पहिरोले पक्की पुल बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले पक्की पुल बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध
सुन्नुहोस्

कालीकोट : कालीकोट र दैलेखको सिमाना दहिखोलामा रहेको पक्की पुल पहिरोले बगाउँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार राति आएको भीषण वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेका छैनन्। राति नै अवरुद्ध भएको राजमार्गमा बिहानै देखि सडक खोल्ने प्रयास गरिए पनि अझै सकिएको छैन। राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउन एक हप्ता जति लाग्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पोषण थापाले बताए। 

उनले भने, ‘पहिरोले कर्णाली राजमार्गको गगनेखोलामा सडक नै नरहने गरी बगाएको छ। देहिखोलामा आएको पहिरोले पक्की पुल समेत बगाउँदा यात्रुहरूलाई निक्कै गाह्रो भएको छ।

यस्तै राजमार्गको सेरीघाट, हुल्म, एसमोडमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ। बिहीबार बिहानैदेखि पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा डोजर, स्काभेटरहरू परिचालन गरेका छौं। अहिलेसम्म एस मोडमा खसेको पहिरो र ढुंगा पन्छाउन सफल भएपनि गगने खोलामा आएको पहिरोले सडनको कुनै नाम निसान राखेको छैन।’ 

युवा निर्माण व्यवसायी खम्ब बहादुर शाहीले गगने खोलामा बेलिब्रिज पुल नलगाई समस्या समाधान नहुने बताए। उनले बर्सेनि यात्रुले कति सास्ती खेपिरहने सम्बन्धित सरोकारवाला निकायले सोच्नु पर्ने बेला आएको बताए। 

सडक अवरुद्ध भएपछि जुम्ला कालीकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् भने स्याउ बोकेर गएका मालबाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्। 

सडक डिभिजन कार्यालय जुम्लाले हेर्ने दैखोला–जुम्लाको १०४ किमी क्षेत्र भित्र निरन्तर आइरहेको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ। शुभकालिका गाउँपालिका-१ छाती जानका लागि निर्माण गरिएको ग्रामीण सडकबाट पानी पर्ने बित्तिकै आउने ढुंगा सहितको भीषण पहिरोले राजमार्गको गगने खोलामा समस्या भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए। भिर परेकाले सडक खुलाउन कम्तीमा ५ दिन लाग्ने देखिएको छ।

२ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ। हालसम्म राजमार्गमा पाँच दर्जनभन्दा बढी पहिरो खसे पनि यस वर्षको हालसम्मकै ठूलो पहिरो गगने खोलामा आएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीले बताए। 

महत्वपूर्ण कामले घर बाट निस्केका यात्रुहरूले बाटोमा ५/६ दिनसम्म सास्ती खेप्नु परेको भन्दै सरोकारवालाहरूको ध्यान जान आग्रह गरेका छन्। बर्सेनि कर्णाली राजमार्गमा यसरी दुःख पाउनु यात्रुहरूका लागि दैनिकी बनेको सामाजिक अभियन्ता हिक्मतजंग मल्लले बताए। 

सुर्खेत नेपालगन्जदेखि कालीकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालीकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका छन्। अन्य ठाउँमा पनि लेदोसहितको पहिरो झरिरहेकाले पहिरो तथा ढुंगाहरू पन्छाउन कठिन भइरहेको छ। 

उद्धारमा खटिने सवारी चालकहरू पनि डरै डरले काम गरिरहेको बताउँछन्। यसरी उद्धारमा कार्यमा लागेकाहरू पनि केही समय पहिले पहिरो पुरिएर अकालमै ज्यान गएको छ। बिहानैदेखि सुरक्षा निकाय तथा सडक डिभिजन र अन्य सरोकारवाला निकाय पहिरो हटाउन निरन्तर लागिरहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.