भारत भ्रमण सद्‍भावना भ्रमण थियो, नेपालको हित र चासोका विषयमा कुरा भयो : परराष्ट्रमन्त्री

भारत भ्रमण सद्‍भावना भ्रमण थियो, नेपालको हित र चासोका विषयमा कुरा भयो : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण रहेको बताएकी छन्। उनले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरू वार्ताका क्रममा राखेको बताइन्।

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ २ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन्। भ्रमणका क्रममाउनले भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन्। नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्नेबारे उनीहरूबीच छलफल भएको थियो।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेको र भारतीय प्रधानामन्त्री मोदीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताइन्।

त्यस्तै विदेशमन्त्री जयशङ्कर र आफ्ना बीचमा भएको द्विपक्षीय भेटघाट महत्वपूर्ण रहेको उनको भनाइ छ। भेटमा नेपाल र भारतबीच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, ऊर्जाको क्षेत्रमा खासगरी नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने तथा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको उनले बताइन्।

मन्त्री राणाले भारत भ्रमणले नेपाल र भारतबीच आपसी सदभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहीआएको मैत्रीपूर्ण, सहयोगात्मक र बहुआयामिकसम्बन्धलाई थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बतइन्। इपिजीको प्रतिवेदनका विषयमा यस भ्रमणका क्रममा दुवै तर्फबाट कुरा नउठेको उनले प्रष्ट पारिन्। 

सरकारले हालै सिफारिस गरेका राजदूतहरूको नियुक्तिसम्बन्धी प्रश्नमा मन्त्री राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षता एवं कार्यसम्पादनमा आधारित बनाउन अधिकतम रूपमा प्रयासरत रहेको बताइन्। राजदूतहरूको सिफारिस समावेशी नरहेको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री राणाले यसपटक क्षेत्रगत तथा भूगोलको प्रतिनिधित्व भए पनि पूर्ण रूपमा समावेशी हुन नसकेको स्वीकार गरिन्। उनले आगामी नियुक्तिहरूमा यस विषयलाई ध्यान दिइने प्रतिवद्धता जनाइन्।

नेपालको हित सुनिश्चित हुनेगरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको भन्दै मन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध रहेको बताइन्।

राजदूतहरूको नियुक्तिमा राजनीतिक क्षेत्र एवं व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको तथा सेवा बाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.