लट्टेको स्वादमा रमाए चेपाङ बालबालिका
चितवन : छाम्दा चाम्रो, खाँदा गुलियो अनि हेर्दा खैरो। यो परिकार देखेर चेपाङ बालबालिका दंग परे। खोरिया फाँडेर लगाएको मकैले मुस्किलले तीन महिना धान्दैन। चामलको भात नै ठूलो हुन्छ चेपाङका लागि। अनदीको चामल घीउमा भुटेर सख्खर हालेर तयार भएको लट्टे खाने मात्रै होइन, नाम नै पहिलो पल्ट सुनेका थिए उनीहरूले। लट्टे देख्दा अचम्मित भएका थिए रत्ननगर नगरपालिका–११ स्थित मंगलपुरमा रहेको गामवेशी चेपाङ संरक्षण केन्द्रका बालबालिका।
अनदीको चामलबाट बनेको लट्टे त झन नौलो भयो। ‘सुरुमा पकाउँदा नै नौलो लाग्यो। हामीले कहिल्यै नदेखेको खानेकुरा खायौं,’ रमिता चेपाङले भनिन्’ ‘हाम्रोमा लट्टे भन्ने नै हुँदैन। चामल भुटेर गुलियो हालेर खाँदा सबै साथी रमायौं।’ उनीहरूले लट्टे भनेर साग मात्रै चिनेका थिए। गिट्ठा र भ्याकुरले छाक टार्ने चेपाङलाई तीजको दरमा पहलोपटक फरक स्वाद लिँदा खुसी भए।
चितवनको विकट भेग राप्ती नगरपालिकाको पोल्किमका अप्रिल चेपाङले नयाँ परिकारबारे थाहा पाएको बताए। ‘हाम्रो तीर तीज मनाउँदैन। अझ यो लट्टे भन्ने त हामीले साग मात्रै थाहा पाएको हो। पहिलोपल्ट यस्तो खालको खाना खाएको हो’, उनले भने’ ‘चामलमा भेली हालेर पकाउने रैछ। गुलियो खाना खाएको यो पहिलोपटक हो। देख्दै रमाइलो लाग्यो।’
चेपाङ समुदायका बालबालिका अनदीको लट्टे पकाउँदा नै दंग परेका थिए। त्यसमा करेला र भिण्डीको अचार मिसाएर पकाएको पनि उनीहरूका लागि नौलो हो।
नेपाल प्रेस युनियन चितवनले बिहीबार चेपाङ बालबालिकालाई दर खुवाएको हो। ‘तीजको मौलिक खाना दर भनेकै लट्टे हो। यही दर कहिल्यै नखाएका समुदायका बालबालिकालाई खुवाएका हौं’, प्रेस युनियन चितवनकी उपाध्यक्ष सिन्धु ढकालले भनिन्’, ‘यो दर भन्दा पनि यसको महत्व र परम्परा बारे उनीहरूलाई जानकारी गराएका हौं।’ धर्म अतिक्रमणको प्रभावमा परेको चेपाङ समुदायले नेपाली मौलिक धर्म संस्कृति छाड्दै गएका छन्। चेपाङलाई तीजबारे खासै जानकारी छैन। धर्म परिवर्तनका कारण मौलिक संस्कृति हराएको चेपाङ विद्यार्थीलाई मौलिक दरले धार्मिक संस्कारको प्रभाव रहने बताए। ‘पाखो पखेरोमा डुल्दै गरिबीको चपेटामा परेका चेपाङका यी विद्यार्थीलाई हाम्रो पर्वको महत्व र विशेषताबारे बुझाउन पाउनु राम्रो पक्ष हो’, सापकोटाले भने,’ ‘संस्कृति संरक्षणमा यसरी चासो नदिए धर्म संस्कृति मासिने खतरा छ।’ चेपाङको धर्म परिवर्तनको चपेटाले तीज लगायतका पर्व उनीहरूले मनाउँदैनन्। गाँमबेसी चेपाङ संरक्षण केन्द्रमा १ सय ५० जना चेपाङ बालबालिका छन्।
भौगोलिक विकटताका कारण विद्यालयको पहुँचबाट टाढा भएका चेपाङ बालबालिका आश्रममा बसेर नजिकको विद्यालयमा पढ्छन्। विभिन्न केन्द्र स्थापना भएको १७ वर्षमा पहिलोपल्ट उनीहरूले लट्टे खाएका हुन्।
जन्मदिन, विवाह उत्सवलगायतका अवसरमा भोजन गराइए पनि दरमा लट्टे पहिलोपल्ट खाएका हुन्। ‘पहिलोपटक भएको कारण पहिला खानै जानेनन्। पछि मिठो मानेर मानेर थपिथपि खाए,’ चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले भने’ ‘लट्टे भनेको साग मात्रै बुझेका बालबालिकाले आज साँच्चिैकै लट्टे खान पाएका छन्। दर खाएर दंग परेका छन्।’