्ने सडक फराकिलै भएको अनुमान गर्न गाह्रो छैन। जसको कारण राणाकालमा बोकेरै भए पनि कार ल्याइदा थानकोटदेखि काठमाडौंसम्म सजिलैसँग ल्याएको उल्लेखहरू पाइन्छ। श्री ३ जंगबहादुर राणाले आफ्नो प्रधानमन्त्रीत्वकालमा चार हजार रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको गोकर्ण जंगललाई चारैतिरबाट पर्खाल लगाई सुरक्षित पार्नुका साथै थापाथलीदेखि गोकर्णसम्म जाने परम्परागत बाटोलाई केही फराकिलो र व्यवस्थित तुल्याएका थिए।
वि.सं. २००७ को प्रजातन्त्रअघि नेपालमा ३७६ किलोमिटर सडक भन्नलायक बाटोघाटो थियो भने अहिले झन्डै एक लाख किलोमिटरको हाराहारीमा कच्ची, पक्की, धुले भए पनि सडक सञ्जाल विस्तार भइसकेको छ। तर बाह्रैमास सञ्चालन हुने सडक भने ११ हजार किमिको हाराहारीमा मात्र छन् भन्ने सरकारी आँकडा रहेको छ। सडक सञ्जाललाई भरपर्दो, सुरक्षित, गुणस्तरीय बनाउन गर्नुपर्ने कुराहरू प्रशस्त बाँकी छन्। अहिलेको युगमा सडक सञ्जाल नै विकासको प्रमुख कडी हो भनिदिँदा फरक पर्दैन। अझ हाम्रोजस्तो भूबनोट भएको देशमा त सडकको अरू महत्व छ। साँच्चै भन्दा हिजोआज सडक नै राजनीतिको आधारस्तम्भ हुन गएको छ, आर्थिक तरक्कीको आधारशिला बन्न पुगेको छ।
नेपालमा आधुनिक सडकको परिकल्पनाको बीजारोपण वि.सं. १९५७ को हाराहारीतिर सुरु भयो टुँडिखेललाई चारैतिरबाट घुम्न मिल्ने गरी पहिलो चरणमा तथा दोस्रो चरणमा राणा प्रधानमन्त्री एवं उनका भाइछोराहरूको दरबारदेखि अर्कोे दरबारसम्म पुग्ने गरी निर्माण भएका बाटोघाटो त्यसबेलाका नमुना सडकहरूभन्दा हुन्छ। हनुमानढोकाबाट झन्डै १२ किमि उत्तर–पूर्वमा जगत्जंग राणाले वि.सं. १९३६ तिर निर्माण गरेका मनोहरा दरबारसम्म पुग्न सक्ने गरी ऊबेला रथमार्ग निर्माण गरिए। वि.सं. १९९० को महाभूकम्पपछि निर्माण भएको जुद्धसडक र त्यस वरपरको घरहरूले आधुनिक शैलीलाई सर्वसामान्यमा समेत चासो पैदा गरिदियो। विकासको आकांक्षालाई बढाउँदै लग्यो।
सडकका रूखबिरुवा भनेर तिनलाई बेवारिस नबनाऊँ, सडक किनाराका बिचरा रूखबिरुवा भन्ने भाव कसैको मनमा पनि नआओस् त्यसरी काम गरेर देखाऔं।
सडकको मापदण्डअनुसार मात्रा मिलाएर ग्राभेल एवं कालोपत्रद्वारा नेपालमा सडक निर्माणको थालनी भारतीय सहयोगमा निर्माण भएको त्रिभुवन राजपथदेखि भएको हो। वि.सं. २००९ मंसिर ७ गतेको शुभसाइतमा शिलान्यास भई प्रारम्भ भएको सडक झन्डै दुई वर्षमै निर्माणकार्य सकिए पनि त्रिभुवन राजपथबाट ढुवानी सेवा सञ्चालन हुन चाहिँ झन्डै अरू पाँच वर्ष कुर्नु पर्यो।
नेपालको पूर्व–पश्चिमीका कतिपय क्षेत्रमा पुग्न भारतीय भूमि नभईकन जान नसकिने अवस्थालाई वि.सं. २०१९ वैशाख १ गते उद्घाटन गरी निर्माण सम्पन्न गरिएको महेन्द्र राजमार्गले भारतीय भूमि टेक्नै नपर्ने गरी आवतजावत गर्न सुगम बनाइदियो। त्यतिमात्र होइन, यसले नेपालको दक्षिणतर्फको तराईका भूभागका साथै छिमेकी मुलुक भारतसम्म पुग्न पनि सजिलो भयो। नेपालको उत्तरतर्फ रहेको छिमेकी मुलुक चीनसँग सडक मार्गबाट जोडिन चाहिँ वि.सं. २०२४ सम्म पर्खनु पर्यो। अरनिको राजमार्गले त्यसलाई सम्भव तुल्यायो।
