वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको रकमसहित २ जना पक्राउ
वीरगन्ज : वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।
श्रोत खुल्न नसकेको ८ लाख रुपैयाँसहित वीरगन्ज महानगरपालिका-२ छपकैयाका ५० वर्षीय अजित पाण्डे र त्यही ठाउँकी ४५ वर्षीया उर्मिला देवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयको गेट अगाडि रोकेर चेक जाँच गर्दा मोटरसाइकल चालक पाण्डेको साथबाट ३ लाख रुपैयाँ र मोटरसाइकलमा पछाडि सवार उर्मिला देवीको साथबाट ५ लाख रुपैयाँ बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।
बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको उनले बताए। रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको रिजालले जानकारी दिए।