पश्चिम नेपालको लाइफलाइन, सास्तीले हैरान

पश्चिम नेपालको लाइफलाइन, सास्तीले हैरान

बुटवल : बुटवलदेखि नारायणगढसम्मको जम्मा दुरी हो– १ सय १४ किलोमिटर। यति बाटो छिचोल्न कति समय लाग्ला ? २ घण्टा वा ३ घण्टा ? दाउन्नेमा अलि अप्ठ्यारो बाटो छ, आधा घण्टा थप छुट्याऔं। त्यसो हुँदा साढे तीन घण्टामा यो बाटो छिचोलिनुपर्ने हो। साढे तीन घण्टा त परै जाओस, ६ घण्टामा यो बाटो पार गर्न सकियो भने आफूलाई ‘धन्य’ मान्नुपर्छ। कुनै–कुनै बेला त पूरै दिन वा रात भर यो सडकमा बिताउँछन्, यात्रीहरू। बर्खामा हिलै हिलो, हिउँदमा धुलोको बादल। कतिखेर कुन खाल्डोमा परिने हो, उस्तै चिन्ता। यस्तो सास्ती व्यहोर्नुपरेको दिन होइन, महिना होइन, ६ वर्ष भयो। यो सडक निर्माण थालेदेखि नै यात्रीले निकै कष्ट व्यहोर्नु परिरहेको छ। ६ वर्षमा आधाजसो मात्रै निर्माण कार्य सम्पन्न भएकाले अझ कति वर्ष कष्ट व्यहोर्नुपर्ने हो ? यसै भन्न कठिन छ।

पश्चिम नेपालका नागरिकहरूको ‘लाइफलाइन’ का रूपमा रहेको यस सडकको निर्माणले गति नलिँदा नागरिकहरूको दैनिकीसमेत तहसनहस बनेको छ। सडककै दुर्दशाले व्यवसायीले अर्बौंको नोक्सानी बेहोर्नुपरेको गुनासो गर्छन्। दोस्रोपटक म्याद थप गर्दासमेत योजना पूरा नभएपछि निर्माण कम्पनीले तेस्रोपटक म्याद थपको काम अगाडि बढाएको छ। तर, फेरि थपिएको म्यादमा पनि नागरिक सडक निर्माण पूरा हुनेमा विश्वस्त छैनन्। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म यसै सडक भएर सानाठूला गरी दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन्। निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण यो सडक योजनाले चाहेअनुसार गति लिन नसकेको नागरिकको गुनासो छ।

दुवै खण्डमा ५३ प्रतिशत मात्र प्रगति

रुपन्देहीको बुटवलदेखि चितवनको नारायणगढसम्मको दुरी १ सय १३ दशमलव ५ किलोमिटर छ। गैंडाकोटदेखि दुम्कीबाससम्मको ६५ किलोमिटरलाई पूर्वी खण्ड र बुटवलदेखि दाउन्नेसम्मको दुरीलाई पश्चिम खण्डका रूपमा विभाजन गरेर काम थालिएको छ। यी दुवै खण्डमा गरेर हालसम्म करिब ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको दुवै खण्डका आयोजना कार्यालयहरूले जनाएका छन्। दुवै खण्डको निर्माणका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी–चाइना) सँग सम्झौता गरिएको छ। आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागले योजना सञ्चालन गरेको हो।

६ वर्षको अवधिमा ५३ प्रतिशत मात्र निर्माण गरिएको यो योजनालाई अबको एक वर्ष अर्थात् २०८२ साउन ६ गतेसम्म सक्ने गरी तेस्रोपटक म्याद थपिएको छ। थपिएको एक वर्षमा दुवै खण्डमा गरी बाँकी रहेको ४७ प्रतिशत काम कसरी पूरा होला ? भन्नेमा नागरिक विश्वस्त देखिँदैनन्।

उद्योगी व्यवसायी तहसनहस भए

व्यापारिक हिसाबले पनि बुटवल देशकै प्रमुख सहर हो। ठूलाठूला उद्योग, कलकारखाना, होटललगायत पर्यटन क्षेत्रका पूर्वाधार निर्माण भएका छन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बुटवलका दुई/दुइटा केबलकार र सेभेन स्टारका होटलहरू रुपन्देही क्षेत्रमा छन्। अन्तर्राष्ट्रिय विमानस्थलकै कारण होटल क्षेत्रमा लगानी बढेको छ।