महेन्द्र राजमार्ग पूर्व–पश्चिम राजमार्गको नामबाट पनि प्रसिद्ध छ। अहिलेसम्म नेपालमा बनेका राजमार्गहरूमा सबैभन्दा लामो राजमार्ग पनि यही हो। यो झन्डै ११ सय किमि लामो छ। पूर्वमा काँकडभिट्टादेखि पश्चिममा महेन्द्रनगरसम्म पुग्छ। पूर्वदेखि पश्चिमका उत्तरदेखि दक्षिणका नेपालीलाई एकसूत्रमा बाँध्न यो राजमार्गले खेलेको भूमिकाको बखान गर्न सकिन्न। यस राजमार्गको विकाससँगै मुलुकले उद्योग, वाणिज्य र व्यापारको क्षेत्रमा क्रमैसँग पहिलेको भन्दा द्रुततर गतिले छलाङ मार्दै गएको हो भन्न हिच्किचाउनु पर्दैन। नेपालको पूर्वदेखि पश्चिमसम्म पर्ने कुनै वेलाका अनकन्टार ठाउँहरूलाई पनि व्यापारिक केन्द्रका साथै चहलपहलको प्रमुख केन्द्र बनाउन यो राजमार्ग सफल भयो। मेचीनगर, दमक, इटहरी, हेटौंडा, भरतपुर, बुटवल, महेन्द्रनगर, बिर्तामोड, लाहान, बर्दिबास, चन्द्रनिगाहापुर, निजगढ, पथलैया, रत्ननगर, कावासोती, लमही, कोहलपुर, अत्तरियाजस्ता ठाउँहरूले काँचुली फेर्ने अवसर प्राप्त गर्यो।
यही राजमार्गलाई आधार बनाएर बिर्तामोड, इटहरी, लाहान, बर्दिबास, हेटौंडा, भरतपुर, बुटवल, गोरुसिंगे, भालुबाङ, लमही, कोहलपुर, अत्तरिया हुँदै उत्तर–दक्षिणतिर अनेक मार्गको सञ्जालले गति लिइरहेको कारण स्थानीय बासिन्दाको दैनन्दिनीलाई सुगम तुल्याउन निकै सफल हुने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेसम्म करिब ८० विभिन्न राजमार्ग कुनै निर्माणको चरणमा त कुनै समाप्तिको दिशातिर छन्।
पाँचथरको चियोभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटसम्मको झन्डै १,८७९ किमिको मध्यपहाडी लोकमार्ग नेपालको अर्कोे महत्वपूर्ण राजमार्गको सञ्जाल हो। यसले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफबगर तथा बैतडीको पाटनलाई आधुनिक सहरको रूपमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। वि.सं. २०६५ देखि अनुमोदित भई त्यसैको तीन वर्षभित्रमा ट्र्याक खोलिसक्ने संकल्पसाथ सुरु भएको यो राजमार्गले सोह्र वर्ष बितिसक्दा पनि अझै पूर्ण रूप लिइसकेको छैन।
नेपालमा वि.सं. २०३१ देखि सडक यातायातसम्बन्धी सार्वजनिक सडक ऐन बने पनि सडकलाई हरियाली बनाउने सोच त्यसवेला रहेको थिएन। नेपालको संविधानलाई अनुकूल बनाउन केही नेपाल ऐनमा २०७५ मा संशोधन भएपछिमात्र सडकको दायाँबायाँ रूखबिरुवा रोप्न प्रोत्साहित गरिएको हो। ऐनमा व्यवस्था भएअनुसार रूख, बिरुवा रोप्ने जिम्मा सडक विभाग, प्रदेश सरकार, गाउँपालिका वा नगरपालिकालाई दिएको छ। त्यसको रेखदेख एवं संरक्षणको कर्तव्य भने सम्बन्धित गाउँपालिका वा नगरपालिकालाई दिएको छ। तर सडक विभागले चाहेमा तोकिएबमोजिम कुनै व्यक्ति वा संस्थाद्वारा रेखदेख एवं संरक्षण कार्य गर्न सक्ने व्यवस्था त्यहाँ गरिएको पाइन्छ। तर जति व्यवस्थित ढंगबाट सडक छेउछाउका रूखबिरुवाहरूको स्याहार–सम्भार र व्यवस्थापन हुनुपथ्र्यो, त्यो देख्न पाउनु दुर्लभजस्तो छ।
