‘इगो’को दलदलमा नेतृत्व
२००७ सालको नेपालको प्रजातान्त्रिक क्रान्तिपछि राजा र दरबारको इगोको कारण व्यवस्थामा उथलपुथल भएको थियो। २०१७ को संसद् विघटन, २०३६ को जनमतसंग्रह, २०४६ को आन्दोलन र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना अनि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०५९ यी सबै घटना इगो र शक्ति प्राप्तिका आकांक्षाले नै जन्माएका थिए। इगोकै कारण राजनीतिक दलहरूबीच सरकार गठन र विघटनका खेल भइरहन्छन्। आन्दोलन जन्मिन्छन् र तुहिन्छन् पनि। राजनीतिक दलहरूभित्रका विवादहरू विभाजनमा पुगेर टुंगिएका पनि छन्।
इगोले व्यक्तिगत सम्बन्धहरूलाई बिगार्दै सामाजिक तनावसमेत बढाउँछ। आन्तरिक वातावरणमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत द्वन्द्व सिर्जना गर्नसक्छ। इगोकै कारण विभिन्न देशका कूटनीतिक वार्ताहरू असफल भएका पनि छन्। व्यापारिक, सैन्य वा सांस्कृतिक सम्बन्धलाई समेत प्रभावित पारेका घटनाहरू छन्। सन् १८१२ मा फ्रान्सेली शासक नेपोलियन बोनापार्टको इगोले रुसलाई आक्रमण गर्न प्रेरित गर्यो। हिटलरको इगोले जर्मनीलाई युद्धमा तान्यो, जसले विश्वभर विनाशकारी पारिणाम ल्यायो। जापानी नेतृत्वको इगोले सन् १९४१ मा पर्ल हार्बरमा अमेरिकी नौसेनामा आक्रमण गर्यो। जसले संयुक्त राज्य अमेरिकालाई युद्धमा प्रवेश गर्न बाध्य पार्यो।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र सोभियत नेता निकिता खुरुश्चेभ बीचको इगोले सन् १९६२ मा क्युबामा तैनाथ सोभियत मिसाइलहरूले विश्वमा द्वन्द्वको त्रास पैदा गरेको थियो। फकल्यान्ड स्वामित्व इगोले सन् १९८२ को फकल्यान्ड युद्धलाई निम्त्यायो। इराकको राष्ट्रपति सद्दाम हुसैनको इगो र अमेरिकी नेतृत्वको इगोले सन् २००३ मा इराक युद्ध जन्मायो। भारत र पाकिस्तानबीचको कश्मीर विवाद पनि इगोकै कारण सैन्य संघर्ष र तनावमा पुग्यो।
सामान्य अर्थमा लडाइँ भन्नेबित्तिकै युद्धको परिभाषाबाट बाहिर जाने कुरा रहेन। सैन्य रणनीति र परिस्थितिहरूको आधारमा युद्धका प्रकारहरू फरक हुन्छन्। तर ती सबै युद्धका अर्थ भने लडाइँ अर्थात् द्वन्द्व नै हुन् र सबै किसिमका द्वन्द्वमा हिंसाले स्थान लिएकै हुन्छ। हिंसाका असर भौतिक–अभौतिक प्रत्यक्ष–परोक्ष जे जस्ता पनि हुन सक्छन्। समयसँगै अहंकार र महत्वाकांक्षाहरू पनि व्यक्तिका प्रतिष्ठासँग साइनो गाँस्दैछन्। म ठूलो भन्ने दौडमा साम, दाम, दण्ड, भेद सबै प्रकारका अस्त्र प्रयोग गरिँदैछन्। स्वार्थलाई इगो बनाएर जुँगाको लडाइँ लडिरहेछन् भन्दा अत्युक्ति नहोला।