तर, पछिल्लो समय बुटवल–नारायणगढ सडकले गर्दा उद्योगी, व्यवसायी निरुत्साहित बन्दै गएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरप्रिसाद अर्यालले गुनासो गरे। ‘भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक यही सडकका कारण चितवनको सौराहा लगायत पोखरामा मोडिएका छन्’, अर्यालले भने,‘लुम्बिनीमा बर्सेनि कम्तीमा १० लाख आउने पर्यटक अहिले ६ लाख मात्र आउने गरेको तथ्यांक छ।’ अर्यालले आर्थिक गतिविधि बर्सेनि तहसनहस भइरहेको समेत जानकारी गराए। भैरहवास्थित भन्सार कार्यालयको भन्सार असुलीमा समेत यही सडकका कारण गिरावट आएको छ।

‘बुटवल क्षेत्रमा सञ्चालित उद्योग, व्यवसायमा प्रयोग हुने कच्चापदार्थ समेत यही सडक भएर ल्याउनुपर्ने बाध्यता छ’, अर्यालले भने, ‘सामानको ढुवानी नै महँगो पर्ने भएपछि उपभोक्ताले प्रयोग गर्ने मूल्य बढेको छ। समग्रमा व्यावसायिक सर्कल नै तहसनहस भयो।’ मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रुपन्देही क्षेत्रमा सञ्चालित उद्योग, व्यवसायहरूले धानेको बताउँदै अर्यालले सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउँदा सिंगो देशले नै फाइदा लिनसक्ने बताए। उनले अबको म्याद थपिएको समयमा २४ सैँ घण्टा लगाएर भए पनि सडक निर्माणलाई पूर्णता दिन सुझाव दिएका छन्। पश्चिम नेपालको भविष्य लुम्बिनीसहित कर्णाली, सुदूरपश्चिम र केही भााग गण्डकी प्रदेशका नागरिकको संघीय राजधानी काठमाडौंसहित पूर्वी नेपालको यात्रामा जाने प्रमुख मार्ग बुटवल नारायणगढ सडक नै हो। यो सडकले पूर्णता पायो भने पश्चिम नेपालका नागरिकहरूका लागि जीवन बदल्ने मार्ग बन्ने निश्चित छ। दैनिक हजारौं सवारीसाधनहरू यही सडक भएर ओहोरदोहोर गर्ने गर्छन्।

साढे  तीन वर्षमा निर्माण पूरा गर्ने गरी सम्झौता भए पनि योजनाले अपेक्षाकृत गति  लिन सकेन। मुख्यतः कोभिडकै कारण कामले गति लिन नसकेको हो। चीनबाट  कोरोना सुरु भयो। चीनकै निर्माण कम्पनी भएकाले पनि कोरोनाको  प्रोटोकलमा धेरै कडाइ भयो। त्यसको असर तत्कालै नदेखिए पनि क्रमिक रूपमा  वर्षौंसम्म रह्यो। अब कामले गति लिन्छ। अन्तर सरकारी निकायहरूबीचमा पनि  प्रभावकारी समन्वय हुन् सकेन। जंगल क्षेत्रमा रूख कटानी, खानेपानी, विद्युत्  लगायतको व्यवस्थापन गर्न ढिलाइ हुँदा निर्माणले भनेजस्तो गति नलिएको हो । अब कुनै पनि कानुनी झन्झट छैनन्। एक वर्षमै योजना पूरा हुन्छ  भन्नेमा विश्वस्त छौं। निर्माण कम्पनीले प्रतिघण्टा चार सय टन क्षमताको प्लान्ट  जडान गरेका छन्। पहिले प्रतिघण्टा १ सय ६० टन क्षमताको मात्र प्लान्ट थियो। आशिष थापामगर, आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर, बुटवल–नारायणगढ सडक (पूर्वीखण्ड)

सडक बनाउन राज्यका निकायहरूले प्रभावकारी कदम नचाल्दा यसले गति लिन नसकेको व्यवसायीले गुनासो गरेका छन्। सुरुवाती वर्षमा कोभिडको बाहना बनाए पनि त्यसपछिका वर्षहरूमा निर्माणले तीव्रता पाएको छैन। गतवर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको टोलीले नारायणगढदेखि बुटवलसम्म सडक निर्माणका लागि दबाब पैदल यात्रा गरेका थिए। तर, उनीहरूको पैदलयात्रा पनि कर्मकाण्डी मात्र भएको नागरिकले आलोचना गरेका छन्। रास्वपा सरकारमा हुँदा पनि यो सडकले अपेक्षाकृत गति लिन सकेन।