यद्यपि सहरी क्षेत्रका केही सडक खण्डहरूलाई हरियाली बनाउने कामको सुरुआत वि.सं. २००७ सालअघि नै सुरु भएको पाइन्छ। काठमाडौंको ज्ञानेश्वरचोकदेखि गौशालाचोकसम्मको सडकमा वि.सं. २०३८ ताका सडकको चौडाइ विस्तार गर्नुअघि सडकको दुवैतर्फ स्थानीय जातको मसला, काइयो र कल्की रूखहरूले हराभरा थियो। त्यसबेला सडकको दायाँबायाँ बिजुलीका खम्बा र तारहरू नभएकाले रूखहरूले बढ्ने मौका पाएका थिए। त्यसैगरी दायाँबायाँ घरहरू नभएकोले पनि कहीँ कतै बाधा नपुग्दा तिनले राम्ररी बढ्ने–हुर्कने मौका पाए। गौशालाचोकदेखि भुवनेश्वरी मन्दिरको चोकसम्म दुवैतर्फ अजंग–अजंगका मसालाका रूखहरू श्री ३ चन्द्रशमशेरले बेलायत जाँदा उहीँबाट त्यसको बिरुवा ल्याएर लगाएको सम्झने बूढापुराना केही वर्षअघिसम्म भेट्न पाइन्नथ्यो।
यस्तै, हराभराको पूर्वस्मृतिबाट लोभिएर होला, वि.सं. २०२४ मा पुरानो बानेश्वरचोकदेखि चाबहिलचोकसम्म दुवैतर्फ मसला (युक्लप्टस्)का रूख रोपिए। त्यसबेला सुनिन्थ्यो– सडकलाई हरियालीले शोभायामान तुल्याउन र शीतल हावाका लागि तात्कालिक बागमती अञ्चलाधीश सरदार विष्णुमणि आचार्यले कार्यकाललाई सम्झनालायक बनाउन त्यो कार्य सम्पन्न गरेका थिए।
रूख बढ्दै गएपछि सडकको शोभा बढ्दै गयो, गर्मीमा शीतल पनि भयो तर आठ–दस वर्षमै ती रूखहरू यसरी अग्लिएर गए कि झन्डै ७०–८० फिट अग्ला भए। काठमाडौंमा चैत्र–वैशाखमा आउने हावाहुरीबाट रूखलाई बचाउन नसकिने, दायाँवायाँको घरहरूका बासिन्दाहरूमा कुन बेला के दुर्घटना हुने हो भनेर चिन्ता लिएर बस्नुपर्ने अवस्थाको सिर्जना भयो।
बिजुलीको तारलाई बेला–बेलामा चुडाल्नेदेखि सडकका घरभवनहरूको शत्रु नै जस्तो बन्न पुगे ती रूखहरू। त्यतिमात्रै होइन, वरपरको पानीको मुहानहरू पनि सुकाइदियो। सडकछेउका केही इनारहरू सुके। विभिन्न नकारात्मक पक्ष औल्याउँदै वि.सं. २०४० सालतिर मसलाका ती सबै रूखलाई जरैदेखि काटेर निमिट्यान्न पारियो। अहिले त्यहाँको सडकपेटीमा विभिन्न जातका बिरुवा लगाइएका छन्। शमी, कपुर, आर्कोेरिया, देवदार, ज्याकाराण्डा, रबर, फिसटेल पाम, अशोक, कल्कीजस्ता सडक पेटीमा लगाउन नमिल्ने रूखका बिरुवाहरू हिजोआज काठमाडौं वरपरका सडक, आइल्यान्ड र डिभाइडरहरूमा लगाएको देखिन्छ। त्यै पनि ५–६ फिटको फरकमा। जबकि ती बिरुवाहरू हुर्कंदै–बढ्दै गए ४०–५० फिटदेखि सय–डेढ सय फिटको अग्ला हुन्छन्। यसैले अलिकति रूख बढ्यो कि बिजुलीको तारमा छुने भएकाले वर्षैपिच्छे छाँट्दाछाँटदा छन्द न बन्दका बिरूप हुन पुग्छन् ती रूखबिरुवा।
