अनलाइनमै बिक्री हुन्छन् चोरी भएका सवारीसाधन
काठमाडौं : काठमाडौंको माछापोखरीबाट साउन २३ गते श्यामलाल लोप्चनको मोटरसाइकल हरायो। उनी चढ्दै आएको मोटरसाइकल नम्बर परिवर्तन गरी प्रयोग गरिएको थियो। उनको मोटरसाइकल चोरी गर्ने मकवानपुरका प्रेमबहादुर पाख्रिनलाई कौशलटारबाट साउन २५ गते उपत्यका ट्राफिक महाशाखाको टोलीले पक्राउ गर्यो।
लमजुङ सुन्दरबजारका सुदीप अधिकारीले ठमेलको सातघुम्तीमा पार्किङ गरिराखेको मोटरसाइकल एकाएक हरायो। त्यो मोटरसाइकल चोरी गर्ने गिरोहले लगेर नम्बर परिवर्तन गरेर चलाएका रहेछन्। उनको मोटरसाइकलको लक काटेर चोरी गरेका थिए।
यस्तै साउन ७ गते चन्द्रागिरि ८ सानोमन्दिरका राजकुमार लोलेको मोटरसाइकल घर अगाडिबाटै हरायो। उनले त्यो मोटरसाइकल केही समयअघि मात्रै किनेका थिए। घरछेउबाटै हरायो।
भक्तपुर बस्ने मनिषबहादुर कार्की केही दिनअघि मीनभवनस्थित सिभिल अस्पताल पुगेका थिए। पार्किङ एरियामा मोटरसाइकल राखेर काममा निस्केका उनी फर्कंदा मोटरसाइकल थिएन। उनले बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल सिभिल अस्पतालको पार्किङ एरियाबाट हराएको भन्दै उपत्यका ट्राफिक प्रहरी महाशाखामा निवेदन दिए।
यी त केही उदाहरण मात्रै हुन्। पछिल्लो समय उपत्यकामा सवारी साधन चोरी गर्ने गिरोह सक्रिय भएका छन्। यस्ता गिरोहको निसानामा सार्वजनिक स्थलमा पार्किङ गरिराखेको मोटरसाइकल र स्कुटर पर्ने गरेका छन्।
शिक्षण अस्पताल महाराजगन्जमा बिरामी जँचाए बाहिर आउँदा मोटरसाइकल छैन। त्यस्तै, स्वयम्भू पुग्ने भक्तजनले रोकेकै ठाउँमा मोटरसाइकल हराउँछ। सिभिल अस्पताल होस कि पाटन अस्पताल वा विमानस्थलको पार्किङ एरिया होस् रोकिराखेका सवारी साधन एकै मिनेटमा गायव हुन्छन्। नागरिकको जिउधनको सुरक्षाका लागि सडक तथा सार्वजनिक एरिया सबैतिर सीसीटिभी जोडिएको छ भन्ने सरकारले खासमा सुरक्षाचाहिँ दिन सकेको छैन।
उपत्यकामा दैनिक २० देखि २५ मोटरसाइकल चोरी हुन्छन्
काठमाडौं उपत्यका ट्राफिक कार्यालय महाशाखा कार्यालयले दिएको तथ्यांकअनुसार आव २०८०/८१ मा उपत्यकामा २ हजार ४०२ मोटरसाइकल हराएको भन्दै निवेदन परेको छ। यसमध्ये उपत्यका ट्राफिक प्रहरी महाशाखाको टोलीले ५ सय २२ वटा मोटरसाइकल अनुसन्धानका लागि ल्याएको थियो। यसमा ३ सय ८१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ। उनीहरूले मोटरसाइकल हराएको उजुरी हालेका थिए। अनुसन्धानपश्चात अन्य ३६ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। १७ वटा मोटरसाइकल भने भन्सार कार्यालयलाई बुझाएको छ।
