पहिराले पासाङल्हामु मार्ग ठप्प
नुवाकोट : पहिराले नुवाकोटको सबैभन्दा पुरानो पासाङल्हामु सडकमार्ग ठप्प भएको छ। सडकमार्ग अन्तर्गत त्रिशूली–पिपलटार–ककनी–काठमाडौं सडकखण्डको बीचमा रहेको पाँचमानेमा सडकमाथिबाट खसेको पहिराले शनिबारदेखि सडक अवरुद्ध गराएको हो।
अविरल वर्षातसँगै सो सडकमार्गको ककनी गाउँपालिका-१ पाँचमानेमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पहिरो पन्छाउने कार्य भइरहेका र शनिबार पहिरो पन्छाउन नसकिएकाले आइतबार फेरि पहिरो पन्छाउन सुरु गरिने प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको भनाइ छ। हेभि उपकरण र प्राविधिकसहित पहिरो पन्छाउने कार्यमा खटिएका थिए।
पहिरो पन्छाउन दुई दिन लाग्ने र बाटो अवरुद्ध भएपछि सयौं यात्रुले सास्ती खेप्न बाध्य भएका छन्। बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिनु परेको कारण बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ। यात्रु जोखिम मोलेरै पहिरो पार गरी आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्। काठमाडौंलाई नुवाकोटको पर्यटकीय ककनीलाई जोड्ने सो सडकखण्ड पहिराले अवरुद्ध भएको हो।
उक्त सडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा पटक/पटक सडक अवरुद्ध हुने गरेको छ। उक्त सडकखण्ड नुवाकोटको ६ दशक पुरानो र पर्यटकीय मार्गका रूपमा लिने गरिए पनि मुख्य समस्या पहिरो बनेको छ।
पहिरोका कारण नुवाकोटको ककनीबाट काठमाडौंतर्फ जाने सवारीसाधन र काठमाडौंदेखि ककनी हुँदै नुवाकोटतर्फ जाने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिराले सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न थालिएको छ। सवारीसाधन र यात्रुहरूले देवीघाट–गल्छी र छहरे–टोखा सडकमार्ग प्रयोग गरिरहेका छन्।