सडकपेटी, आइल्यान्ड र डिभाइडरमा फूल फुल्ने, नझ्यांगिने खालका स्थानीय जातका करवीर, बोगनबेली, जाई, पारिजात, असारेजस्ता अग्लो नहुने बिरुवाहरू लगाए हुनेथियो। तर यो कसले सोच्ने ? जहाँ जे पाइयो त्यही रूखबिरुवा लगाउँदा एकातिर समय, मेहनत र पैसाको नोक्सान हुने अर्कोेतिर रूखबिरुवाकै छनोटसम्म गर्न नजान्नेमा परिन्छ भन्ने सोच कतै देखिँदैन। हुँदाहुँदा कुन वातावरणमा हुर्कने बिरुवा कहाँ लगाउने भन्ने ख्याल गरिएको देखिन्न। काठमाडौंको सडक छेउछाउमा निकै अग्ला हुने देवदार, बर, पीपल, रबर, फिसटेल पाम, कपुर, शमी, धुपीका रूखहरू बग्रेल्ती लगाएको देखिन्छ। ती हुर्कंदै गए भने निकै अग्ला हुन्छन्। देवदार त डेढ, दुई सय फिटसम्मको हुन सक्छ।
चीन सरकारको सहयोगमा निर्मित २७ किलोमिटरको चक्रपथले काठमाडौं र ललितपुरका केही बजार र बस्ती क्षेत्रलाई परिक्रमा गरेको छ। कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी र ललितपुरको सातदोबाटोलाई समेटेको छ। वि.सं. २०३४ मा निर्माण कार्यसम्पन्न भएको चक्रपथले पनि हरियालीलाई प्रोत्साहन दिइएको पाइन्छ। धर्म–संस्कृति एवं परम्परामा महत्व दिइएका बर, पीपल, पाखर, नीम, अमला, गुल्लरजस्ता वृक्षहरूलाई वनवाटिका, उद्यानमा महत्वका साथ लगाउनु, हुर्काउनु ठीक छ। तर ती वृक्षलाई सडकको दायाँ–बायाँ लगाउँदा धेरै ठाउँमा सडकमा हिँड्ने वटुवा एवं वाहनलाई अप्ठेरो परेको देखिन्छ।
सडक छेउछाउमा रोपिएका बिरुवाहरूलाई रोपेपछि समयमा गोडमेल गर्नुपर्छ, नियमितजस्तो पानी हाल्नुपर्छ भन्ने सोच अल्पकालिक देखिन्छ। त्यसले नियमितता पाएको कतैतिर पनि देखिन्न। वर्षात्मा भर पर्नुपर्ने कारणले गर्दा पनि सडकको शोभा बढाउनुपर्ने रूखबिरुवाहरू आफैं निस्तेजजस्ता देखिन्छन् त्यो सबैले महसुस गरेको हुनुपर्छ। कतिपय सडक छेउहरूमा केही यस्ता डेकोरेटिभ बिरुवाहरू लगाइएका छन्, तिनलाई नियमित र उचित ढंगले काँटछाँट गर्ने हो भने सडकको आकर्षण बढाउन काम लाग्छन्।
तर त्यसो नगर्दा ती पनि बिरूप बन्न पुगेको पाइन्छ। सायद यी सबै हुनाको कारण न सडक विभाग न स्थानीय नगरपालिका कतै पनि त्यसको राम्रो प्रबन्ध छैन। आआफ्नो वडाभित्र पर्ने सडक छेउका रूखबिरुवाहरूको जिम्मेवारी वडा–वडालाई दिएर तिनको आवश्यक रेखदेख, गोडमेल, नियमित स्याहार–सम्भार गर्ने छुट्टै एकाइको स्थापना गरी बगैंचाको काम गर्न सिपालु मानिसहरूलाई रोजगारी दिएर वा ठेक्कामा दिएर काम गरे अहिले सडक छेउछाउका बिरुवाहरूको जसरी बिजोग भइरहेको छ त्यो देख्नु पर्ने थिएन।
कतिपय सडकका दायाँ–बायाँका रूखहरूले बिजुलीका तार छोइरहेका देखिन्छन्। तिनलाई समयमै आकर्षक ढंगले काँटछाँट गर्ने हो भने तिनै रूखबिरुवा शोभादार बन्न सक्छन्। त्यो कुरा नजान्दा भएका सडकका रूखहरूलाई यसरी हाँगाबिँगा मुठारिन्छ कि ती बिरूप बन्न पुग्छन्। यदि त्यसरी मुठार्ने हो भने किन रुखबिरुवाको रहर गर्नु ? किन रुखबिरुवा रोप्नु ?