पश्चिम खण्डमा ५२ प्रतिशत

बुटवलदेखि नवलपरासीको दाउन्नेसम्मको खण्डमा पर्ने पश्चिम क्षेत्रको साढे ४८ किलोमिटर सडक निर्माण गर्न ७ अर्ब ८६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यस खण्डमा हालसम्म ५२ दशमलव ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शरद श्रेष्ठले जानकारी दिए। दुई पटकसम्म थपिएको म्यादमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीले तेस्रोपटक म्याद थप्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ।

आगामी एक वर्षभित्र निर्माण पूरा गर्ने गरी तेस्रो पटकका लागि म्याद थप हुन लागेको इन्जिनियर श्रेष्ठले जानकारी दिए। ‘हालसम्म यस खण्डको वित्तीय प्रगति ४४ दशमलव ४ प्रतिशत भएको छ’, श्रेष्ठले भने, ‘बाँकी रहेको ५५ दशमलव ६ प्रतिशत प्रगति एक वर्षमा हुने लक्ष्य लिएका छौं।’

यस खण्डअन्तर्गत १८ किलोमिटर चार लेन र ३० दशमलव १ किलोमिटर दुई लेनको सडक कालोपत्रे गरिएको छ। वन क्षेत्रमा चार लेन र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ। साना पुल २१ वटा मध्येमा १८ वटा र ठूला ९ वटा मध्येमा ६ वटा निर्माण पूरा भएको श्रेष्ठले जानकारी दिए। हाल यस खण्डमा निर्माणको काम रोकिएको छ। ‘निर्माण कम्पनीले बर्खाभरी काम गर्न नसकिने बताएका छन्’, श्रेष्ठले भने, ‘संभवत बर्खापछि मात्र काम सुचारु हुन्छ होला।’

पूर्वी खण्डमा ५३ प्रतिशत

व्यापारिक  हिसाबले पनि बुटवल देशकै प्रमुख सहर हो। ठूलाठूला उद्योग,  कलकारखाना, होटललगायत पर्यटन क्षेत्रका पूर्वाधार निर्माण भएका छन्।  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बुटवलका  दुई/दुइटा केबलकार र सेभेन स्टारका होटलहरू रुपन्देही क्षेत्रमा छन्।  अन्तर्राष्ट्रिय विमानस्थलकै कारण होटल क्षेत्रमा लगानी बढेको छ। तर,  बुटवल–नारायणगढ सडकले गर्दा उद्योगी, व्यवसायी निरुत्साहित बन्दै गए।  लुम्बिनी घुम्न आउने पर्यटकहरू यही सडकका कारण चितवनको सौराहा,  पोखरातिर मोडिए। लुम्बिनीमा बर्सेनि १० लाख पर्यटक आउँथे अहिले ६ लाखमा  झरे। सडककै कारण भैरहवास्थित भन्सार कार्यालयको भन्सार असुलीमा समेत  गिरावट आएको छ। थपिएको म्यादमा २४ सैँ घण्टा लगाएर भएपनि सडक निर्माण  सक्नुपर्छ। हरिप्रसाद अर्याल, अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ

गैंडाकोटदेखि दुम्कीबाससम्मको पूर्वी खण्डको काम हालसम्म करिब ५३ प्रतिशत मात्र सकिएको छ। वित्तीय प्रगति ४६ प्रतिशत भएको आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर आशिष थापा मगरले जानकारी दिए। दाउन्ने क्षेत्रको साढे चार किलोमिटर पनि यसै खण्डअन्तर्गत पर्छ। १५ किलोमिटर चारलेन र १५ किलोमिटर दुई लेनको सडक कालोपत्र भइसकेको थापामगरले बताए। २०७५ माघ २४ गते आयोजना निर्माण गर्ने गरी सम्झौता गरिएको थियो। साढे तीन वर्षमा निर्माण पूरा गर्ने गरी सम्झौता भए पनि योजनाले अपेक्षाकृत गति लिन सकेन्। यस खण्डको सम्झौता रकम भ्याटसहित ९ अर्ब १३ करोड छ।

‘मुख्यतः कोभिडकै कारण कामले गति लिन नसकेको हो’, आयोजना प्रमुख थापामगरले भने,‘चाइनाबाट कोरोना सुरु भयो। चाइनाकै निर्माण कम्पनी भएकाले पनि कोरोनाको प्रोटोकलमा धेरै कडाइ भयो। त्यसको असर तत्कालै नदेखिए पनि क्रमिक रूपमा वर्षौंसम्म रहयो। अब कामले गति लिन्छ।’ उनले अन्तर सरकारी निकायहरूबीचमा पनि प्रभावकारी समन्वय हुन नसक्दा जंगल क्षेत्रमा रूख कटानी, खानेपानी, विद्युत् लगायतको व्यवस्थापन गर्नसमेत समस्या परेको अनुभव सुनाए। अब थपिएको एक वर्षमा कानुनी कुनै झन्झट नरहेको र निर्माण कम्पनीले लक्ष्यअनुसारको काम गर्ने हो भने योजना पूरा गर्न सकिने उनको विश्वास छ।