मानिसका कतिपय अंगका प्रकृति, स्वभाव र सोचहरू एकअर्कासँग मेल खाँदैनन्। जसलाई आज विज्ञानले पनि व्यक्ति पहिचानका चिह्नहरूका रूपमा प्रयोग गरिरहेछ। व्यक्तिका सोच र स्वाभावले आवश्यकता भन्दा पर चाहनालाई पनि परिभाषित गरिरहेको हुन्छ। कहिलेकाहीँ चाहनामा लोभ र मोहले स्वार्थको लेपन लगाइदिन्छ। स्वार्थविरुद्ध उभिने भौतिक अभौतिक सबै अवस्थालाई शत्रुको भाष्य दिइन्छ अनि जन्मिन्छ इगो। यही इगोलाई केन्द्रमा राख्दा आज विश्वआकाशमा अशान्तको बादल मडारिँदो छ। लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता संग्रहमा ‘जुँगाको लडाइँ’ शीर्षकको कवितामा कविले युद्धका क्रूरता र मानवताप्रति हुने विनाशलाई चित्रण गरेका छन्। युद्धका नकारात्मक प्रभाव निर्दोष मानिसहरूले भोग्नुपर्ने पीडा र असरको भयावह अवस्थाको उजागर गरेका छन्। कवितामार्फत प्रतिरोधको भावना जागृत गराउन शान्ति र सद्भावको महत्त्वलाई दर्शाएका छन्।
इगो व्यक्ति, समूह वा राष्ट्रको आत्मसम्मान र प्रतिष्ठाको अत्यधिक मूल्यांकन पनि हो। तर कहिलेकाहीँ व्यक्तिका इगोहरू गलत निर्णय र संघर्षका कारक पनि बनेका छन्। जसले थुप्रै जनधनको क्षति गरेको छ। व्यक्तिगत, पारिवारिक, सामाजिक, व्यावसायिक सबै सम्बन्धमा विचलन ल्याउन सक्छ। सद्भावपूर्ण वातावरणलाई विषाक्त बनाउँछ। इगोकै कारण राजनीतिक दल र नेतृत्वबीचको टकरावले नीतिहरूको कार्यान्वयनमा अवरोध आउँछ। नेताहरू बीचका अस्वस्थ प्रतिस्पर्धाले जनहितका नीतिहरू नल्याइन सक्छन्। देशभित्रका आन्तरिक शान्ति, समृद्धि तथा विकासका समग्र प्रणालीहरूमा नकारात्मक असर पुर्याउँछ।
राजनीतिक अस्थिरताको उदयसँगै देशले विकासको गति समाउन नसक्नुको कारक बन्न सक्छ। देशको समग्र विकासमा अवरोधहरू उत्पन्न गराउँछ। आज हाम्रो देशमा खोजेजस्तो विकास नहुनु या हुन नसक्नुमा राजनीतिक दल र नेतृत्तहरूले साथमा बोकेर हिँडेका इगोहरू पनि हुन्। सत्ता र शक्ति प्राप्तिका इगोहरूमा राजनीतिक दलका स्वार्थहरू मडारिँदा जनताका स्वार्थहरू गौण हुन पुग्छन्।
विकासले गति लिन सक्दैन। काठमाडौं उपत्यकाभित्र १८ स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार गरी २० वटा सरकारले आआफ्नै शैलीले काम गरिरहेका छन्। एकअर्कामा कहीँ कतै समन्वयका रेखाहरू देखिँदैनन्। नेतृत्वहरूले बोकेर हिँडेका इगोकै कारण जनताले उपहारमा सास्ती पाएका छन्।
अशान्तिको जड यो जुँगाको लडाइँले मुलुकको समग्र प्रणालीमा नकारात्मक असर पार्दछ। सामाजिक सद्भावलाई ध्वस्त पार्दै घरपरिवारमा समेत विखण्डन ल्याउँछ। उद्योग व्यवसायहरू धराशायी हुँदै पलायन भएका घटनाहरू पनि हामीमाझ छन्। विकास अवरुद्ध छ। इगोले सहकार्य र संवादलाई कमजोर पार्छ। संस्था होस् या परिवार, समाज होस् या राष्ट्रको समग्र प्रणाली, सबै सहकार्य र संवादबिना सबल र सफल हुन सक्दैनन्। हरेक समस्याको समाधान संवाद र सहकार्य नै हो। मानिसले गर्ने हरेक काम या निर्णय इगोरहित हुनुपर्छ।
काम, क्रोध, लोभ, मोह र अहंकारको उपज हो, इगो। समाज र देश विकासमा इगो होइन, सहकार्यको खाँचो छ। अधिकार र कार्यक्षेत्रका विवादहरूलाई जुँगाको लडाइँ होइन, संवादको विषय बनाऔं। मेरो होइन, हाम्रो भनौं समस्या कहीँ देखिँदैन। इगो शत्रुभित्रको शत्रु हो। स्वार्थमा जन्मिएको इगोले अरूलाई मात्र होइन, आफैंलाई पनि जलाउँछ। जलेपछि सबै हुने खरानी नै हो।