सडक छेउछाउ कहीँकहीँ महँगा कार्पेट दुबो (बरमुडा मेक्सिकन ग्रास) लगाएको देखिन्छ, खासगरी विदेशी पाहुनाहरू आउँदा। एकपटक बिछ्याएपछि फर्केर कसैले स्याहार–सम्भार नगर्दा ती महँगा घाँस केही समयपछि जंगली बनेको देखिन्छ। चीनका राष्ट्रपति सी जिङपिङ २०७६ मा नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदा काठमाडौंको तीनकुनेको खाली जग्गालाई हराभरा बनाउन रातारात कार्पेट ग्रास बिछ्याइयो, रूखहरू रोपियो। त्यसले झट्ट हेर्दा राम्रो देखियो। त्यस कार्यमा निकै खर्च पनि गरियो होला।
कुनै व्यवस्थित ढंगबाट पछिसम्मलाई हुने लक्ष्यले काम नगरिएको कारण बोटबिरुवा लगाउने राम्रो अवसर आउँदा पनि भद्रगोलसँग जे पायो त्यही बिरुवाको कारण त्यो ठाउँलाई जति सुन्दर बनाउन सकिन्थ्यो त्यसबाट बञ्चित भयौं। अहिले त्यहाँ लगाइएका कार्पेट घाँसहरूको बिजोग भइरहेको छ। यहाँका रूखबिरुवाहरू सडक विभागले स्याहार्ने हो कि ?
काठमाडौं महानगरपालिकाले हो ? या यसै बेवारिस रहने हो ? सबै मौन धारण गरेका छन्।
सडक छेउका रूखबिरुवा, सार्वजनिक बगैंचा, उद्यानहरूलाई सधैं आकर्षक र हराभरा तुल्याउन कुनै न कुनै निकायले जिम्मा लिनु आवश्यक छ। अहिलेसम्मको अवस्थालाई हेर्दा व्यवस्थित ढंगले कसैले पनि जिम्मा लिएको देखिन्न। कसैले जिम्मेवारीपूर्वक यो मेरो जिम्माको काम हो भनेर सम्झेको भए ठाउँठाउँका सडक छेउका रूखहरूमा बिरुवा रोप्दा राखिएको ट्रिगार्ड १०–१५ वर्ष बितिसक्दा पनि बिरुवाको गलगाड झैं बनेर रहन्थेन। त्यसले बिरुवाको बेवारिसपनालाई झल्काउँदैन ? यस्तो दृश्यहरू हामी ठाउँठाउँमा देख्न सक्छौं। त्यसैगरी कतिपय ठाउँहरूमा रूखमा किला ठोकेर अनेकथरी साना–ठूला सूचनापट्टहरू राखेको देखिन्छ। गर्मीको बेला पानी नपाएर बोटबिरुवाहरू सुकेका हुन्छन्। त्यसलाई कुनै पनि हालतमा राम्रो काम भन्न सकिँदैन। यसबारेमा कसले सोचेर काम गरिदिने होला !
सडक छेउछाउका रूखबिरुवा, सार्वजनिक उद्यान, बागबगैंचाहरूको भव्यतालाई कायम राखिराख्ने हो भने दसैंतिहारअघि एकपटक र जेठ–असारमा वडा–वडाबीच ज–जसको जिम्मामा त्यस्ता सार्वजनिक स्थलका बागबगैंचा, उद्यान र सडकका बोटबिरुवाहरूको जिम्मेवारी छ, उनीहरूबीच प्रतियोगिताको माध्यमबाट प्रतिस्पर्धा गराएर पुरस्कृत गर्ने परिपाटीको विकास अपरिहार्य देखिन्छ। साथै जसले यसको जिम्मा लिने हो सडक विभाग या गाउँपालिका वा नगरपालिकाहरू जिम्मा लिइसकेपछि साँच्चै नै उत्कृष्ट तरिकाले काम अघि बढाउने हिम्मत पनि गर्नुपर्छ। मौका आउँदा काम गर्न सकिँदैन भने भविष्यमा पछुताउबाहेक केही हुँदैन।
सडक छेउछाउका बोटबिरुवा एवं बागबगैंचाले त्यस देशको प्रतिनिधित्व गर्छ। स्याहारसम्भार पाएका छन् कि बेस्याहार, त्यसैबाट जो कोहीले त्यस मुलुकको हैसियत र अवस्थाको आकलन गर्छन्, जसरी विदेशमा जाँदा गर्छौं। सडकका रूखबिरुवा भनेर तिनलाई बेवारिस नबनाऊँ, सडक किनाराका बिचरा रूखबिरुवा भन्ने भाव कसैको मनमा नआओस्, त्यसरी काम गरेर लौन देखाऔं !