यो  बाटो समयमै नबन्दा यातायात व्यवसायीले अर्बौं नोक्सानी बेहोर्नुपरेको छ । नयाँ गाडी खरिद गरेको एक वर्ष नबित्दै इन्जिन बदल्नुपर्ने पीडा छ।  करोडौं लगानी गरेर नयाँ बस खरिद गर्ने हो तर सरकारले बाटो राम्रो  नबनाउँदा लगानी, बालुवामा पानीजस्तै बनेको छ। बढीमा दुई घण्टाको  बाटो अहिले कम्तीमा ६ घण्टा लाग्छ। नयाँ बसको आयु कम्तीमा २० वर्ष भए पनि  यही सडकका कारण ६ वर्ष पनि नटिक्ने अवस्था छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको  बुटवल मध्यखण्ड हो। पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालकै सबैभन्दा  ठूलो यातायात कम्पनी हो। यहाँबाट देशभरका लागि सवारीसाधनहरू आउजाउ गर्छन्।  सडककै कारण यातायात क्षेत्रमा लगानी विस्तार गर्नेहरू समेत निराशा बने। दधिराम खरेल, अध्यक्ष, पश्चिम नेपाल बस व्यवसायी प्रालि

‘निर्माण कम्पनीले प्रतिघण्टा चार सय टन क्षमताको प्लान्ट जडान गरेका छन्’, थापामगर भन्छन्, ‘यसअघि प्रतिघण्टा १ सय ६० टन क्षमताको मात्र प्लान्ट थियो। अहिले २ सय ४० टन क्षमता थपिएको छ। यो नै काम छिटो हुन्छ भन्ने प्रमुख आधार हो।’

यातायात व्यवसायीका पीडा उस्तै

बुटवल–नारायणगढ सडककै कारण यातायात व्यवसायीको करिब १ अर्ब बढी नोक्सानी भएको हुनसक्ने अनुमान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए। ‘एकिन तथ्यांक त छैन, तर सबै तिरका व्यवसायीहरूको अवस्था देख्दा एक अर्बभन्दा बढी नोक्सानी भएको आकलन गरिएको छ।’ उनले नयाँ गाडी खरिद गरेको एक वर्षभित्रै इन्जिन बदल्नुपर्ने पीडा यातायात व्यवसायीले खेप्नुपरेको गुनासो गरे।

‘करोडौं खर्चेर नयाँ बस खरिद गर्ने हो तर सरकारले बाटो राम्रो नबनाउँदा लगानी डुबेको छ’, खरेल भन्छन्, ‘बढीमा दुई घण्टाको बाटो अहिले कम्तीमा ६ घण्टा लाग्छ।’ नयाँ बसको आयु कम्तीमा २० वर्ष भए पनि यही सडकका कारण बढीमा ६ वर्ष नटिकेको उनले सुनाए। पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल मध्यखण्ड हो। पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालकै सबैभन्दा ठूलो यातायात कम्पनी हो। यहाँबाट देशभरका लागि सवारीसाधनहरू आउजाउ गर्छन्। सडककै कारण यातायात क्षेत्रमा लगानी विस्तार गर्नेहरूसमेत निराशा बनेको अध्यक्ष खरेलले प्रतिक्रिया दिए।

नयाँ एसी बस किन्दाकिन्दै, खाल्डामा डुब्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरका ३२ वर्षीय कमल खनालले गत वर्षको पुसमा नयाँ एसी बस किने। भैरहवादेखि काठमाडौं सेवा दिने गरी उनले झन्डै १ करोड रुपैयाँ लगानी गरेर सुविधायुक्त एसी बस किनेका थिए। तर, तीन महिना नबित्दै बुटवल नारायणगढ सडक खण्डअन्तर्गत सुनवलमा गाडी खाल्डामा डुब्यो। ‘सडकभरी पानी थियो’, खनालले भने, ‘बाटो होला भनेको खाल्डो रहेछ। गाडी चुर्लुम्म डुब्यो। पाँच लाख खर्चेर मर्मत गर्नुप¥यो।’ उनले गाडी किनेको तीन महिनामै मर्मतमा लाखौं खर्च गर्नुपर्दा निराश बन्नुपरेको दुःखेसो सुनाए। बसको इन्जिन, फिल्टर लगायत विभिन्न पाटपुर्जामा क्षति भएको उनले बताए।

