पाँचथरमा विष्फोटमा परी चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर
फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका-५ डाँडा गाँउका आइतरात केरुङको घरमा बिस्फोट भएको छ। बिस्फोटमा परी चार जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको फालेलुङ-५ का वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए।
विस्फोटमा परी दिलिप साँवाको ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका छन्। त्यस्तै सोही घरमा बस्दै आएका ज्ञान बहादुर राईका ११ वर्षीय छोरा पवन राई घाइते भएका छन्।
गम्भीर घाइते दिपसन र प्रिन्साको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल रेफर गरिएको छ। पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।
विस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन्। उनको प्राङबुङस्थित स्वास्थ्य चौकीमा उपचार भएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो ३:३० बजे विस्फोट भएको स्थानीयको भनाइ छ।