महाशाखाका अनुसार उपत्यकाभरि दैनिक २० देखि २५ वटा मोटरसाइकल हराउने गर्छ। साउन महिनामा मात्रै काठमाडौंमा ५२ वटा मोटरसाइकल चोरीको निवेदन आएका थिए। यसमध्ये २८ वटा मोटरसाइकल भेटाएर सम्बन्धित धनीलाई बुझाइसकिएको छ। ३ वटा अनुसन्धानमै छ। पशुपति मन्दिरमा महायज्ञ भइरहेको स्थानबाट पनि हरेक दिन मोटरसाइकल चोरी भइरहेका छन्। मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय छन्। एक पटक चोरीमा कारागार परेका व्यक्तिहरू छुटेपछि पनि पुनः सोही कार्यमा संलग्न हुने गरेका छन्।
अनलाइनबाटै बिक्री
मोटरसाइकल चोरी गरेर काभ्रे, धादिङ, सिन्धुली, सिन्धुपाल्चोकलगायत बाहिरी जिल्लामा बेच्ने प्रवृत्ति बढ्दो छ। महाशाखाका प्रवक्ता विश्वराज खड्काका अनुसार चोरी भएका मोटरसाइकल अनलाइनबाट बिक्री गर्ने र अनलाइनबाटै पैसा बुझ्ने गरेका छन्। उनीहरूले चोरेका मोटरसाइकल थोरै पैसामा बेच्ने, पछि पास गरिदिन्छु भन्दै पैसा लिएपछि मोबाइल स्विचअफ गरेर फालीदिने गर्छन्। ‘टी’ आकारको एक साम्रगी प्रयोग गरेर यो समूहले मोटरसाइकलको लक फोड्ने गर्छ। लक टुटाएपछि सेल्फ स्टार्ट हुने मोटरसाइकलहरू चोरको निसानामा बढी हुन्छ। २२० सीसीको पल्सर सबैभन्दा धेरै चोरी हुने मोटरसाइकलमा पर्छ। महाशाखाका प्रवक्ता खड्का भन्छन्, ‘चोरी गर्ने समूहले प्रायः आफूलाई सोझा र डिसेन्ट देखाउन स्कुल ड्रेस लगाएर आउने गर्छन्। स्कुले लुगा लगाएर आएपछि उनीहरूले चोरी गर्लान भन्ने अनुमान कम मात्रै हुने हँुदा चोरहरूले यसो गरेको हुनसक्ने उनको भनाइ छ। उनका अनुसार प्रायः सबै अस्पताल क्षेत्र, बसपार्क, बौद्ध एरिया, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी हुन्छन्। प्रवक्ता खड्का भन्छन्, ‘सिभिल अस्पतालको पार्किङ एरियाको सीसीटिभी फुटेज हेरेर प्रहरीले चोरी गर्ने व्यक्ति पहिचान गरेको थियो। उनीहरू मोटरसाइकल चोरी गर्नका लागि लु २२ प ८५ २० नम्बरको मोटरसाइकल चडेर सिभिल अस्पतालको पार्किङ एरिया पुगेका थिए। प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। चोरी गरेको बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्म फेला परेको छैन।’
सार्वजनिक ठाउँ चोरको निसानामा
प्रहरीका अनुसार पछिल्लो समय सार्वजनिक ठाउँमा सवारी साधन चोरी हुने संख्या बढ्दो छ। टिचिङ अस्पताल, सिभिल अस्पताल, त्रिभुवन विमानस्थल लगायतका ठाउँमा मोटरसाइकल चोरीका घटना बढिरहेका छन्। उनी अगाडि भन्छन्, मोटरसाइकल चोरी गर्ने गिरोहले नम्बर परिवर्तन गरेर चलाउने हुँदा फेला पार्न कठिन हुन्छ। प्रहरीले विशेष चेकिङ अभियान नै चलाएर हराएका मोटरसाइकल खोज्ने गरेका छन्। मोटरसाइकल स्कुटर हराएको भन्दै ट्राफिक महाशाखामा दिनहँु निवेदन आउने गरेको छ।
सवारी चोरी हुनबाट रोक्न सवारी धनी नै सचेत हुनुपर्छ। आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ गर्नुहँुदैन। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।