‘हामीजस्ता भुइँमान्छेको पीडा कसले सुन्ने, देख्ने ? ’, खनालले भने, ‘यो बाटो बन्न लागेको वर्षौं भयो। अहिलेसम्म बनेको छैन। भोग्नु दुःख भोगियो।’ योबाहेक काठमाडौं छिटो पुग्नका लागि बैकल्पिक मार्ग नहुँदा समस्या छ। खनाल प्रतिनिधि पात्र मात्र हुन्। यो सडक भएर आउजाउ गर्ने यातायात व्यवसायीदेखि लाखौं यात्रुहरूले दैनिक सास्ती खेपिरहेका छन्।

बुटवल  नारायणगढ सडककै कारण पश्चिम नेपालको आर्थिक गतिविधि तहसनहस छ।  वर्षौंदेखि उद्योगी, व्यवसायीहरू मर्कामा परिरहेका छन्। तर, सरकारले  व्यवसायीहरूको पीडा सुनेको छैन। अव, उद्योगी व्यवसायीले दबाबमूलक कार्यक्रम  गर्छन्। जुन रूपमा उद्योग, व्यवसाय क्षेत्र चलायमान हुनुपर्दथ्यो, त्यो  हुनै सकेन। त्यसको मुल कारण यही सडक नै हो। अब हामी चुप लागेर  मात्र यो सडक बन्ला जस्तो छैन्।  थपिएको समय एक वर्षमा पनि सडक निर्माण  पूरा होला भन्नेमा त्यति विश्वसनियता छैन। सुमनकुमार  श्रेष्ठ, अध्यक्ष, चितवन उद्योग वाणिज्य संघ

२ घण्टाको सपना, कहिले होला पूरा ?

बाटो सहज नहुँदा अहिले बुटवलदेखि नारायणगढ पुग्नका लागि गाडीमा कम्तीमा पनि ६ घण्टा लाग्छ। समय मात्र लाग्दैन्, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा गाडी नचिनिने हुन्छन्। यात्रुको स्वास्थ्यमा समेत प्रतिकूल असर गरिरहेको छ। तर, निर्माणाधीन सडक कालोपत्रे हुने हो भने यात्रा बढीमा दुई घण्टामै छोट्टिन्छ। सडक भरपर्दो नहुँदा काठमाडौं पुग्ने कतिपय यात्रुहरूले भैरहवा हुँदै हवाई मार्ग पनि प्रयोग गर्ने गरेका छन्। तर, सबै यात्रुका लागि हवाई मार्ग पहुँचमा छैन।

भोलिको संभावना देखेर आज लगानी गरेका बुटवल क्षेत्रका सयौं लगानीकर्ताहरू सडककै कारण निराश बन्दै जान थालेको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष एवं बुटवलका पुराना स्थापित होटल व्यवसायी माधव नेपालले प्रतिक्रिया दिए। सडक निर्माण थाल्दा उत्साहित भए पनि निर्माणले गति नलिँदा निराश हुनुपरेको उनको भनाइ छ। ‘बुटवलमा आजको भन्दा पनि भोलीको भविष्य देखेर लगानीकर्ताहरू आउने गर्छन्। पछिल्ला केही वर्षमै अर्बौं लगानीका ठूला होटलहरू पनि खुलेका छन्’, नेपालले भने, ‘देशको अर्थतन्त्रलाई माथि उकास्न होटल र पर्यटन क्षेत्र महत्वपर्ण हुने भएकाले लगानीमैत्री वातावरण राज्यले बनाइदिनुपर्छ। यो बाटो छिटो बन्नुपर्छ।’

व्यवसायीले दबाबमूलक कार्यक्रम थाल्ने

बुटवल नारायणगढ सडककै कारण पश्चिम नेपालको आर्थिक गतिविधि ठप्प भएको भन्दै उद्योगी व्यवसायीहरूले दबाबमूलक कार्यक्रम गर्ने योजना बनाएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए। ‘जुन रूपमा उद्योग, व्यवसाय क्षेत्र चलायमान हुनुपर्दथ्यो त्यो हुन सकेको छैन’, श्रेष्ठले भने, ‘अब हामी चुप लागेर मात्र यो सडक बन्ला जस्तो छैन, दबाबमूलक कार्यक्रम गर्छौं।’ उनले अब थपिएको समय एक वर्षमा पनि सडक बन्नेमा त्यति ढुक्क नभएको समेत जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.