आज हरितालिका तीज : पशुपतिनाथ मन्दिरमा व्रतालुको घुइँचो (फोटोफिचर)
काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तीजको दिन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा ब्रतालुहरू बर्षा भएपनि नाच गान गर्दै रमाइलो गरिरहेका छन् ।
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठ हुँदै फलामेपुल-पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए।
त्यसैगरी तेस्रो लाइन पिङ्गलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली-गौशालातर्फबाट पिङ्गलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए। दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कनका लागि पशुपतिनाथको मन्दिका चारवटै ढोका खोलिएको अधिकारीले जानकारी दिए।
त्यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।
तस्बिर : अभिषेक महर्जन