मुस्ताङी लोकल आलुको उपभोक्तामा क्रेज
जोमसोम : ठूला होटलमा होस् वा घरपरिवारमा भान्सामा पाक्ने तरकारीमा आलुको प्रयोग अनिवार्य हुन्छ। भान्साको तरकारीमा मिसाउने आलुको मि श्रण नभए हामीले खानासँगै खाने तरकारी अपूर्ण हुन्छ। जुनसुकै तरकारीसँग मिल्ने आलुको विशेषता भनेकै यही हो कि आलु अपरिहार्य तरकारीको सारथि।
हाम्रो सामान्य घरपरिवारको भान्सामा पाक्ने तरकारीमा आलुको जोहो नियमित गरिन्छ। चाहे माछामासुमा होस् वा अन्य तरकारीमा मिसाउँदा होस् आलु सबैथोकमा प्रयोग हुन्छ। सहरबजारका सामान्यदेखि तारे होटलसम्म तरकारीको भेराईटी छुट्दैन। आलुलाई भान्सामा पाक्ने तरकारीका अलावा उसिनेर, पोलेर, साँधेर पनि खाइन्छ। यसका कारण मानव जीवनको महत्वपूर्ण भोजनका रूपमा आलुको विशेषता अनेक छन्।
हाम्रो भान्सा र होटल रेष्टुरेन्टमा नियमति रुपमा नछुट्ने महत्वपूर्ण तरकारी आलु देशका ७७ वटै जिल्लामा उत्पादन हुन्छ। यद्यपि नेपालमा छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा आलु आयात हुन्छ। हामीले तरकारीमा प्रयोग हुने आलुकै कुरा गर्दा मुस्ताङी आलुको खास र बेग्लै विशेषता हुन्छ। समुद्री सतहको ३ हजार मिटरको अग्लो उचाइको शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङी सेतो लोकल आलु सहरबजारका उपभोक्ता र सेवाग्राहीहरूले उत्तिकै रुचाइएकाले पनि मुस्ताङी लोकल आलुको क्रेज बढी हुने गरेको पाइएको छ।
हिमाली जिल्ला मुस्ताङमा तल्लो भेंकदेखि उपल्लो भेंकसम्म आलु खेती विस्तार भइरहेको छ। स्याउपछिको मुख्य नगदेबालीका रूपमा स्थापित मुस्ताङी आलु खेतीतर्फ स्थानीय कृषकहरूको आर्कषण बर्सेनि वृद्धि भइरहेको छ। विशेषगरी राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग विस्तारसँगै आलुको बजारीकरणमा आलु उत्पादन गर्ने कृषकहरूलाई थप सहज बन्दै गएको छ। कृषकले उत्पादन गरेको आलु व्यापारीहरू आफैं आएर नगद बुझाएर खरिद गर्ने भएकै कारण मुस्ताङका कृषकहरू आलु खेतीतर्फ हौसिएका हुन्।
मुस्ताङको घरपझोङ—५ ठिनीका स्थानीय कृषक महेन्द्र थकालीले मुस्ताङी आलु स्याउ जस्तै पृथक प्रकारको ब्रान्ड बनिसकेको सुनाए। स्थानीय पशुचौपयाको मल प्रयोग र हिउँले सिञ्चित भई खेतबारीमा लामो समय उत्पादन अवधि लाग्ने भएकाले यहाँको आलु स्वादिलो र पोषिलो हुने कृषक थकालीको भनाइ छ। ‘पछिल्लो समयमा आलुको माग अध्यधिक हुने गरेको छ, उत्पादन गर्न सके बिक्री नहुने होकी भन्ने चिन्ता हुँदैन,’ कृषक थकालीले थपे, ‘यसवर्ष आलुको उत्पादन राम्रो छ, मूल्य पनि राम्रै चलेको छ।’
हिमाली जिल्ला मुस्ताङमा सडक सञ्जाल सहज भएसँगै यहाँ उत्पादन हुने मुस्ताङी आलु पोखरा–काठमाडौंसम्म ब्यापारीले पुर्याउने गरेका छन्। मुस्ताङ र छिमेकी जिल्लाहरूमा समेत मुस्ताङी आलुको डिमान्ड हुने भएकाले यहाँका आलुले राम्रो भाउ पाएको कृषकहरू बताउँछन्। यसवर्ष मुस्ताङी आलुको भाउ कृषकसँगै सोझै खरित्दा पाथीको १ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। एक पाथीमा साढे ३ केजी वजन हुने भएकाले मुस्ताङी आलु प्रतिकेजी ६० रुपैयाँमा बिक्री गरिएको छ।
