तनहुँ बस दुर्घटना : २५ शव एयरलिफ्ट र २ शव स्थलमार्गबाट लगियो भारत
चितवन : तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भाकाहरूको शव भारत लगिएको छ। मृतक २७ मध्ये २५ जनाको शव भारतीय एयरफोर्सको जहाजबाट शनिबार अपरान्ह भारत लगिएको हो।
बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ। भरतपुर अस्पतालमा पोष्टमार्टम गरेर शव भारत लगिएको हो। शवलाई शुक्रबार राति नै आँबुखैरहनीबाट भरतपुर ल्याइएको थियो। भारतीय एयरफोर्सको जहाज भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएको हो। भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यको नासिकतर्फ उडेको प्रजिअ यादवले बताए।
शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे भरतपुर आएका थिए। उनीहरू सोही विमानमार्फत फर्किएका छन्। मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए।
पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान आँबुखैरेनी नजिकै ऐनापहराबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। १५ जना महिला, ११ जना पुरुष र चार वर्षकी बालिका रहेकी छन्। १६ जना घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ।