पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि आक्रमण, सिक्री लुटेर फरार

पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि आक्रमण, सिक्री लुटेर फरार

विराटनगर : पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटना बाहिर आएको छ। 

गुन्डागर्दीमा संलग्न समूहले सुनसरीको दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका-१० मा आक्रमण गरेको हो। ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला उनीहरूमाथि भदौ १ गते दिउँसोको आक्रमण भएको प्रहरीले जनाएको छ। 

द्रव्यराज पूर्वमन्त्री एवं फरवार्ड लघुवित्त वित्तीय संस्थाकी संस्थापक भगवती चौधरीका छोरा हुन्। नेकपा (एमाले)की सांसद भगवती यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन्। आक्रमणमा संलग्न द्रव्यराजको सिक्री लुटेर फरार भएका छन्। 

द्रव्यराज र बालकृष्ण साथी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूलाई विराटनगर-११ का ४७ वर्षीय कान्ता कामत, उनका छोरा २८ वर्षीय पंकज कामत, ३२ वर्षीय रोनाल कँडेल, २७ वर्षीय कालु भनिने रिकेश श्रेष्ठ र २१ वर्षीय प्रशान्त पौडेलले आक्रमण गरेको खुलेको छ। आक्रमणमा संलग्न रोनाललगायतका युवा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्।

गुण्डागर्दीको राज चलाउन खोज्ने रोनालको समूहले पछिल्लो समय विराटनगरमा आतंक मच्चाइरहेको छ। सत्तारूढ नेपाली कांग्रेसका नेताको संरक्षणमा सर्वसाधारणलाई धम्क्याउने, थर्काउने र आक्रमण गर्ने गरिरहेको हो। कुनै पनि घटनामा संलग्न भएर प्रहरीले कारबाही अघि बढाउन खोज्दा कांग्रेस नेताहरू बाधक बनिदिने गरेको स्रोतको भनाइ छ। 

राजनीतिक छत्रछायामा आपराधिक धन्दा चलाइरहेको यो समूहमाथि दबाबकै कारण प्रभावकारी ढंगबाट कारबाही भइरहेको छैन। पूर्वमन्त्रीका छोरा र उनका साथीमाथि भएको आक्रमणमा पनि कारबाही नगर्न कांग्रेसका नेताले दबाब दिइरहेको स्रोतले बतायो। विशुद्ध आपराधिक यो घटनालाई सत्तारूढ कांग्रेस र एमालेले राजनीतिकरण गर्न खोजिरहेको पाइएको छ। 

एमालेले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरिरहँदा कांग्रेसले कारबाही नगर्न प्रहरीलाई दबाब दिइरहेको हो। एउटा आपराधिक घटनालाई राजनीतिक रंग भरेर तथ्य मोड्दै आक्रमणमा संलग्न गुन्डा समूहलाई उन्मुक्ति दिने खेल भइरहेको छ। सत्तारूढ दलको दोहोरो दबाबका कारण प्रहरी भने अन्योलमा परेको छ। 

राजनीतिक संरक्षणकै कारण गुण्डागर्दीमा संलग्नको मनोबल बढेको छ। गुन्डा समूहले विभिन्न आपराधिक घटना गराइरहँदा पनि राजनीतिक दबाबमा सामसुम पार्ने गरिएको छ। जसका कारण दिनदहाडै व्यक्तिमाथि आक्रमण गर्ने र कानुन हातमा लिने समूह सक्रिय हुन थालेको छ। रोनालको समूहले फड्का र सट्टेबाजीको धन्दा पनि चलाइरहेको सूचना प्रहरीलाई छ। 

एक जना पक्राउ, अरू फरार 

द्रव्यराजले घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका थिए। आक्रमणमा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा जाहेरी परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। काले भनिने रिकेश श्रेष्ठ पक्राउ परेका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले श्रेष्ठ पक्राउ परेको र अरु फरार रहेको बताए। भागेकाको खोजी जारी रहेको उनको भनाइ छ। ‘घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको छ। १ जना पक्राउ परेका छन्। फरार रहेकाले अरूको खोजी भइरहेको छ,’ डीएसपी बस्नेतले भने। 

आक्रमणबाट द्रव्यराजको आँखा, अनुहार तथा बालकृष्णको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। विराटनगरकै कोशी अस्पतालमा उपचार गराएको द्रव्यराजले बताए। उनका अनुसार एउटा समूहले चारैतिरबाट घेरा हालेर हेल्मेट, इँटालगायतले आक्रमण गरेको हो। 
द्रव्यराजले आफ्नो २ तोला सुनको सिक्री लुटिएको दाबी गरेका छन्। ‘आक्रमण मात्रै गरेनन्,’ उनले भने, ‘मेरो सिक्री पनि लुटेर फरार भए।’  

किन भयो घटना ?

घटनामा संलग्नमध्ये कान्ता कामतको विराटनगर-१० मा मनोकामना प्लाई हाउस नामक ‘फ्याक्ट्री’ छ। द्रव्यराजले कोठा मर्मत गर्न र टेबल बनाउन साउन अन्तिम साता ‘फ्याक्ट्री’बाट ‘प्लाई’ खरिद गरेर लगे। ‘प्लाई’को ३६ हजार रुपैयाँ तिरेको उनी बताउँछन्। तर, ‘फ्याक्ट्री’का सञ्चालकले भनेजस्तो ‘प्लाई’ पठाएनन्। 

‘१२ एमएमको भनेकोमा १६ एमएमको पठाएछन्। ‘वाटरप्रुफ’ भनेकोमा ‘नर्मल’ पठाएछन्,’ उनले भने, ‘सामान गलत आएको कुरा मिस्त्रीले बताएपछि ‘फ्याक्ट्री’ सञ्चालकसँग कुरा गरें। २ दिनपछि सामान फिर्ता गरेर पैसा लैजानु भनेर भनेका थिए।’ सञ्चालकसँग कुरा भइसकेपछि उक्त ‘प्लाई’ आफैंले गाडीमा लोड गरेर दुहबीबाट विराटनगर पठादिएको द्रव्यराज बताउँछन्। 

उनका अनुसार सामान फिर्ता लिएका ‘फ्याक्ट्री’ सञ्चालकले पैसा भने ३० हजार मात्रै पठाए। ‘फिर्ता पठाउनुपर्ने ३६ हजार थियो। तर, ३० हजार मात्रै पठाए,’ उनी भन्छन्, ‘त्यसपछि कुरा गर्दा ‘फ्याक्ट्री’ सञ्चालकले फोनमै तथानाम गाली गर्न थाले। पैसा फिर्ता दिने कुरै गरेनन्।’ त्यसपछि मिस्त्रीलाई नै लिएर भदौ १ गते आफू ‘फ्याक्ट्री’मा पुगेको उनले बताए। 

‘पैसाको कुरा हुँदै थियो। ‘फ्याक्ट्री’ सञ्चालकले फिर्ता दिने कुरा पनि गरेका थिए। सबै कुराहरू मिलिसकेपछि दुहबी फर्किनलाई हामी गाडीमा चढ्यौं,’ द्रव्यराजले भने, ‘त्यहाँबाट निस्किने बेलामा चारैतिरबाट घेरा हालेर आक्रमण गरियो। हामीले भागेर ज्यान बचायौं। त्यसपछि प्रहरीको शरणमा पुग्यौं।’ आफूहरू निस्किने बाटोमै एम्बुस थापेजस्तो गरेर बसेका युवाहरूले एक्कासि आक्रमण गर्न थालेको उनले बताए। 

सुरुमा ‘फ्याक्ट्री’ सञ्चालक कान्ताका छोरा पंकजले हात हाल्नसाथ प्रशान्त लगायतले कुटपिट सुरु गरेको उनको भनाइ छ। ‘एम्बुस थापेजस्तो घेरा हालेर बसेका रहेछन्। हामी निस्किन लागेपछि एक्कासि आक्रमण गर्न थालिहाले,’ उनी भन्छन्, ‘योजनाबद्ध हिसाबले आक्रमण गरिएको छ। ‘फ्याक्ट्री’ मालिकले गुन्डा बोलाएर हमला गर्न लगाए।’ 

पूर्वमन्त्री चौधरीको दुहबीमा फरवार्ड लघुवित्त छ। उनका छोरा द्रव्यराज फरवार्ड इन्टरप्राइजेज प्रालि नामक सुपर मार्केटका प्रबन्ध निर्देशक छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.