- स्याउपछिको मुख्य नगदेबालीको रूपमा स्थापित मुस्ताङी आलु खेतीतर्फ स्थानीय कृषकहरूको आकर्षण बर्सेनि वृद्धि
- पशुचौपायको मल प्रयोग र हिउँले सिञ्चित भई लामो समयमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पोषिलो
गतवर्ष मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण आलु उत्पादन घटेको थियो। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गतवर्ष तल्लो मुस्ताङमा आलु खेतीमा डढुवा रोगको प्रकोप र उपल्लो मुस्ताङको तुषारोको प्रकोपले आलु उत्पादनमा ३३ प्रतिशतले गिरावट आएको थियो। यसवर्ष भने मुस्ताङका कृषकले डढुवा रोग प्रकोप समयमै नियन्त्रण गरेको तुषारोको समस्या नभएकाले यसवर्ष आलु उत्पादन राम्रो हुने प्रक्षेपण गरिएको छ।
गतवर्ष मुस्ताङमा स्याउ उत्पादनक्षेत्र वृद्धि हुँदासमेत ४ सय ५९ हेक्टर जमिनमा लगाइएको आलु खेतीबाट ७ हजार ३१ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त वर्ष प्रतिहेक्टर क्षेत्रफलमा १५.३२ टन आलु उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा ७ हजार २८ टन आलु उत्पादन भएको थियो। थासाङ गाउँपालिकामा १ हजार ३ सय ७५ टन, घरपझोङमा १ हजार ५ सय ५१, वारागुङ मुक्तिक्षेत्रमा २ हजार ३ सय १०, लोघेकरमा १ हजार ३ सय ९ र लोमान्थाङ गाउँपालिकामा ३ सय ९४ टन आलु उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार मुस्ताङमा आलु उत्पादनको क्षेत्र र उत्पादन आँकडा हेर्दा सबैभन्दा बढी वारागुङ मुक्तिक्षेत्रमा हुने गरेको छ।
सबैभन्दा कम आलु उत्पादन र क्षेत्र लोमान्थाङ गाउँपालिका रहेको छ। उपल्लो मुस्ताङको ठिङ्गरमा सामुहिक आलु खेती गरिएको छ भने तल्लो मुस्ताङको कुञ्जो आलु हबको रुपमा विकास भइरहेको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले यसवर्ष अनुकूल मौसम भएकाले स्याउ जस्तै आलु उत्पादन पनि राम्रो भइरहेको जानकारी दिए। मुस्ताङमा आलु खेतीको प्रचुर सम्भावना भएकै कारण कार्यालय आलु खेती बिस्तार कार्यक्रमलाई जोड दिएको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ। कृषि ज्ञान केन्द्रले जिल्लाका आलु खेती गर्ने किसानलाई प्रोत्साहन तथा आलु उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्न प्रति रोपनी क्षेत्रफलमा आलु खेती गर्ने कृषकलाई ५/५ हजारका दरले लागत साझेदारी गरेको जनाएको छ। पछिल्लो समय मुस्ताङमा ६ हेक्टर जमिनमा थप आलु खेती विस्तार भएको जानकारी दिए।
जिल्लाको प्रमुख नगदेबालीको रुपमा स्थापित मुस्ताङी लोकल सेतो आलु उपल्लो मुस्ताङमा चैत्रको अन्तिम र वैशाखमा खेतबारीमा रोपेर असोज महिनामा खनेर निकाल्ने गरिन्छ। यस्तै, तल्लो मुस्ताङमा फागुनमा खेतीबारीमा रोपेर भदौ महिनाको पहिलो हप्तादेखि निकाल्ने गरिन्छ। यद्यपि मुस्ताङको थासाङ—५ कुञ्जोमा सडक असहजताका कारण असोज महिनामा आलु खनेर निकाल्ने गरिन्छ। मुस्ताङको चिसो भूगोलमा आलु उत्पादन हुन समयअवधि धेरै लाग्ने भएकाले मुस्ताङको स्याउको गुणस्तर र स्वाद फरक हुने गर्छ।